सुशासन सिक्न भुटान जानू:पूर्वसचिव भीम उपाध्याय

नेपाली सत्ताधारीले मुलुकमा विदेशी हस्तक्षेप कसरी रोक्ने? सुशासन र पर्यावरण कसरी कायम गर्ने? INGO को नांगो नाच कसरी बन्द गराउने? लो क्वालिटीका कुनै लाभ नहुने प्रदूषणकारी लागू औषधका दलाल टुरिष्टहरूलाई कसरी छिर्न नदिने? कसरी हाईक्वालिटी टूरिष्ट भित्र्याउन जुक्ति अपनाउने? कसरी तीब्र आर्थिक विकास गर्ने? कसरी ट्रेड डिफिसिटलाई ट्रेड सरप्लसमा लैजाने ? कसरी मेरिटबेस्ड पदाधिकारीको सुनिश्चितता गरी संगठन प्रणाली क्वालिटीको बनाउने? कसरी राजनीतिमा माफियागिरी, भ्रष्टाचार र काला बजारीयाको पैसालाई रोक्ने? कसरी भ्रष्टाचार नियन्त्रण गर्ने? कसरी आफ्नो धर्म, संस्कृति, भेषभुषा र पहिचान संरक्षण गर्दै अक्षुण्ण राख्ने? कसरी विदेशी संस्कृतिको प्रदूषणबाट मुलुकलाई जोगाउने? कसरी जनताको GNH Gross National Happiness अभिबृद्धि गर्ने?- आदि बारेमा सिक्न मन छ भने अरू मुलुक बरालिन नजानू, भुटान जानू— मेरो विनम्र सुझाव र सल्लाह छ ।

नेपाल भारत जस्ता अल्पविकसित मुलुकमा जे जति काम हुन्छन् ती सबै टप डाउन हुन्छन् । मन्त्री, सचिवले भनेको नै सही मानिन्छन्, तलकाले जतिसुकै जानेको किन नहोस् । त्यसैले मन्त्री, सचिव, डिजी हुने उच्च पदाधिकारी वा राज्य संचालक व्यक्ति एकदम सक्षम र गुणवान् हुने माग शास्त्रले गरेको हो र जनमानसको पनि मनको चाहना पनि त्यही हो । तर… जव उच्च पदमा घुच्च पुग्छन् हाम्रो समाजको गाडीको ब्रेक र स्टेरिंय फेल हुने नै भयो ।

मुलुकको समृद्धि आकाशको फल हुने नै भयो । सत्ता संतालनमा मेरिटोक्रेसी हुनुपर्छ र रोजगारीमा समावेशी । सत्तामा सक्षमतम् पुगेमात्र अन्य कमजोरहरूलाई उत्थान गरेर उकास्ने क्षमता रहन्छ, कमजोरमा रहन्न । बौद्धिक सीप र ज्ञानमा अपांगले अरूलाई सक्षम बनाउनै सक्दैन । सत्ता संचालन गर्ने काम ऐरूगैरूले गर्न सक्ने जमाना अब गयो, छैन। विश्व अहिले पूर्णत: सबै काम प्रविधिजन्य वा प्रविधिसंचालित र जटिल अर्थतान्त्रिक बनिसकेको छ ।