विप्लवको पार्टीले माग्यो ५ वर्ष सत्ता

- प्रचण्ड एमालेको टाङमुनि छिरे : प्रकाण्ड

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले अहिलेको संसदीय व्यवस्था र दलका नेताहरु असफल भएकाले सत्ताको नेतृत्व ५ वर्ष आफूलाई दिन माग गरेका छन् ।

आफूहरुले ५ वर्ष सरकारको नेतृत्व गर्न पाए अहिलेको अवस्थामा आमूल परिवर्तन गरेर देखाइदिने र नसके ५ वर्ष भन्दा बढी एक दिन पनि सत्तामा नबस्ने पनि उनले बताए । तर, यही व्यवस्था अन्तर्गत हुने चुनावमा भाग भने नलिने उनले प्रष्ट पारे ।


उनले सरकारले आफ्नो पार्टीलाई औपचारिकरुपमा वार्ताका लागि आव्हान नगरेको बताएका छन् । ‘सरकारले विभिन्न समूहहरुसँग वार्ता गर्न वार्ता टोली गठन गरेको भनेको सुन्यौं तर हामी समूह हैनौं, हामी त उनीहरुको भन्दा ठूलो पार्टी हौं’, पूर्वमन्त्रीसमेत रहेका विश्वकर्माले भने, ‘हामी वार्ता बिरोधी त हैनौं तर सरकारले अफिसियल्ली हामीसँग वार्ताका लागि केही गरेको छैन ।’


आफूहरुले अब पहिलेको जस्तो पुरानो जनयद्ध नगर्ने दावी गर्दै अब सुरक्षा निकायका राष्ट्रवादीहरु,उद्योगी,व्यवसायी सबैको साथ लिएर शहरबाटै एकीकृत जनक्रान्ति गर्ने उनले बताए ।

उनले एमालेसंग माओवादीको एकता नभइ माओवादी केन्द्र एमालेको टाङमुनि छिरेर आत्मसमर्पण गरेको टिप्पणी गरे । अब प्रचण्डले केपी ओली र पूर्वएमालेले जे भन्छन् त्यो खुरुखुरु मान्नुको विकल्प नभएको भन्दै दायाँबायाँ नगर्न आग्रह गरे ।