गायन रियालिटी सो द भ्वाइस अफ नेपालमा पोखराका गायक सिडी विजय अधिकारीलाई जिताउन सोमबार समिति गठन गरी अभियान सुरु गरिएको छ ।
अधिकारीलाई जिताउन पोखराका अग्रज संगीतकर्मी रहेको ३५ सदस्यीय सहयोग समिति गठन भएको हो । त्रिवेणी संगीतालय न्युरोड पोखराले आयोजना गरेको कार्यक्रममा संगीत प्रशिक्षक नवराज बराल, श्रीमान थुलुङ, मनकुमार श्रेष्ठ, पदमराज ढकाल, सुमन श्रापित, मेनकाजी गुरुङ, त्रिभुवन शर्मा, जीवन गुरुङ लगायत रहेको समिति गठन भएको छ ।
समितिले अधिकारीलाई भोटिङ गर्न आर्थिक संकलन र प्रचारप्रसार गरी उनलाई जिताउन सहयोग गर्ने त्रिवेणी संगीतालयका प्रबन्ध निर्देशक बरालले बताए ।
गायक अधिकारीले आफू द भ्वाइस अफ नेपालको उत्कृष्ट २४ मा परेको बताए । विजेता बन्नेमा आफूमा विश्वस्त गरेको उल्लेख गर्दै उनले भने, भोट दिएर सहयोग गरिदिनुस् ।
कास्कीको लाहाचोकमा जन्मेका अधिकारी द भ्वाइस अफ नेपालका ४ जना प्रशिक्षक (कोच)मध्ये दीप श्रेष्ठको समूहमा छन् ।