सेती नदी धमिलो भयो कि सन्तोष गुरुङको मन अमिलो हुन्छ । आँखा रसाउँछन्, मुटु भक्कानिन्छ । कास्कीको माछापुच्छ«े–२, खारापानीका सन्तोषको सर्वस्व १४ वर्षअघि त्यही सेतीको बाढीमा गुमेको थियो । हेर्दाहेर्दै उनका दुई घर र होटल बाढीको बेगमा बिलाए, जीवनसाथी पुण्यशोभा बेपत्ता भइन् । ज्यान गुमाउने र बेपत्ता हुनेको संख्या ७२ पुग्यो ।
आकस्मिक रुपमा २०६९ वैशाख २३ गते बिहान आएको बाढीले दुई घन्टामै खारापानी बजारलाई बगर बनाइदियो । माछापुच्छ«े गाउँपालिकाका बस्तीहरु जिमिरबारी, सादल, भराभरी, खारापानी, सार्दीखोला घाचोक, लाहाचोक हुँदै पोखरा महानगरका हेमजा, लाल्टिन बजार, महेन्द्रपुल, रामघाट, नयाँबजार, पृथ्वीचोक, रातोपहिरो, दोबिल्लासम्म भागाभाग भयो । तनहुँको सेती किनारका बासिन्दाको पनि हंशले ठाउँ छाड्यो ।

तेह्र वर्षअघि आएको बाढीले खारापानी बजार बगर बनाएपछि बाटोबाट नियाल्दै स्थानीय ।
हिउँदमा बिना वर्षा आएको बाढीले देशभरी मात्र नभई अन्तर्राष्ट्रिय रुपमै चर्चा पायो । भूगोलविद्, भूगर्भविद्, जलवायु संकटका अध्येता र विज्ञहरुका लागि घटना अध्ययन (केस स्टडी)को नयाँ विषय थपियो । अन्यत्र सामान्य क्षति भए पनि गुलजार खारापानी बजारको नामोनिशान रहेन । खारापानी अझै चकमन्न, सुनसान र उजाड छ ।
हिउँदमा बिना वर्षा आएको बाढीले देशभरी मात्र नभई अन्तर्राष्ट्रिय रुपमै चर्चा पायो । भूगोलविद्, भूगर्भविद्, जलवायु संकटका अध्येता र विज्ञहरुका लागि घटना अध्ययन (केस स्टडी)को नयाँ विषय थपियो ।
पोखरा उपत्यकाको सर्जक सेती आज पनि कास्की र तनहुँका दर्जनभन्दा बढी बस्ती, पूर्वाधार र हजारौं मान्छेका लागि मौन जोखिम बनेर बगिरहेको छ । यो आलेख सेती नदीले ल्याउन सक्ने विपत्ति, नदीको मापदण्डको उपेक्षाले आउन सक्ने संकट र संकट घटाउने उपायहरुमा केन्द्रित छ । वैज्ञानिक अध्ययनहरु, खारापानी बाढी पीडितको अनुभव र सरकारको विपद् रणनीति केलाउँदै यो रिपोर्टले मुख्य रुपमा सेतीले सिर्जना गरेका जोखिमहरु औंल्याएको छ भने मापदण्ड पालना गर्दै यसबाट सिर्जित अवसरहरुको विवेकपूर्ण उपयोग गर्न सुझाएको छ ।
यसरी बन्यो पोखरा उपत्यका
पोखरा उपत्यका कसरी बन्यो ? यसको उत्तरमा दुई खालका मत आउँछन् । केही भन्छन्ः यहाँ कुनै बेला काठमाडौंको जस्तै विशाल ताल थियो, पछि यो फुटेर उपत्यका बन्यो, जमिन देखियो, केही ताल र पोखरी बाँकी रहे । यो उपत्यकाको नाम पोखरा पनि सानो पोखरी अर्थात् पोखरोबाट अपभ्रंश हुँदै बनेको अनुमान गरिन्छ ।
