किन दुख्छ तल्लो पेट ? के छ उपचार ?

महिनावारी भएको समयमा मात्र पेट दुख्नु सामान्य हो । पिसाब संक्रमण, पाठेघरको छेउछाउमा हुने संक्रमण मात्र त्यस्तो दुखाइको कारण होइन । अन्य कारणले पनि दुखाइ हुन्छ । सही उपचार नहुँदा धेरै बिरामी साइकोलोजिकल ट्रमामा जाने गर्छन् ।

कुनै पनि महिलालाई निरन्तर तल्लो पेट दुखिरहेको छ, अन्य समस्या पनि हुन थालेको भने उपचारको अर्को पाटो सोच्नुपर्छ ।
महिनावारी भएको समयमा मात्र नभई अघिपछि पनि उत्तिकै पेट दुखिरहन्छ भने बिरामीको अन्य लक्षणका आधारमा के हो भन्ने टुंगो लगाउनुपर्छ । मुख्यतया वर्षौंदेखिको तल्लो पेट दुई रोगका कारण दुख्छ ।
१. पाठेघरको टिबी
२. इन्डोमेट्रोसिस ।

यी दुवै रोगको लक्षण करिब करिब उस्तै भए पनि पत्ता लगाउने तरिका, जाँच र उपचार फरक छ ।
१. पाठेघरको टिबी : कसैलाई निरन्तर तल्लो पेट दुख्ने गर्छ भने कसैको महिनावारी गडबड भइरहन्छ । कसैको अत्यधिक रगत जाने वा कसैको एकदम कम थोपामा मात्र देखिने पनि हुन सक्छ । कुनै पनि दुखाइ वर्षौंसम्म हुनुका कारण पाठेघर टिबीको दुखाइ हो । खान मन नलाग्ने, तौल कम हुने, थकाइ लाग्ने, सामान्य काम गर्ने्बित्तिकै थाक्ने, कहिलेकाहीँ ज्वरो आएको जस्तो लाग्ने र वर्षौं दुखाइ भएको छ भने त्यो पाठेघरको टिबीको कारणले हो भनेर बुझ्नुपर्छ ।

२. इन्डोमेट्रोसिस : तल्लो पेट निरन्तर दुखाइको अर्को कारण इन्डोमेट्रोसिस हो । यसको लक्षण भनेको महिनौंखि वर्षौंसम्म तल्लो पेट दुख्ने, महिनावारी हँुदा अझ बढी दुख्ने, श्रीमान्सँग शारीरिक सम्पर्क राख्दा असामान्य रूपमा दुख्ने हुन्छ । यसको दुखाइ यति धेरै हुन्छ कि भोलिपल्ट उठेर महिलाले कामै गर्न सक्दैनन् । अलि बढी हुँदै गएपछि दिसा बस्न, पिसाब गर्न गाह्रो हुने हुन्छ । ढाड दुख्ने र कहिलेकाहीँ तरल पदार्थ योनीबाट बग्ने गर्छ । सामान्य काम गर्दा पनि दुखिरहने हुन्छ ।

जाँच र उपचार
हामीले मुख्य रूपमा पाठेघरको टिबीको उपचार गर्दा परिवारको हिस्ट्री सोध्छौं । यदि परिवारमा पहिले कसैलाई टिबी थियो भने हिस्ट्री स्ट्रङ भयो । यदि छैन भने पनि हामीले पाठेघरको भित्रको झिल्लीको बायोप्सी गर्न पठाउछौं । त्यो बेला स्पेसल्ली टिबी नै जाँच गराउन पठाउछौं । यदि त्यो रिपोर्ट पोजेटिभ आयो भने टिबीको ६ या ९ महिनाको औषधि खुवाउछौं । त्यसपछि यो समस्या ठिक हुन्छ । यदि टिबीको लक्षण छैन र बायोप्सी जाँचमा पनि नेगेटिभ आयो भने अर्कै कारणले हो कि भनेर जाँच गर्नुपर्ने हुन्छ ।

इन्डोमेट्रोसिस पत्ता लगाउन निकै कठिन छ । जसले गर्दा डाक्टर र बिरामीलाई निकै द्विविधा हुने कारण त्यही हो । किनभने, हामीले यसका लक्षण पाठेघर जाँच गर्दा स्पर्शले थाहा पाउने हो । जाँच गर्दा पाठेघर हल्लिनुपर्छ । तर इन्डोमेट्रोसिस भएको हो भने पाठेघर हल्लिँदैन । चलाउँदा पनि दुख्छ । पाठेघरभित्रको भित्तामा छाम्दा ससाना दाना भएको अनुभव हुन्छ । कहिलेकाहीँ पाठेघर पछाडिको भित्तामा पनि गेडागेडा अनुभव हुन्छ, त्यो बेला बिरामी दुखाइले कराउँछन् । जाँचका क्रममा यस्तो अनुभव भयो भने हामीले इन्डोमेट्रोसिस भएको हो भनी निक्र्यौल गर्छौं ।

