लमजुङबाट पोखरातर्फ जाँदै गरेको यात्रुवाहक बस कास्की जिल्लाको रुपा गाउँपालिका–१ पार्चेमा दुर्घटनामा परेको छ, जसमा १८ जना यात्रु घाइते भएका छन्। तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।
ग १ ख ४१०१ नम्बरको उक्त बस शुक्रबार दिउँसो अनियन्त्रित भई सडकमा पल्टिएको हो। ईलाका प्रहरी कार्यालय भोर्लेटारका अनुसार बसको ब्रेकमा समस्या आएपछि उक्त दुर्घटना भएको हो। दुर्घटनापछि घटनास्थलमा पुगेको प्रहरी टोलीले घाइतेहरुको उद्धार गरी पोखरास्थित पश्चिम क्षेत्रीय अस्पतालमा उपचारका लागि पठाएको हो।
प्रहरी निरीक्षक याम अर्यालले घाइतेहरूलाई तत्काल उद्धार गरी अस्पताल पुर्याइएको बताए। दुर्घटनाग्रस्त बसका चालक सन्तोष लामा, ३४ वर्ष, लमजुङको रामबजार, मध्येनेपाल–७ का बासिन्दा पनि घाइते भएका छन् र हाल प्रहरी नियन्त्रणमा रहेका छन्।
घाइते भएका यात्रुहरूमा राधिका घिमिरे (६२), मेनुकादेवी घिमिरे (८२), शोमा थापा (५९), लक्ष्मीकुमारी गुरुङ (५४), सरस्वती केसी (४५), जमुनादेवी घिमिरे (८३), सरिता घिमिरे (४२), सावित्रा घिमिरे (५६), रिता घिमिरे (४२), पार्वती घिमिरे (४१), सिजा थापा (४८), चन्द्रबहादुर केसी (७५), नेत्रबहादुर केसी (७१), लिला केसी (३०), शान्ति केसी (३७), हरीकृष्ण घिमिरे (६३), कमलादेवी घिमिरे (४८), र मैया कुँवर (५५) रहेका छन्।