‘हिमालयको उत्पत्तिः सागरदेखि सगरमाथासम्म’मा विक्रम श्रेष्ठ (२०७९)ले पोखराको उपत्यकाको उत्पत्ति, विकास र सेती नदीबारे प्रकाश पारेका छन् । पोखरीबाटै पोखरा नाम रहन गएको उनको तर्क छ । उनी लेख्छन्, ‘वास्तवमा नेपाली शब्द पोखरीबाटै पोखरा भन्ने शब्द निर्माण भएको जानकारहरु बताउँछन् । अतः शाब्दिक रुपमा पोखरा भन्नाले ताल वा पोखरा निकटको बस्ती भन्ने बुझिन्छ ।’
अर्काथरी मत राख्नेहरुले वैज्ञानिक आधार दिएका छन् । भूगोलविद् डा. हर्क गुरुङ, विक्रम श्रेष्ठसहित अन्तर्राष्ट्रिय अनुसन्धाताहरु पोखरा उपत्यकालाई सेती नदीको सिर्जना मान्छन् । पोखरासहित यो क्षेत्रको सिर्जना र बेला बेलामा विनाशसमेत गर्ने सेती नदीको बहुआयामिक जोखिमलाई भने लामो समयदेखि वेवास्ता गरिएको देखिन्छ ।
सेती नदी कचौरा आधारको ठूलो उपत्यकाबाट उत्पत्ति भएको छ । दक्षिण पश्चिममा माछापुच्छ«े हिमाल, पूर्वमा अन्नपूर्ण चौथो र उत्तरपश्चिममा अन्नपूर्ण तेस्रोको बीचको उपत्यका मुहान भएको सेती कास्कीको माछापुच्छ«े गाउँपालिका र पोखरा महानगर हुँदै बग्छ, र तनहुँ हुँदै त्रिशूलीमा मिसिन्छ । पोखरा उपत्यका हुँदै बग्ने सानाठूला सबैजसो खोलाहरु सेतीमै मिसिन्छन् । सेतीका सहायक नदीमा मर्दीखोला, याम्दी खोला, सार्दीखोला, भलाम्दी खोला, कालीखोला, फुर्सेखोला, विजयपुर खोला लगायत छन् ।
यसको पानीको विशेषताकै आधारमा नाम सेती रहेको देखिन्छ । मुहानमै चुन मिसिएको क्षेत्र भएकाले वर्षामा उर्लिदा धमिलो हुनेबाहेक यसको पानी सेतो देखिन्छ ।
पोखरा उपत्यका खासगरी दुई खालका भौगर्भिक पदार्थबाट बनेको छ । आधारशील कडा चट्टान समूह र तालमा जम्मा भएका बालुवा, गिट्टी, गेगर, ठूल्ठूला ढुंगा र तैलीय माटो यो उपत्यकामा पाइन्छ । सन् १९८२ मा जापानी भूवैज्ञानिकहरुले पोखरा उपत्यकाको विस्तृत भौगर्भिक अध्ययन गरेका थिए । उनीहरुले पहिलो पटक पोखरा उपत्यकाको उत्तरदेखि दक्षिणसम्म सेती नदीलाई पन्छाउँदै त्यसको वरपरको भौगर्भिक अवस्थाबारे अध्ययन गरेका थिए ।
त्यसअघि सन् १९६९ मा टोनी हेगनले पोखरा उपत्यकाको वैज्ञानिक अध्ययन सुरुआत गरेका थिए । भूगोलविद् डा कृष्ण केसी पोखरा उपत्यका र यहाँका ताल, पोखरीको निर्माण सेती नदीमा आएका ठूला बाढीहरुबाट भएको बताएका छन् । उनी भन्छन्, ‘सेती नदी पोखरा उपत्यका र यहाँका ताल, पोखरी, गुफाहरुको जननी हो ।’ घाचोक फर्मेसनका बेला फेवाताल बनेको र अरु ताल भने पोखरा फर्मेसनका बेला सिर्जना भएको उनले सुनाए ।
‘सेती बाढीमा पाइएका पदार्थ र पोखरा उपत्यकाको भित्री भागमा पाइने पदार्थ उस्तै छन् । सेतीमा आउने यस्तै महाविपद्बाट पोखरा उपत्यका सिर्जना भएको भन्ने वैज्ञानिक रुपमै पुष्टि हुन्छ ।’
