पूर्वी नेपालको खोटाङमा जन्मिएका अनिल जोशी अहिले पोखराको एउटा वित्तिय संस्थामा कार्यरत छन् । उनको पछिल्लो परिचय बनेको छ गीतकार । हालसालै उनले ‘साहारा … जिन्दगीको’ नामको एल्बम बजारमा ल्याएका छन् । ७ वटा गीत समाविष्ट एल्बमका सबै गीतमा उनकै शब्द रहेका छन् । खोटाङदेखि पोखरा, शिक्षकदेखि व्यवस्थापक हुँदै गीतकारसम्मको जीवनयात्राको विषयमा कुराकानी गर्न पृथ्वीचोक पुग्दा उनी अगाडि नै त्यहाँ हाजिर थिए । २०३४ सालमा जन्मिएका उनले खोटाङ सदरमुकाम दिक्तेल, सोलु र काठमाडौंमा औपचारिक शिक्षा आर्जन गरे ।
कक्षा आठमा अध्ययन गर्दा कविता प्रतियोगितामा पहलो पटक कविता लेखेको स्मरण गर्दै उनले भने – ‘कविता, लघुकथा, संस्मरण, गीत, गजल, मुक्तक पनि लेखेको छु । गीत र कविता मलाई बढी मनपर्छ ।’ २०५८ सालमा रश्मी अमात्यसँग वैवाहिक सम्बन्धमा आबद्ध जोशीले भने – ‘प्रेमपछिको व्यवस्थित विवाह हो ।’ एल्बम निकाल्नुको कारण खोल्दै उनले यसमा आफ्नो संगीतप्रतिको मोह र श्रीमतीको आत्मीयता भएको बताए । सबै गीतहरू भिजुअल रहेको उनको एल्बममा शिव परियार, दीपक लिम्बू, नरेन्द्र प्यासीजस्ता सुगम संगीतमा लोकप्रिय व्यक्तिहरूले स्वर दिएका छन् । एल्बममा फिमेल भ्वाइसमा रश्मी अमात्य जोशीको स्वर छ । एउटा बाल गीतमा ग्लोबल कलिजियट उच्च मा.वि.मा कक्षा ३ मा अध्ययन गर्ने उनका छोरा अनमोलको स्वर छ । पूरै परिवार संगीतमा हुनुहुँदो रहेछ भन्दा उनी मुस्कुराए मात्र ।
संगीत संयोजन, उत्कृष्ट गायकीले सिगार्नका लागि एउटा लेखकले मनका भावहरू उतारेको सिर्जनालाई गीत मान्छन् उनी । एउटा परिवेश निर्माण भएपछि गीत रचना गर्ने बताउँछन् । प्रेम, विछोड, अरुको अवस्थाबाट सिर्जना गर्ने साहित्यकारहरू समयको अन्तरालसँगै राष्ट्रभक्ति, सन्देशमूलक सिर्जनासम्म पुग्ने उनको मत छ । ‘गीत सुपरहिट हुँदा गीतकार गुमनाम हुने अवस्था छ ।’ उनी भन्छन् । मिडियाले पनि गायकको मात्र नाम भन्छन् । गीतकार को हो भन्ने कुराको चासो गीतकारलाई मात्र हुने गर्छ । ६–७ लाख रुपैयाँको लगानी भए पनि म्युजिक कम्पनीले सम्झौता अनुसारको व्यवहार नगर्ने परिपाटीबाट उनी पनि अपवाद भएका छैनन् । संगीतले मानिसलाई अमर राख्ने उनको धारणा छ ।
‘व्यवस्थापकीय नियममा बाँधिने वित्तिय क्षेत्र र स्वच्छन्द संगीतमा कसरी सँगसँगै यात्रा समभव भएको छ ?’
‘सीमित क्षेत्रको वित्तिय संस्था र स्वच्छन्द संगीतमा म एकसाथ लागिरहेको छु । सम्भव भएसम्म लागिरहन्छु । यो मलाई एउटा व्यक्तिको व्यवस्थापकीय क्षमतामा निर्भर गर्छ जस्तो लाग्छ ।’
संगीत संयोजन, उत्कृष्ट गायकीले सिगार्नका लागि एउटा लेखकले मनका भावहरू उतारेको सिर्जनालाई गीत मान्छन् उनी ।
तीन दाजुभाईमध्ये उनका माइला भाई पाइलट हुन् भने कान्छा भाई अमेरिकामा छन् । पहिले दिक्तेल आउँदा–जाँदा त्यहाँ हुने ‘प्रस्फुटन’ कार्यक्रममा सिर्जना गरेका दिनहरू सम्झिदै गर्दा उनलाई सोधियो– ‘तपाईलाई मनपर्ने तपाईकै कुनै एक गीत सम्झनुहोस् न ।’
‘तिम्रै लागी एउटा गीत लेखुं–लेखु लाग्यो
सपनीमै भए पनि भेटुं भेटु लाग्यो ।’
आफूलाई मनपर्ने एउटा गीत छनौट गर्न लगाउँदा केही समय सोचेर उनले भने – ‘बल गरेर यो मन …।’
‘स्वरुपराज आचार्यको ?’
‘विपिन किरणको ।’
गीतकार जोशीले आफ्नो पक्षधरता प्रस्तुत गरे । एस.एल.सी. पछि सोलुखुम्बुमा सरकारी जागिर, काठमाडौं र दिक्तेलमा गरी ८ वर्ष शिक्षण गरेका उनले पछिल्लो समयमा वित्तिय संस्थामा काम गरिरहेका छन् । संस्थाका अध्यक्ष, कार्यकारी अधिकृतको पदमा अधिकांश त पाका उमेरका मानिसहरू हुने गर्दछन् । उनले सुनाए –‘तपाई बुढो हुनुहुन्छ होला भन्ने सोचेको त युवा पो हुनुहँदो रहेछ । धेरैले यस्तो भन्छन् ।’ प्राकृतिक विपत्तिबाहेक सफलता आफैमा निर्भर हुने उनी ठान्छन् । उनले सुनाए सफलताका चार सूत्र ः
– हाँस्न जान्नुपर्छ
– लयबद्धरुपमा शब्द चयन गरी बोल्नुपर्छ
– घमण्ड गर्नुहुँदैन
– रिसलाई नियन्त्रण गर्नुपर्छ
व्यवसायिक रुपमा आर्थिक उपार्जन भए पनि व्यक्तित्वको विकास र सामाजिक सम्मान यो क्षेत्रले हुने उनको विचार छ । युवा पुस्ताको विदेशी चलचित्र, गीत र रोजागरीमा मात्र ध्यान दिएर नेपाली कला, साहित्य, संगीतलाई माया गर्नुपर्ने उनको धारणा छ ।
प्रस्तुति : फडिन्द्र अकिञ्चन