नयाँ वर्षको २०७६ को अवसरमा लोकदोहोरी गायक पुरुषोत्तम न्यौपानेले नयाँ गीत ‘यै जवानी बैना राखेर’ सार्वजनिक गरेका छन् । गीतमा न्यौपाने र देवी घर्तीको आवाज सुन्न सकिन्छ । गीतमा लय तथा शब्द संकलन शिव हमाल ‘लालुमै’ गरेका हुन् ।
गीतको भिडियोसमेत उत्कृष्ट बनेको न्यौपानेले बताए । भिडियोमा विनोद श्रेष्ठ र अञ्जली अधिकारीको नृत्य हेर्न सकिन्छ । भिडियोको निर्देशन प्रकाश भट्टले तथा छायाकंन राजेश घिमिरेले गरेका हुन् । भरपुर संगीतको प्रस्तुतिमा सार्वजनिक गरिएको गीतले लोकसंगीत पारखीको मन जित्नेमा गायक न्यौपाने आशावादी छन् । ‘गीतसँगै म्युजिक भिडियो समेत उत्कृष्ट बनेको छ, पक्कै दर्शक स्रोताको मन जित्नेछ’, न्यौपानेले भने ।
वलाम वेलटारी स्याङ्जामा जन्मिएका न्यौपानेले गीतमार्फत नेपाली सांगीतिक फाँटमा आफ्नो बलियो पकड कायम राखेका छन् । २०४६ सालमा रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्ण भएपश्चात ‘वलाम देवी थान’ बोलको गीत रेकर्ड गरी नेपाली सांगीतिक फाँटमा डेब्यु गरेका न्यौपानेले १ हजारभन्दा बढी गीतमा आवाज भरिसकेका छन् ।
लोकदोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष भैसकेका न्यौपाने रेडियो नेपालका कार्यक्रम अधिकृत हुन् । चर्चामा आउन राजधानीमा नै बस्नुपर्छ भन्ने नभई पोखरामै बसेर समेत सांगीतिक क्षेत्रमा स्थापित हुन सकिन्छ भन्ने प्रमाणित उनले गरेका छन् ।