‘ठूला भूकम्पसँगसँगै विविध कारणले आएका भीषण बाढीसँगै आएको गेग्रानले खोलाहरुको प्राकृतिक बहाव थुनिएपछि पोखराका तालहरु बनेको देखिन्छ,’ उनले भने । भूगर्भविद्हरुका अनुसन्धानहरुले पनि डा केसीको भनाइलाई पुष्टि गर्छन् । विभिन्न अनुसन्धानमा उनीहरुले सेती नदी र पोखरा उपत्यकाको विस्तृत भौगर्भिक अध्ययन र वस्तुस्थिति अनुरुपको योजनाबद्ध तयारी गर्नुपर्ने औंल्याएका छन् ।
भूगर्भविद् डा. वसन्तराज अधिकारी सेतीमा बेला बेलामा आउने आकस्मिक बाढीहरु र पोखरा उपत्यकाको भूगर्भलाई सँगसँगै अध्ययन गर्नुपर्नेमा जोड दिन्छन् । ‘सेती बाढीमा पाइएका पदार्थ र पोखरा उपत्यकाको भित्री भागमा पाइने पदार्थ उस्तै छन्,’ उनी भन्छन्, ‘सेतीमा आउने यस्तै महाविपद्बाट पोखरा उपत्यका सिर्जना भएको भन्ने वैज्ञानिक रुपमै पुष्टि हुन्छ ।’
तर्साइरहने सेती बाढी
अहिले पोखराको मुख्य बजारसहित आसपासका पर्यटकीय स्थलमा आन्तरिक र बाह्य पर्यटकसमेत भरिभराउ छन् । पोखराबाट करिब २० किलोमिटरमा पर्ने माछापुच्छे« गाउँपालिका वडा नम्बर २ को खारापानी भने निसासलाग्दो छ । फाट्टफुट आउने आन्तरिक पर्यटक त्यहाँ बनेको स्मृति पार्क नियाल्छन्, पारिपट्टि बनेको सानो तातोपानी कुण्ड हेर्छन् र फर्किन्छन् । १३ वर्षअघि तातोपानी कुण्डमा नुहाउने, वनभोज खानेहरुको लर्कोले खारापानी गुलजार थियो । त्यहाँ होटलहरु र लजसमेत चलेका थिए ।
अहिले पूर्ववत् सुसाइरहने सेती नदी पारिपट्टि एउटा दुई कोठे चिया पसल छ । झोलुंगे पुल तरेर हम्मेसि जोकोही पारिपट्टि कुनामा बनाइएको तातोपानी कुण्ड पुग्दैनन्, पुलबाटै सेल्फी खिचेर फर्किन्छन् । पुलपारिको सानो खिर्चीमिर्ची पसल चलाइरहेकी यशोदा भुजेललाई अचेल फुर्सद छ । यशोदा भन्छिन्, ‘हिउँदमा अलिअलि मान्छे आउँछन्, वर्षामा भने सुनसान नै हुन्छ । पानी परेका बेला हामी पनि यहाँ बस्दैनौं, पारि कोठा लिएका छौं, त्यहाँ जान्छौं ।’

खारापानीमा अहिले बनाइएको तातोपानी कुण्ड र त्यहाँ सेती नदी ।
२०६९ वैशाख २३ गतेको बिहान सेती किनारका बासिन्दाका लागि अरु दिनभन्दा भिन्न थिएन । त्यो दिन बिहान यात्रुलाई माछापुच्छ«ेको मोहनी देखाउन अल्ट्रालाइट विमान उडाएका क्याप्टेन अलेक्जेन्डर मासिमोभले माछापुच्छ«े फेदीमा कालो बादल जस्तो अनौठो दृश्य देखे । यात्रुलाई हिमाली सौन्दर्य देखाउन उडेका उनी आफैं अनौठो दृश्यले आकर्षित बने । उनले विमान पोखरातर्फ मोडे र विमानस्थलको टावरमा विपद् आउन लागेको सन्देश पठाए ।
