म र एकजना सहपाठी शिक्षक होटलको छेउको बेन्चमा बसि सानो सानो स्वरमा कुरा गरिरहेका थियौ । हिडेरै सरकारी बाह्र कोस पूरा गरेकाले थकाइ धेरै लागेको थियो । जेठ महिनामा प्रचण्ड घाम लागिरहेको थियो । कुनै प्राकृतिक विपत्ति परे झै महिला बच्चा बोकेर र वृद्ध लौरो टेकेर समेत अनुहारमा अतास लिइ त्यहिबाट पार गरिरहेका थिए । पाली हालेका टोपी लगाएका केही युवाहरु तरेलीले चेलु गोलबन्द गर्दा जस्तै हतार मनस्थितिमा देखिन्थे । ” यिनीहरू रहरले होला कि कहरले होला ? के भनेर ल्याएका होलान् ? अरुको कुरा किन गर्ने हामीहरू त खुरुखुरु डोरिनु प-यो । आदि ।” त्यति नै बेला एकजना केही खोच्चाउदै र टोपीले पसिना पुछ्दै हामी सामु आएर भने – लौ न म त वर्बादै भए । बेलुकासम्म घर नपुगि भएको छैन । सानो छोरा बिरामी छ, भैसी एकहाते छ, मनाकी आमाले केही गर्नै सक्दिन । मैले शिक्षक साथीको मुखतिर हेरे । यी दाइ पोहर मात्र हाम्रो गाउँबाट काफलडाँडा गएका हुन । अर्काको जग्गा कमाएर पसेका छन् । भाउजुलाइ त प्यारालाइसिस भएको छ । यस्तो समस्या परेको व्याक्ति किन आएको त ? मैले सोधे ।
अस्ति सम्म त जान समस्या भए नजानु भनेका थिए । तर राति कसले बेडुलाको रुखमा झण्डा बाँधिदिएछ ।मैले होइन भन्दा पनि पत्याएनन् । जाने भए जाउ नत्र — भने । के गमन भयो रे । कुर्सिमा फर्काउने भन्दथे । मैले त कुरै बुझिन । बाटोमा आउदा यहि होटेलमा नाम टिपाएर फर्कन सक्छौ एकजनाले भनेका थिए । यो ६६ सालमा त मलाई उल्काको दशा लागेको छ । होटल मालिकलाई भ्याइ नभ्याइ थियो । ती व्याक्ति काउण्टर नजिकैको शौचालयमा लुसुक्क छिरे । त्यसपछि आफ्नो नाम टिपाउन होला काउण्टर अगाडि नि-याउरो अनुहार लिएर उभिए । होटल मालिकले सोधे- के खाने ? कोठा चाहिन्छ ? मकै ल्याएको, हजुर म त नाम टिपाएर घर नफर्कि भएको छैन । कस्ता मानिस आउछन् । ट्इलेट सफा गर्नको फसाद ! मलाई थाहा छैन । ती व्याक्ति याचनाको दृष्टिले हामीलाई पुर्लुक्क हेरे । बाचेपछि देख्न पाइन्छ भन्दथे , कसैलाई कुर्सिमा कसैलाई घरतिर फर्कनैको पीर छ,साथका रहेका शिक्षक विस्तारै गुनगुनाए ।




