युवा सङ्घमा क्षितिज थेबेको प्यानलै निर्वाचित

नेकपा (एमाले)को भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ अध्यक्षमा क्षितिज थेबे निर्वाचित हुनुभएको छ । १० औं महाधिवेशनबाट प्रतिद्वन्द्वी सुमन पुरीलाई एक सय १८८ मतले पराजित गरी थेबे दोस्रो कार्यकालका लागि चुनिनुभएको हो ।

थेबेले सात सय ९६ मत पाउँदा पुरीले छ सय आठ मत पाउनुभएको छ । पुरी निवर्तमान महासचिव हुनुहुन्छ । सङ्घको उपाध्यक्ष (खुला)मा महाराज गुरुङ (८९५मत) र विनय शाह (७७३ मत)चुनिँदा महासचिवमा महेश चौलागाईं निर्वाचित हुनुभयो । महासचिवमा प्रतिद्वन्द्वी कुबेर अधिकारी (६४९मत) लाई हराउँदै चौलागाईं सात सय ५५ मतसहित निर्वाचित हुनुभएको हो ।

उपमहासचिवमा उपेन्द्र शाही, खुला सचिवमा मदन भण्डारी र अरुणबहादुर कुँवर, मधेसी सचिव (मधेशी)मा मोबिन अख्तर आलम र सचिव (महिला)मा निशा लिम्बु सुब्बा निर्वाचित हुनुभएको छ ।

सङ्घको अनुशासन आयोग अध्यक्षमा महमद निजामुदिन, निर्वाचन आयोग अध्यक्षमा मदन गिरी र लेखा आयोग अध्यक्षमा कृष्णदत्त जैसी निर्वाचित हुनुभएको छ ।

निर्वाचनमा एक हजार सात सय ६४ मतमध्ये एक हजार चार सय चार मत खसेको थियो । सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि मङ्गलबार बिहानदेखि विद्युतीय मतदान भएकोमा साँझ परिणाम सार्वजनिक भएको हो । सङ्घको महाधिवेशन शुक्रबार प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।