बिहान सवा ९ बजे टावरलाई उनले सूचना दिएपछि पोखराका एफएम रेडियोहरुले बाढी आएको सन्देश प्रवाह गरे । विपद् पूर्वतयारीको कुनै संयन्त्र नरहेको खारापानीका केही बासिन्दालाई पनि खारापानीभन्दा माथिका मानिसहरुले बाढीको सूचना दिएका थिए । सेती किनारमा काम गर्दै गरेका र खारापानीका धेरैले भागेर ज्यान बचाए । तर अकस्मात आएको बाढीमा परी ४० जनाको मृत्यु भयो भने ३२ बेपत्ता बने ।
हेर्दाहेर्दै खारापानी बजार बगरमा बन्यो । बाढीले मानवजीवनमात्र होइन, संरचनाहरु पनि तहसनहस बनायो । पुल, सडक, घर, खानेपानी र जलविद्युत आयोजनाका संरचना क्षतिग्रस्त भए । पोखरा उपत्यकासम्म यसको असर प¥यो । बाढीले १६ वटा आवासीय घर, आठ वटा पसल र करिब साढे सात हेक्टर जमिन बगाएको थियो । सोही बाढीमा १२ वटा गाडी, दुई झोलुंगे पुल, तीन किलोमिटर सडकसमेत बगाएको थियो । जिल्ला प्रशासन कार्यालय कास्कीले त्यस बेला संकलन गरेको विवरणमा बाढीबाट ४ करोड ९६ लाख २८ हजार रुपैयाँको आर्थिक क्षति भएको उल्लेख छ ।
सेती बाढीमा छोरी अर्चनालाई गुमाएपछि पोखरा–८, बगालेटोलका दिलीप श्रेष्ठको परिवार बसाई स¥यो । पुरानो घर, सेती नदी र आफन्तको सोधखोजले उनको घाउ बल्झिइरहन्थ्यो । कलेजबाट साथीहरुसँग पिकनिक खान खारापानी पुगेका बेला बाढीमा परेकी छोरीको स्मृतिमा अक्षयकोष स्थापना गरी विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएका उनी विपद्पछि सरकारको बेवास्ताका कारण स्तब्ध छन् ।
खारापानीमै भएर पनि सेती बाढीमा बाँच्नेहरु थोरैमात्र थिए । ६५ वर्षीय ज्ञानी गुरुङलाई त्यो दिनको घटना चलचित्र जस्तै लाग्छ । ज्ञानी र उनको परिवार बाढीमा संयोगले जोगिए तर उनकोमा काम गर्ने तीन जनालाई बाढीले आफूसँगै लपेट्यो । माछापुच्छ«े गाउँपालिका वडा नम्बर २ चौरामा रहेको आफ्नै निवासमा बाढीको घटना सुनाउँदा उनी घरी भावुक बन्थिन्, घरी गम्भीर । कम्मरसम्म आइपुगेको बाढीबाट संयोगले जोगिएकी उनले ठट्टा भावमा भनिन्, ‘त्यत्रो बाढीले त लान सकेन, अब ससानो बिमारको त केही लाग्दैन ।’
त्यो बेला खारापानीमा छ वटा पौवा, पाँच वटा होटल, एउटा मासु पसल र पक्की घरसमेत रहेको उनी सम्झिन्छिन् । बाढी आउने दिन उनका नाति र बुहारी पोखरा आएका थिए, श्रीमान् गोलमान छिमेकीको अर्घौंमा गएका थिए, छोरा भने सहकारीका कर्मचारी भएकाले अफिस गएका थिए ।

सेती बाढीमा भागेर बाचेकी स्थानीय ज्ञानी गुरुङ ।
उसले सेतीमा बेस्मारी ठूलो बाढी आयो आथे भनेर सुनाई, म त पछ्यौरा पनि नओडी भागेछु । भाग्दाभाग्दै चप्पल पनि खुस्कियो, कुनामा पुग्दा कम्मरसम्म बाढी आइपुगेछ । कसोकसो समाउने ठाउँ पाएर बाँचेँ ।
