जिल्ला प्रशासन कार्यालय कास्कीले असोज १७ गतेदेखि २० गतेसम्म कास्कीबाट हुने कुनै पनि पदयात्रामा ननिस्किन आग्रह गरेको छ । बिहीबार साँझ सूचना जारी गरी प्रशासनले शुक्रबारदेखि सोमबारसम्म उच्च हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना भएकाले अन्नपूर्ण हिमाल, मर्दी हिमाल लगायतका कुनै पनि स्थानमा पदयात्रामा नकिस्कन आग्रह गरेको हो ।
देशका विभिन्न स्थानमा अत्यधिक वर्षा, बाढी, पहिरो र डुबानको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार उक्त अवधिमा विशेष गरी गण्डकी प्रदेशका स्थानहरूमा ठूलो वर्षा हुने भएकाले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा घरबाहिर अनावश्यक आवतजावत नगर्न, सम्भावित जोखिमयुक्त स्थानमा नजान, नदी तथा खोला किनारबाट टाढा रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ । साथै, आकस्मिक अवस्थामा उद्धार र सहयोगका लागि गृह मन्त्रालय, जिल्ला प्रशासन, सुरक्षाकर्मी तथा सम्बन्धित निकायसँग तत्काल सम्पर्क गर्न भनिएको छ ।
जिल्ला प्रशासनले सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बस्न र वर्षा अवधिभर उच्च सतर्कता अपनाउन अपील गरेको छ । सो अवधिमा अत्यन्त जरुरी काम नभई घरबाट टाढा नजान र रातको समयमा यात्रा नगर्न आग्रह गरिएको छ । प्रशासनले जोखिमयुक्त स्थानका बासिन्दालाई थप सहज रहन भनेको छ । सूचनामा भनिएको छ, “जोखिमयुक्त क्षेत्रका बासिन्दाहरुले आपतकालीन अवस्थामा उपयोग गर्नका लागि आवश्यक पर्ने सामग्री, औषधी, महत्वपूर्ण कागजात तथा धनमालसहितको झटपट झोला तयार गरी राख्नुहुन ।”
सम्भावित विपतलाई मध्यनजर गर्दै सरकारी र निजी क्षेत्रका हेभी एक्युप्मेन्टहरुलाई तयारी अवस्थामा राख्नसमेत प्रशासनले निर्देशन दिएको छ । ग्रामीण क्षेत्रमा चल्ने सवारीहरुलाई १७ गतेदेखि अर्काे व्यवस्था नभएसम्मका लागि ४ बजे प्रस्थानविन्दुबाट छुटिसक्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ ।




