मैले सुरूदेखि सुझाएको सरल सहज र प्रभावकारी उपाय तिर सरकार नलागेर नचाहिदो झंझटिलो अव्यावहारिक र प्रत्यत्पादक बाटो हिडिरह्यो । खुरूक्क जिल्लाका कार्यालयहरूले प्रदेश, स्थानीय र केन्द्रियको गरी ३ तहकै काम गर्नुपर्ने कार्यविवरण अधिकार र श्रोतसहित जिम्मादिने व्यवस्था गरेको भए जो जहॉ थिए त्यही बसेर नियमित ढंगमा सबै काम गरिरहन्थे ।
आजसम्म पनि ती सबै जिल्लामैं रहेर/वसेर काम गरेकै थिए र हुन् । अव्यावहारिक र उडन्ते प्रशासनिक बाटो हिडेपछि नदुखेको टाउटो डोरी लगाएर दुखाउन पुगेको हो। पूरा जहाजसहित यात्रारत कर्मचारी तत् ठॉउ मै रही कामगर्न निर्देशन पठाएको भए हुन्थ्यो । जहाज भताभुंग छ, बस्ने ठॉउ कार्यालय टेवल मेच छैन।अधिकार नियम र श्रेात छैन ।संस्थागत मेमोरी खलास छ । अनि नचाहिने दुख बेसाएर जनताले नै दुख नपाए अरू के हुन्थ्यो त? तर दोष जति विचरा कर्मचारीलाई दिन थाले नाच्न जान्दैन आँगन टेढो देखाए ।
घरबार लुटिएको कर्मचारीको न हो तर जताबाट पनि उनीहरूलाई नै दोषी ठहराउदै लज्जित पारिदै छ । विगतको र अहिलेको कर्मचारी उही नै हुन् तर तन्त्र भने आनका तान फरक भयो, सोचमा नेता र उच्च कर्मचारी झन् रूढीबादी रहिरह्यो, भलै तिनका आवरणमा क्रान्तिकारीको आडम्बर किन नदेखाएका होउन् ! राजनीतिक संक्रमण भन्दा कर्मचारी व्यवस्थापन संक्रमण बढी जटिल, जोखिमयुक्त र चुनौतिपुर्ण छ ।
यसका कारण केही वर्ष अझै हिजो कै स्तरको समेत सेवा नपाएर जनता मारमा पर्नेछन् । अरूले जति घोक्रो सुक्ने गरी चिच्याए पनि, तीघ्रा ठटाएर रडाको मच्चाए पनि काम गर्ने भनेको कर्मचारीको हात सीप र दिमागले हो । राजनीतिक समस्या त चार जना टाउके नेता एउटा कोठामा बसेर एकैछिनमा ऐतिहासिक सहमति गरेर टालिहाल्छन्। तर कर्मचारी संक्रमण टार्नसक्ने नेता कोही हुँदैन, हजार जनाले सहमति गरेपनि यसमा केही हुन सक्दैन । यसका लागि सिस्टेमिक अप्रोचका, भीजनरी, व्यावहारिक प्रशासनिक क्षमतायुक्त, देशलाई हृदयदेखि मायागर्ने विवेकी नेता चाहिन्छ । अफसोच अहिले त्यस्ता नेता दृष्टिगोचर छैनन् ।