उनीकहाँ काम गर्ने कर्मचारी बिना गुरुङले सेतीमा बाढी आएको ज्ञानीलाई सुनाएकी थिइन् । ‘उसले सेतीमा बेस्मारी ठूलो बाढी आयो आथे (बज्यै) भनेर सुनाई, म त पछ्यौरा पनि नओडी भागेछु,’ उनी भन्छिन्, ‘भाग्दाभाग्दै चप्पल पनि खुस्कियो, कुनामा पुग्दा कम्मरसम्म बाढी आइपुगेछ । कसोकसो समाउने ठाउँ पाएर बाँचेँ ।’ माथि पुगेर फर्केर हेर्दा न उनको पसल देखिन्थ्यो, न खारापानी बजार ।
खोंचले खाइरहन्छ मान्छे
पोखरा महानगरमा सेती नदी कतै खुला भई बग्छ, कतै गहिरो गल्छी बनाएर हिँडेको छ । सेती नदीको गहिरो खोंच छेउछाउ सयौं गहिरा धर्तीफाटा छन् । ती खोंचमा बेला बेलामा मानिसहरु थाहै नपाई खस्ने गरेका छन् । केहीले आत्महत्या गर्ने मनसायले समेत हाम फाल्ने गरेका छन् ।
सेती खोंचका दुर्घटनामध्ये नमिता, सुनिताको घटना र आरधना प्रधानको उद्धार निकै चर्चित छन् । विसं २०३८ जेठ १८ गते काठमाडौंको सम्पन्न परिवारका दुई युवती नमीता र सुनीता पोखरा आएका थिए । उनीहरुलाई पोखरा घुमाउने काम पोखराकी नीरा पराजुलीले गरेकी थिइन् । पोखरा आएको छ दिनपछि तीनै जना बेपत्ता भएका थिए । त्यसको पाँच दिनपछि पृथ्वीनारायण क्याम्पस तलको बगरमा एक किशोरीको लास भेटिएको थियो भने पाँच महिनापछि अर्की महिलाको शव भेटियो । ती शव नमिता र सुनिताको भएको अनुमान गरियो, निराको अस्तित्व अझै सेतीकै गर्तमा गुमनाम छ ।

पोखराको मुख्यबजार महेन्द्रपुलमा सेती किनारमै बन्दै गरेको चार तले घर । यहाँ सेतीको चौडाई करिब तीन मिटर खोंचको गहिराई २० मिटर जति छ ।
हत्याकाण्डलाई प्रत्यक्ष देखेका वनपाले चूडामणि अधिकारीको पनि रहस्यमय मृत्यु भएको थियो । हत्याकाण्डको पाँच दशक हुँदा पनि त्यसको रहस्य सुल्झिएको छैन । २०६५ असार १० गते पोखरा–१५, खरबारीमा पर्ने सेतीको धर्तीफाटामा साढे दुई वर्षीया आराधना प्रधान खसिन् । ६० फिट तल खोंचमा अड्किएकी उनलाई उद्धार गर्न त्यति बेला अनेक उपाय गरियो । तर, ती उपाय कामयाब भएनन्, अन्तिममा १२ वर्षीय किशोर कमल नेपालीले खोंचबाट आराधनालाई निकाले । १२ घन्टापछि आराधनालाई सकुशल बाहिर निकालेर कमलले नयाँ जीवन दिए, उनी देशैभर चर्चित बने । न सधैं कमल नेपालीहरु भेटिन्छन्, न सबैको भाग्य आराधनाको जस्तो हुन्छ । त्यस्ता विपद् कम गर्न आवश्यक पूर्वसावधानी, तारबार र उद्धारको चुस्त संयन्त्र बनाउनु आवश्यक हुन्छ । तर, त्यतातिर कसैको ध्यान गएको देखिँदैन ।
