स्थानीयलाई धम्क्याएर हाइटेन्सन छेउमा महल

- वडा र महानगरको निर्देशन पनि अटेर

पोखरा महानगरभित्र बनेका हजारौं घर मापदण्ड विपरीत छन् । जनप्रतिनिधि आएपछि पनि यो क्रम रोकिएको छैन । पोखरा १७ सीतापाइलाको समृद्धि टोलमा स्थानीयलाई धम्क्याएर १ व्यक्तिले मापदण्ड विपरीत भवन बनाइरहेका छन् ।

सीता तामाङको नाममा रहेको एकतले घर पहिला नै नक्सापास भइसकेको थियो । नक्सापास भइसकेपछि बाटोको छेवैबाट पहिलाको घरअघि भवन बनाउन थलिएको थियो । समृद्धि टोल विकास संस्थाले वडा कार्यालयमा उजुरी गरेपछि वडाले मापदण्ड विपरीत भएकाले रोक्न निर्देशन दियो । निर्देशनसहितको पत्र पोखरा १७ का इन्जिनियर प्रकाश वाग्ले आफैले सीता तापाङलाई दिएको बताए ।

‘यस्तो गरेको मलाई मन पर्दैन, अब झन् ४ तले बनाउँछु । जे सक्ने हो गर ।’

वडाको निर्देशन तामाङ परिवारले मानेन । पोखरा १७ का इन्जिनियर प्रकाश वाग्लेले घर निरीक्षण गरी मापदण्ड विपरीत भएको व्यहोरासहितको पत्र पोखरा महानगरलाई पठाएका थिए । त्यही पत्रको आधारमा करिब २ महिना पहिले महानगरले निर्माण सामग्री उठाएर लगेको थियो ।

वडा र महानगरको निर्देशन वेवास्ता गर्दै फेरि बिहीबारबाट घर निर्माण सुरु भएको छ । घरधनी सीता तामाङका श्रीमान् मोक्तान भनिनेले वरिपरिका छिमेकीलाई धम्क्याइरहेका छन् । उनको धक्की उद्धृत गर्दै एक स्थानीयले भने, ‘यस्तो गरेको मलाई मन पर्दैन, अब झन् ४ तले बनाउँछु । जे सक्ने हो गर ।’

समृद्धि टोल विकास संस्थाको शुक्रबार बसेको बैठकले मापदण्ड विपरीतको घर निर्माण रोक्न महानगरलाई अनुरोध गर्ने र वरिपरिका मानिसलाई लगातार धम्की दिएकाले नेपाली प्रहरीलाई सुरक्षा माग गर्दै निवेदन दिने निर्णय गरेको छ ।

पटक पटक वडा कार्यालय र महानगरको ध्यानाकर्षण गराए पनि हाइटेन्सनकै छेउमा बाटोसँग जोडाएर घर निर्माण नरोकिनु अनौठो भएको समृद्धि टोल विकास संस्थाका अध्यक्ष माधव पनेरुले बताए । उनले भने, ‘महानगर, वडा, प्रशासनकै काम हो कानुन कार्यान्वयन गर्ने र सुरक्षा दिने । हामी फेरि पनि खबरदारी गरिरहन्छौं ।’