रवि र छविमाथि ३ अभियोगमा अनुसन्धान जारी

पूर्वगृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछाने र पूर्व प्रहरी नायब महानिरीक्षक छविलाल जोशीमाथि तीन कसुरमा एकसाथ अनुसन्धान जारी छ । गोरखा मिडिया प्रालिका पूर्वप्रबन्ध निर्देशक लामिछाने र पूर्वउपाध्यक्ष जोशीविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरणमा कास्कीमा अनुसन्धान गर्दै छ ।

सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा कात्तिक २ गते काठमाडौैंबाट पक्राउ पर्नुभएका लामिछाने र असोज ६ गते पक्राउ पर्नुभएका जोशीलाई बिहीबार कास्की जिल्ला अदालतले थप सात दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको थियो । लामिछाने र जोशी आवद्ध गोरखा मिडियामा पोखरामा रहेको सूर्यदर्शन सहकारीबाट अवैधानिक रुपमा पाँच करोड ५८ लाख रकम गएको देखिएको छ ।

सूर्यदर्शन सहकारी प्रकरणका अनुसन्धान अधिकारी वसन्तकुमार शर्माले तीन अभियागमा अनुसन्धान जारी रहेको उल्लेख गर्नुभयो । “सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा अनुसन्धान भइरहेकोमा अदालतले बिहीबार सम्पत्ति शुद्धिकरणमा पनि अनुसन्धान गर्न अनुमति दिएको छ,” शर्माले भन्नुभयो, “अनुसन्धान सकिएर अभियोगपत्र पेश नहुञ्जेल बयान र अनुसन्धान जारी रहन्छ ।”

सहकारीसम्बन्धी संसदीय छानबिन समितिले देशैभर सहकारी खोली गीतेन्द्रबाबु(जिबी) राईको समूहले योजनावद्ध ठगी गरेको औंल्याएको छ । समितिको प्रतिवेदनमा लेखिएको छ, “निष्क्रियजस्तै रहेको सहकारीमा पस्ने र त्यसबाट विभिन्न प्रलोभनमा पारेर सर्वसाधारणबाट बचत सङ्कल गरी ठगी गर्ने उक्त समूह योजनावद्ध रुपमा लागेको देखिन्छ ।”

जिबी अध्यक्ष, लामिछाने प्रबन्ध निर्देशक र जोशी उपाध्यक्ष रहेको गोरखा मिडिया प्रालिबाट रविले दुई वर्षमै दुई वर्षमा एक करोड चार लाख पारिश्रमिक लिएको देखिन्छ । अनुसन्धानका क्रममा सूर्यदर्शन सहकारीबाट लामिछानेले एक करोड रुपैयाँ लिएर गोर्खा मिडियाको नाममा ऋण मिलान गरेको वित्तीय प्रतिवेदनमा उल्लेख छ ।

जिल्ला सरकारी वकिल कार्यालय कास्की र कास्की प्रहरीले अनुसन्धानका लागि थप २५ दिन म्याद थप गर्न अनुमति मागे पनि अदालतले एक हप्ता म्याद दिएको छ । सम्पत्ति शुद्धिकरणमा अनुसन्धानका लागि बैङ्कको स्टेटमेन्ट, सम्पत्ति विवरण, सरकारलाई कर तिरेको विवरण लगायतका कागजात चाहिने भएकाले अनुसन्धानले समय लिने देखिन्छ ।

पटक पटक गरी सूर्यदर्शन सहकारी प्रकरणमा ४४ जनालाई पक्राउ पुर्जी जारी गरिएकोमा शुक्रबार मात्र थप १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । यो मुद्दामा छ जना पुर्पक्षका लागि थुनामा छन् ।

यसैबीच, रुपन्देहीको बुटबलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारी ठगी अभियोगमा लामिछाने, जोशीसहित १२ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । २०५७ मा स्थापना भएको मैत्रेय बचत तथा ऋण सहकारीपछि नाम परिवर्तन गरी सुप्रिम बनाइएको थियो । २०७२ मा जिबी राईको समूहको प्रवेशपछि नाम परिवर्तन गरी जिबी अध्यक्ष र दीपेशकुमार पुन कोषाध्यक्ष बनेको संसदीय समितिले औंल्याएको छ ।

सहकारीबारे अनुसन्धान जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लगातार प्रदर्शन गरेपछि बचतकर्ता र सरोकारले चिन्ता जनाएका छन् । पीडित पक्षका कानुन व्यवसायी बिबी विष्ट सूर्यदर्शनसहितका सहकारीमा वैधानिक तवरले पैसा उठाएर अवैधानिक तवरले खर्च भएको उल्लेख गर्नुहुन्छ ।

“यो समूहले वैधानिक तवरले पैसा उठाएर अवैधानिक तवरले खर्च र ठगी गरेको देखिन्छ,” विष्ट भन्नुुहुन्छ, “अदालतमा मुद्दा विचाराधीन रहेका बेला राष्ट्रिय राजनीतिक दलले गरको प्रदर्शनले कानुनी राज्यको खिल्ली उडाएको छ ।” सूर्यदर्शनमा एक अर्ब ३५ करोड अपचलन भएको देखिएको छ । सहकारीपीडित सङ्घर्ष समिति संयोजक किरण श्रेष्ठ सर्वसाधारणको अर्बाै हिनामिना गर्नेहरुमाथि अनुसन्धान नगर्न माग गर्दै आन्दोलन हुनु दुखद् भएको उल्लेख गर्नुहुन्छ । “हाम्रो आन्दोलन न्याय र बचत फिर्ताका लागि हो, हामी कुनै दल वा व्यक्तिको विरुद्धमा छैनौँ,” श्रेष्ठले भन्नुभयो ।