उसो त सेती नदी र त्यसको धर्तीफाटामा खसेकालाई निकाल्न पनि सजिलो छैन । गहिरा र चट्टानी खोंचमा खसेकाहरु हम्मेसि फर्कदैंनन् । कोही खसेका बेला शव निकाल्न पनि नदीको बहाव बढाउनुपर्छ । बेला बेलामा जौबारीमा रहेको सेती नहरको बाँध खोलेर प्रहरीले मानिसको खोजी गर्ने गरेको छ ।
पछिल्लो पाँच वर्षमा सेती नदीमा हाम फाली १० जनाले ज्यान गुमाएको कास्की प्रहरीको तथ्यांक छ । सेती नदीमा कुनै मानिस खसेमा उद्धारका लागि सशस्त्र प्रहरी बलको गोताखोर टोली र विशेष उद्धार टिम परिचालन गर्ने गरिएको छ । यी संयन्त्र फेवाताल र सेतीमा हुने दुर्घटनामा उद्धारका लागि परिचालित हुने गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवान सीमित स्रोत, साधनका बाबजुद उद्धारका काममा सुरक्षा निकायले काम गर्ने गरेको बताउँछन् । ‘सेतीमा कोही खसे वा कुनै घटना भएको खबर आउँदा प्रहरी तुरुन्त परिचालित हुन्छ, आवश्यक पर्दा सशस्त्र र नेपाली सेनाको सहयोग पनि लिन्छौं,’ उनले भने ।
किनारका बस्ती जोखिममा
कास्कीको माछापुच्छ«े गाउँपालिका हुँदै बग्ने सेती नदी पोखरा महानगर आइपुग्दा कतै देखिएर बग्छ, कतै गहिरो खोंचबाट दौडिन्छ । पोखरा महानगरका विभिन्न क्षेत्रमा सेती किनारमा घना बस्ती बसेका छन् । लाल्टिन बजार, रामघाट, दोबिल्ला जस्ता क्षेत्रका बस्ती नदी किनारमै भएकाले जोखिममा छन् भने बगर, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक लगायतका क्षेत्रमा सेती किनारबाटै मापदण्ड मिचेर बनाइएका भवनहरु जोखिममा छन् । वैशाख २३ कै जस्तो वा त्यो भन्दा ठूलो बाढी राति आइदियो भने अनुमानै गर्न नसकिने क्षति हुन सक्छ ।
साना ठूला आठ ताल, दर्जनौं गुफा, कतै फाँट, कतै बगर, कतै घना बस्ती, कतै सदावहार जंगल भएको पोखरा महानगर सेतीको सबैभन्दा बढी जोखिममा छ । पोखरा महानगरले बनाएको भवन तथा पूर्वाधार निर्माण मापदण्डमा घर निर्माणका लागि सेती किनारबाट ३० मिटर छाड्नुपर्छ । पोखरा नगर योजना कार्यान्वयन समितिले २०३३ मा बनाएको पोखरा नगर योजना क्षेत्रभित्र भवन निर्माणका निम्ति लागु गरिएको मापदण्डमा पनि सेतीको दुवैतिर अहिलेकै मापदण्ड थियो । अहिले पोखरा बजार क्षेत्रमा सेतीको मापदण्डमा सयौं बहुतले भवन देखिन्छन् ।

पोखरा १५ को सेती किनारको बस्ती ।
सेती बाढीबाट सबैभन्दा बढी प्रभावित माछापुच्छ«े गाउँपालिका वडा नम्बर २ मा पर्छ । त्यहाँका वडाध्यक्ष गणेश आचार्य पालिकाको लगानीले पुनर्निर्माण सम्भव नहुने जनाउँदै खारापानीको पुनर्निर्माणमा प्रदेश र संघ सरकारको सहयोगको अपेक्षा गरे । ‘पहिला जताततैबाट आश्वासन आएको थियो । अहिलेसम्म काम भएन । खारापानी बजार स्मृतिमै सीमित भयो,’ उनी भन्छन् । अहिले सेती नदीमा सञ्चालनमा आइसकेका र निर्माणाधीन गरी आधा दर्जन जलविद्युत आयोजना छन् । ती आयोजनाका ठूला गाडीहरु चल्दा खारापानी क्षेत्र जाने बाटो भत्किएको वडाध्यक्ष आचार्यले बताए ।
