कविताः तिमीसँग छुटेदेखि

ठेस लाग्यो धेरै पटक
नभएपछि त सुनिदिने कोही
नफुत्किने रहेछ मुखबाट ऐया ..! पनि

बनाउन सिकाए फलामजस्तो मुटु
बाटा भरिका घन र हथौडाजस्ता सम्बन्धले
पटकपटक बजाइरहे प्रेसरकुकरको सिठ्ठी मलाई गलाउन
तर दह्रो बनाउन खोज्दाखोज्दै मनका खुट्टा
कति पटक चिप्लिए तिमीलाई सुनाउनै पाइनँ ।

आफैँभित्र गुडिरहें म
जमिनभित्र गुड्ने मेट्रो जसरी
जानेर -नजानेर
रहरले- कहरले
मैले धेरैपटक नाघिदिएँ संस्कारका लक्ष्मणरेखा
मेरा भोगाइका असंख्य पूर्णाङ्कहरू
सुनाउनै पाइनँ सुस्केरांश तिमीलाई

आकाशबेलीझैँ लहरो बनेर जेलिन आउनेले
हर्लक्कै सपारेर ल्याए समस्याका मुनाहरू
फिँजाइदिए खुर्सानीको धुवाँ
मेरै आँखाका बाटाहरूमा
कसलाई सुनाउँ झिरको जिन्दगी
बस ! थालेँ म हिँड्न मौनता बोकेर

आफ्नै आफ्नाहरूले बनाइदिए
चुकुल बिग्रेको ढोकाजस्तो
स्वीकार्न नसक्दा नसक्दै पनि
बाध्य भएँ म कृतज्ञ हुन
मेरा भोगाइका गोप्य कोडहरू
पाइनँ तिमीलाई देखाउन

पदवियोग भइरह्यो मेरो मन मेराहरूसँग
मनको देउरालीमा चढाउन पाइनँ
खुसीका फूलपातीहरू
कुनै दिन पनि आएनन् महोत्सव बनेर
साँच्चै ! मैले हाँस्नै बिर्सेकी छु तिमीसँग छुटेदेखि

उमार्न खोजेँ असल सम्बन्धको बीउ
उम्रियो सधैं सिस्नो र सिउँडी मात्रै
म कसैको बन्न सकिनँ
त्यसैले निकाल्न छोडिदिएँ अब सम्बन्धको तथ्याङ्क

बिर्सेर सङ्कलित दु:खका उपकरणहरू
फेरिपनि बदल्नु छ जिन्दगीको पद्धति
थप्नु छ खुसीको परिशिष्ट
किनकि जिन्दगीको पयो मेरोवशमा छैन ।