पाठ्यक्रमका आफ्नै सीमा हुन्छन् । विषयका आफ्नै विशेषता । कुनै पठन बाध्यता त कुनै लत बनिदिन्छ । पाठ्यपुस्तकले मानिसले चाहेजति क्षितीक्ष ढाक्दैन, त्यसैले अन्य किताब झन प्यारा हुन्छन् ।
विद्यालय उमेरबाटै बाहिरी पुस्तक पढ्ने, बाहिरी दुनियाँसँग चासोखाँचो राख्नेहरु कमै हुन्छन् । ती कमैमा पर्छन् सिके लाल । नेपालका गिनेचुनेका विश्लेषक लाल स्कुलमा अब्बल थिएनन्, औसत थिए । पोखरामा जारी आइएमई नेपाल लिटरेचर फेस्टिभल २०१८ मा सोमबार उनले पुस्तक र प्रजातन्त्रबारे कुरा गरे ।
बाराहीचोकको मञ्चको प्रोजेक्टरमा देखिँदै गरेको प्याराग्लाइडिङ झैं उन्मुक्त अध्ययन चाहन्थे, उनी तर उ बेलाको पाठ्यक्रम निकै साँघुरो थियो । उनले सम्झिए, ‘किताबको बीचमा उपन्यास राखेर पढ्थे । यसो गर्न सजिलो हुन्छ भनेर कक्षाको अन्तिममा बस्थे ।’
यो सेसनमा हरि शर्मा र सिके लालसँग मानुषी यमी भट्टराईले संवाद चलाइन् । लालले पछिल्लो समयमा सजिलोसँग लेख्न सकिने र सजिलै बेच्न सकिने आत्मकथाका पुस्तक प्रकाशन बढेको भन्दै यस्तै अवस्था सधैं नरहने दाबी गरे ।
शर्माले भने प्रविधिको विस्तारले पुस्तकको कन्टेन्टमा विविधता बढाएको बताइन् । साथै जसले पुस्तक लेखे पनि त्यसले केही न केही अथवा कतै न कतै प्रजातन्त्रीकरणलाई सघाइरहेको उनको भनाइ छ । उनले अहिलेको बाँधिएको पाठ्यक्रम भन्दा श्रति परम्परा उचित भएको तर्क गरे । भने, ‘श्रति परम्परा अझ प्रजातान्त्रिक थियो, न व्याकरणको झन्झट, न वर्णविन्यास । आफ्नै लबजमा ज्ञानको सञ्चार हुन्थ्यो ।’