७६ तहमा पुगेनन् बैंकका शाखा

सरकारले हरेक स्थानीय तहमा वाणिज्य बैंकको शाखा खोल्नैपर्ने अनिवार्य व्यवस्था गरेको भए पनि ७६ स्थानीय तहमा अझै बैंक पुग्न सकेका छैनन् । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो विवरण अनुसार ७ सय ५३ स्थानीय तहमध्ये ६ सय ७७ स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा पुगेका छन् ।

बैंकका अनुसार प्रदेश नं १ का १ सय ३७ स्थानीय तहमध्ये १ सय १९, प्रदेश नं २ का १ सय ३६ स्थानीय तहमध्ये १ सय ३१ तहमा बैंकका शाखा खुलेका छन् । प्रदेश नं १ का १८ स्थानीय तहमा अझै बैंकका शाखा पुगेका छैनन् । प्रदेश नं २ का ४ वटामात्रै स्थानीय तहमा बैंकका शाखा पुग्न नसकेको राष्ट्र बैंकको विवरणमा उल्लेख छ ।

गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ८२ वटामा मात्रै बैंकका शाखा खुलेका छन् । सो प्रदेशका ३ स्थानीय तह अझै पनि बैंकका शाखा खुल्न सकेका छैनन् ।

राजधानी काठमाडौंसमेत रहेको प्रदेश नं ३ मा पनि हालसम्म ८ स्थानीय तहमा बैंकको शाखा खुल्न सकेका छैनन् । सो प्रदेशमा १ सय १९ स्थानीय तह रहेकामा गत असोज मसान्तसम्म १ सय ११ स्थानीय तहमा मात्रै बैंकका शाखा खुलेका छन् । गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ८२ वटामा मात्रै बैंकका शाखा खुलेका छन् । सो प्रदेशका ३ स्थानीय तह अझै पनि बैंकका शाखा खुल्न सकेका छैनन् ।

प्रदेश नं ५ का २ स्थानीय तहमा बैंकको शाखा नपुगेको केन्द्रीय बैंकले जनाएको छ । १ सय ९ मध्ये १ सय ७ स्थानीय तहमा बैंकका शाखा पुगेका छन् । कर्णाली प्रदेशका ७९ स्थानीय तहमध्ये ६२ स्थानीय तहमा बैंकका शाखा पुगेका छन् । सुदूरपश्चिम प्रदेशका ८८ मध्ये ६५ स्थानीय तहमा बैंकका शाखा पुगेका छैनन् ।

केन्द्रीय बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाको संख्या गत असार मसान्तमा १ सय ५१ रहेकामा गत असोज मसान्तसम्म १ सय ५४ पुगेका छन् । त्यसमा २८ वाणिज्य बैंक, ३३ विकास बैंक, २४ वित्त कम्पनी र ६९ लघुवित्त संस्था सञ्चालनमा छन् ।

बैंक तथा वित्तीय संस्थाको शाखा सञ्जाल गत असार मसान्तमा ६ हजार ६ सय ५१ रहेकामा गत असोज मसान्तमा ७ हजार १४ पुगेको छ ।