बेखबर बस्ती : साङ्ता गाउँ

सदियौंदेखि बेखबर बस्ती हो साङ्ता गाउँ । मुस्ताङको यो बस्ती ३० दशक अघिमात्र पत्ता लागेको बताइन्छ ।
डोल्पा र मुस्ताङबीच पहाडको खोंचमा रहेको साङ्ता गाउँ जोमसोमदेखि करिब ४० किलोमिटर पश्चिममा छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ५ अन्तर्गत पर्ने यस गाउँसँग फ्याल्क र धाकार्जुङ जोडिएका छन् । एउटै वडामा रहेका यी २ गाउँको दूरी २५ किलोमिटर छ ।
साङ्तेली समुदायको परिचय उनीहरुको भेषभूषाले झल्काउँछ ।

बस्तीका अधिकांश बासिन्दा अशिक्षित छन् । उनीहरु नेपाली भाषासमेत करबलले बोल्छन् । गाउँमा कुनै अपरिचित मानिस आए आफ्ना कुरा राख्नसमेत हिच्किच्याउँछन् । फुस्रो भूगोलमा अहिले १३ घरधुरी बस्छन् । माटो र ढुङ्गाले निर्माण गरिएका जीर्ण घरले गरिबी र अभावको संङ्केत गर्छ । चारैतिर पहाडै पहाडले घेरिएको बस्तीको तलपट्टि सानो नदी पनि छ ।

साङ्तेलीको मुख्य आयआर्जनको स्रोत हो ः सामान्य खेतीबाली, पशुपालन र व्यापार व्यवसाय । गाउँ मुखिया पेमा गुरुङका अनुसार बस्तीका ६ घरधुरीले ३४ वटा याक र ३ सय वटा भेडाच्याङ्ग्रा पालन गरेका छन् । साङ्तेलीले चौरीगाईबाट दूध, दही, घ्यू , छुर्पी बनाउने र सिजनमा भेडाच्याङ्ग्रा र याक बिक्री गरेर जीविका चलाउँदै आएको मुखिया पेमाले बताए ।

माटो र ढुङ्गाले निर्माण गरिएका जीर्ण घरले गरिबी र अभावको संङ्केत गर्छ । चारैतिर पहाडै पहाडले घेरिएको बस्तीको तलपट्टि सानो नदी पनि छ ।

वर्षायामको समय खेतीबाली, पशुपालन तथा व्यापार गर्ने र हिउँदयाममा डोल्पा जाने बाटोको छेउ पारिलो घाम लाग्ने स्थानमा बस्ती सर्ने गर्छन् । यतिबेला साङ्तेली अर्को स्थानमा बस्ती सर्ने क्रममा छन् । गाउँमा चिसो बढेकाले उनीहरु अस्थायी बस्ती सर्ने क्रममा गाउँबाट केही घण्टाको दुरी टाढा जाँदै छन् ।

हिउदयामको पूरै ६ महिनाका लागि खाद्यान्न जोहो गर्न करिब २ घण्टाको पैदल बाटोमा सामान ओसार्ने क्रममा छन् । यहाँ पुग्न यातायातको सुविधा छैन । हिउँदमा कुनै कामकाज नहुने भएकाले घरेलु उत्पादनका सामग्री तयार गर्नमा जुट्ने गरेको स्थानीय छेवाङ गुरुङले बताए । ‘हिउदमा कुनै कामकाज हुँदैन, घाम तापेरै दिन बित्ने गर्छ,’ उनले भने, ‘अरु ठाउँका मानिस चिसो छल्न बेंसी झर्ने गर्छन् । हामी पहाडकै फेदमा दिन काट्न बाध्य छौं ।’

साङ्तेलीलाई वर्षेनी उत्पादन गरेको बालीले ६ महिना धान्न मुस्किल पर्छ । उनीहरु पशुपालन तथा छिमेकी जिल्ला डोल्पातर्फ व्यापार गर्न जाने गरेका छन् । केहीले भने गाउमै सानो तिनो होटल गरेर बसेका छन् । खेतीपाती गर्दै आएको अहिलेको बस्ती साङ्ता पूरै समय सुनसान हुन्छ ।
गाउँमा ३ कक्षासम्म पढाइ हुने विद्यालय छ । बस्तीमा रहेका सीमित बालबालिकाले मात्र अध्ययन गरेको पाइएको छ ।

गाउँमा स्वास्थ्य चौकीसमेत छैन । ठूलो बिरामी पर्दा सदरमुकामसम्म आइपुग्न समस्या पर्ने गरेको स्थानीय बताउँछन् । निर्वाचनका समय केही राजनीतिक पार्टीले सोलारको व्यवस्था गरेकाले केही राहतको महसुस गर्न पाएका छन् ।