विपद्मा प्रदेशको साथ
गण्डकी प्रदेश सरकार स्थापना भएको एक दशक हुन लागेको छ । यो अवधिमा सरकारले विपदमा परेकालाई उद्धार, राहतदेखि विपद् प्रतिकार्यका लागि पनि काम गर्दै आएको छ । सम्भावित विपद्को पूर्वतयारी, राहत, उद्धार र पुनस्र्थापनामा सघाउन गण्डकी सरकारले छुट्टै संरचनासमेत बनाएको छ । यसका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गत आन्तरिक मामिला, शान्ति, सुरक्षा र विपद् व्यवस्थापन शाखा छ ।
शाखा प्रमुख उपसचिव नवराज पोखरेल विपदमा सघाउन प्रदेश सरकारको छुट्टै कोष रहेको बताए । ‘प्रदेशको छुट्टै विपद् कोष छ, कोषमा अहिले २२ करोड मौज्दात छ,’ उनी भन्छन्, ‘कोषमा १० करोड नघट्ने व्यवस्था मिलाएका छौं ।’ दुई वर्षअघि मुस्ताङको कागबेनीमा आएको आकस्मिक बाढीपछि प्रदेशले यही कोषबाट राहत वितरण गरेको थियो ।
मुख्यमन्त्रीको संयोजकत्वमा विपद् व्यवस्थापन परिषद् पनि प्रदेशमा छ । यसले आकस्मिक रुपमा आइपर्ने ठूला विपद्मा आवश्यक निर्णय गर्दै आएको छ । विपद्को सूचना लिन प्रदेशले आपतकालीन कार्यसञ्चालन केन्द्र बनाएको छ । केन्द्रमा चौबिसै घन्टा चार सुरक्षाकर्मी खटिएर प्रदेशभरका विपद्का घटनाबारे सूचना संकलन गर्ने गरेका छन् ।
बिर्सिइयो विपद्, कमजोर पूर्वसावधानी
सेतीमा आएको आकस्मिक बाढीपछि त्यसबारे दर्जनभन्दा बढी अनुसन्धान भएका छन् । सो बाढीको अनुसन्धान भए पनि पोखरा उपत्यका र सेतीको जलाधार क्षेत्रको विस्तृत भौगर्भिक अध्ययन भएको छैन । आकस्मिक बाढी केही मिनेटदेखि केही घन्टाभित्रै आउने शक्तिशाली बाढी हो । यो अपर्झट आउने बाढी न धेरै समयअघि पूर्वानुमान गर्न सकिन्छ, न भाग्ने समय नै मिल्छ । केही घन्टामा यस्ता बाढीले उत्पात मच्चाइसक्छन् ।
भूगोलविद् डा. कृष्ण केसी पोखरा उपत्यकाको अध्ययन पछि आवश्यक पूर्वतयारी गर्नुपर्नेमा जोड दिन्छन् । ‘पोखरा उपत्यका र सेती नदीको विस्तृत भौगर्भिक अध्ययन आवश्यक छ,’ उनी भन्छन्, ‘आकस्मिक रुपमा आउन सक्ने बाढीको पूर्वतयारी नगरे फेरि ठूलै क्षति व्यहोर्नुपर्ने हुन सक्छ ।’