यो किन हुन्छ ?
महिनावारी भएको बेला रगत योनीबाहिर आउनुपर्ने हो । पाठेघरको २ तिर भएको ट्युबबाट समेत रगत बग्दा त्यो डिम्बाशयमा जम्मा हुन्छ । हरेक पटक महिनावारी हुँदा यसरी बाहिर बगेको रगत जमिरहन्छ । त्यो रगत आन्द्रा, नसा र पिसाबथैलीमाथि पनि टाँसिन्छ ।

पग्लिएको चक्लेट जस्तै टाँसिएका कारण त्यो बिस्तारै कसिन्छ । जसले हलचल हुँदैन । त्यो हलचल नहुनाले शारीरिक सम्पर्कका बेला या काम गर्दा दुख्ने हुन्छ । महिनावारी भएको बेला पनि दुख्छ । कतिपयले स्कुटर चलाउँदा पनि दुखेको अनुभव गर्छन् ।

९० प्रतिशत चिकित्सकले हिस्ट्री लिएर, पाठेघरभित्रको स्पर्शको आधारमा इन्डोमेट्रोसिस भएको पत्ता लगाउँछन् । यो अल्ट्रासाउन्डमा देखिँदैन । डिम्बाशयमा धेरै रगत जम्मा भएको छ भने मात्र देखिने हो । त्यसलाई चकलेट सिस्ट भनिन्छ । यदि केही गर्दा देखिएन र दुखाइ निकै छ भने बिरामीलाई बेहोस गरेर नाइटोनिर प्वाल पारिन्छ । र, ल्याप्रोस्कोपी प्रक्रियामार्फत भित्र छिराएर कम्प्युटरमा हेरिन्छ । त्यो जाँचमा पाठेघरको भित्तामा रगतका थोपा टाँसिएको देख्न सकिन्छ । यो साधारण रगत जाँच वा अल्ट्रासाउन्डमा देखिँदैन । त्यसैले यो तरिका अन्तिममा मात्र प्रयोग गर्छौं ।

इन्डोमेट्रोसिस भएको पत्ता लाग्यो भने बिरामीको उमेर, वैवाहिक अवस्था र बिरामीको माग अनुसारको उपचार गर्छाैं । अविवाहितलाई दुखाइ मात्र कम गर्ने हो भने लो डोजको कन्ट्रासेफ्टी पिल्स दिन्छौं । तीन महिना लगातार खान दिन्छौं र फलोअपमा बोलाएर दुखाइको अवस्था राम्रो छ भने पुनः तीन महिना औषधि थपेर बन्द गर्छौं ।

कसैको डिम्बाशयमा रगत जम्मा भएर सिस्ट ठूलो छ भने त्यसलाई निकाल्नैपर्छ । कति महिलाहरू बच्चा भएन भनेर पनि आउनुहुन्छ । इन्डोमेट्रोसिसको कारणले पनि यस्तो हुन सक्छ । पाठेघरको ट्युब जाम भयो भने अण्डा निस्केपछि टिप्न सक्दैन र बच्चा हुँदैन । यस्तो बेलामा हामीले इनफर्टि्लिटी उपचार पनि गर्छौं । ६ महिना, एक वर्षको उपचारपछि बच्चा बनाउन सल्लाह दिन्छौं ।

त्यो बेलामा पाठेघरसँगै डिम्बाशय पनि निकाल्नैपर्ने हुन्छ । अन्य समयमा पाठेघर निकाल्नुपर्ने अवस्था आए डिम्बाशय निकाल्नुपर्छ । यसको फलोअपमा ३ वा ६ महिनामा बोलाएर उपचार गर्छौं । त्यस्तो बेला हर्मोन ट्याब्लेट वा हर्मोन इन्जेक्सन प्रयोग गरिन्छ । समय लिएर तपाईं डाक्टर कहाँ जानुभएको छ र डाक्टरले संक्रमण भएको भन्दै औषधि दिए भने केको संक्रमण भएको भनेर सोध्नुपर्छ । आफूलाई के भएको हो भनेर थाहा पाउने बिरामीको अधिकार हो ।
(वरिष्ठ स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. वैद्य नर्भिक अस्पतालमा कार्यरत छिन् ।)