नेकपा एकीकृत समाजवादीका शीर्ष नेताबिच विवाद भएको छ । एकीकृत समाजवादीका नेता झलनाथ खनालले एमालेसँगको विद्रोह पुष्टि नभएको बताएपछि अध्यक्ष माधव नेपालले पार्टी छाड्न सुझाव दिएका छन् ।
खनालले पार्टी नीति विपरीत बोलेको भन्दै नेपालले पार्टी छोड्न भनेको प्रश्नमा खनालले नेपालले राजीनामा दिनुपर्ने बताए ।
खनालले पार्टीभित्रका विभिन्न विषयमा असन्तुष्टि जनाउँदै पार्टी नेतृत्वको कार्यशैलीप्रति प्रश्न उठाए ।
पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमालेमा आफूहरूले गरेको विद्रोह पुष्टि हुन नसकेको टिप्पणी गरे लगत्तै अध्यक्ष माधवकुमार नेपालले उनलाई पार्टी छोड्न सुझाव दिएका हुन् ।
खनालले इमेज टेलिभिजनका पत्रकार जगदीश खरेलसँगको अन्तर्वार्तामा एमालेसँग गरेको विद्रोहको औचित्य पुष्टि हुन नसकेको आफूलाई अनुभूति भएको बताएका थिए । शुक्रबार विराटनगरमा सञ्चारकर्मीले यसबारे सोधेको प्रश्नको जवाफमा अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
नेपालको प्रतिक्रियापछि नेता खनालले अध्यक्ष नेपाल यति अक्षम भएर पदमा बसिरहन नहुने टिप्पणी गरेका छन् । ‘यति असक्षम भएर नेतृत्वमा बस्नुभन्दा उहाँले राजीनामा गर्नु सबभन्दा राम्रो हुन्छ । मैले पार्टी छाड्ने होइन, उहाँले चाहिँ छोड्नुपर्छ । अरू कसैले पनि छोड्दैन’, खनालले भने ।
एमालेबाट विभाजन भई बनेको एकीकृत समाजवादी गएको चुनावमा राष्ट्रिय दल बन्ने सकेन भने धेरै नेता, कार्यकर्ता एमालेमै फर्किइसकेका छन् ।