सेतीमा आकस्मिक बाढी आए माछापुच्छ«ेको साँदलदेखि तनहुँको भिमादसम्मका क्षेत्र जोखिममा पर्न सक्छन् । सेतीको मुहान अन्नपूर्ण चौथो, अन्नपूर्ण तेस्रो, माछापुच्छ«े हिमाल र साब्चे सर्कको क्षेत्र निकै संवेदनशील छ । दलदले माटो रहेको सब्चे सर्कमा हुने गडबडीले सेतीमा बाढी आउने गरेको छ । कचौरा आकारको अन्नपूर्ण चौथो, अन्नपूर्ण तेस्रो, माछापुच्छ«े हिमाल बिचको क्षेत्र साब्चे सर्क हिमनदी र हिमालमा हुने गडबडका कारण बनेको संवेदनशील क्षेत्र हो, जसले हिमालय क्षेत्रमा आकस्मिक बाढी निम्त्याउने गरेको छ ।
आकस्मिक बाढी केही मिनेटदेखि केही घन्टाभित्रै आउने शक्तिशाली बाढी हो । यो अपर्झट आउने बाढी न धेरै समयअघि पूर्वानुमान गर्न सकिन्छ, न भाग्ने समय नै मिल्छ ।
हिमालयमा हुने सानो हलचल वा भूकम्पले पनि ठूलो विपद् निम्त्याउन सक्छ । त्यस्तो जोखिम कम गर्न आधुनिक साइरन राख्ने, सेती किनारका बस्तीहरुको व्यवस्थापन गर्ने लगायतका उपाय उनी सुझाउँछन् ।
सेती बाढीको घटना अध्ययन गरेका भूगोलविद् खगेन्द्रराज पौडेल कमजोर र संवेदनशील भूभागमा जलवायु परिवर्तनले थप जोखिम बढाएको टिप्पणी गर्छन् । उनी भन्छन्, ‘यसलाई कम गर्न प्रारम्भिक चेतावनी प्रणाली, जोखिम स्थलहरुको पहिचान र नक्सांकनसँगै नदी अतिक्रमण नियन्त्रण गर्दै स्थानीयलाई प्रशिक्षित गर्नुपर्छ ।’

पोखरा-९, रामघाटमा सेती नदीमाथि पौडी खेल्न हाम फाल्दै एक बालक ।
खारापानी बाढीपछि प्रतिबद्धता अनुरुप सरकारले न त्यहाँ बजार पुनस्र्थापनामा सघायो, न पीडितहरुको जीविकोपार्जनमै सहायता ग¥यो । त्यसबारे भएका अध्ययन, अनुसन्धानका सुझावहरु दराजमै थन्किएका छन् । यहाँसम्म कि प्रारम्भिक चेतावनी प्रणालीसमेत जोखिम क्षेत्रमा छैन । माछापुच्छ«े गाउँपालिकाले पालिकाका सबै स्थानमा पूर्वाधार निर्माणका लागि किनारबाट ५० मिटर मापदण्ड तोकेको छ । ३० मिटर मापदण्ड तोकेको पोखरा महानगरले त्यसलाई लागु गर्न सकेको छैन ।
महानगर क्षेत्रमा सेती किनारमै ठूला ठूला बस्ती छन् । कतै दुई मिटर त कतै दुई सय मिटर फराकिलो भई बग्ने सेतीका खोंचमाथि नै बहुतले भवन छन् । पोखरा महानगर अब सबै प्राकृतिक सम्पदाको अतिक्रमण हटाउँदै मापदण्ड कडाइका साथ कार्यान्वयन गर्ने तयारीमा रहेको नगर प्रमुख धनराज आचार्यले बताए । उनी भन्छन्, ‘अहिले हामी पोखरा बसपार्क निर्माणमा केन्द्रित छौं, विस्तारै सबै प्राकृतिक सम्पदा, नदीनालालाई अतिक्रमण मुक्त बनाउँदै सुरक्षित र सभ्य सहर बनाउन अघि बढ्छौं ।’
आधा दर्जन जलविद्युत आयोजना, किनारमा दर्जन जति बस्ती र ठाउँ ठाउँमा नदीजन्य पदार्थ उत्खनन् भइरहेको सेती नदीको जोखिम व्यवस्थापनमा तीन तहकै सरकारको एकीकृत प्रयास जरुरी छ ।
यो आलेख प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेशले सञ्चालन गरेको लेखनवृत्तिका लागि तयार गरिएको हो ।




