राज्य छ भनिन्छ एकातिर
जागीर खाएका भेडाहरुको प्रशासन छ अर्कोतिर
प्रत्येक निर्वाचनमा
गाऊँ गाऊँमा चुनाव प्रचारमा हिंडेका देखिन्छन्
बुख्याचा जस्ता नक्कली मानिसहरु
वाचा गर्छन्, नाच्छन्, उफ्रन्छन् र म्वाँइ खान्छन् गालाहरुमा
तर बिर्सन्छन् सेतीको खाँेचबाट चिच्याइरहेका
नमिता र सुनिताका आवाजहरु
कस्तो चुस्त, दुरुस्त प्रशासन र अमनचैन ?
तर सुन्दैनन् उखुबारीबाट आइरहेको
निर्मला पन्तका चित्कारहरु ?
कस्तो जिम्मेवार सरकार र सुखी नेपाली ?
मौन मैनबत्ती जलाउँछन् प्रत्येक घटनामा
मलिन अनुहार देखाउछन् र निकाल्छन् वक्तव्यहरु
कस्ता झुठा कर्मकाण्डी अधिकारवादीहरु ?
संझन्छु एकैसाथ यतिखेर
नमिता सुनिताहरु‚ कमला पन्त अनि इनिसा विक
म धिक्कारौं आफैँलाई कि(
प्रशासन तिमीले खाएको जागीरलाई ?
कि सरकार तिम्रो नालायकी वा नकच्चरोपनालाई ?
कि भोट माग्ने निहुँमा हरेक निर्वाचनमा
घर दैलो चाहर्ने छेपारा जस्ता उम्मेदवार
वा जनप्रतिनिधि भनिने बहुरुपीलाई ?
म मरेकी छैन
म नमिता(सुनिता
म निर्मला पन्त
म इनिसा विक
म न्यायको चित्कार
यो देशकी छोरी
प्रहरी प्रमुखज्यू, कतै चित्कार सुनिएको छैन ?
गृहमन्त्रीज्यू कतै व्यभिचार देखिएको छैन ?
सांसदज्यू कतै रगतका टाटाहरु देखिएका छैनन् ?
कि हेर्नुहुन्छ एक पटक ऐनामा
कस्तो देख्नुहुन्छ आफ्नो अनुहार ?




