पोखराको क्षेत्रीय अस्पतालमा क्यान्सरको उपचार हुने

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा क्यान्सरको उपचार हुने भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको यो अस्पतालमा विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको विस्तारित सेवा सुरु भएको हो ।

यससम्बन्धी सम्झौतापत्रमा क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा शिवजी कोइराला र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक प्राडा भरतबहादुर खत्रीले मंगलबार हस्ताक्षर गरेका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्राडा खत्रीले क्यान्सरका केही उपचार पहिल्यै भइरहेको जनाउँदै केमोथेराप, रेडियोथेरापी जस्ता सुविधान नहुँदा कठिनाइ परेको सुनाए । प्राडा खत्रीले क्षेत्रीय अस्पतालमा हृदयघातका बिरामीको उपचार सुरु भइसकेको जनाउँदै मष्तिष्कघातको उपचार पनि यही गर्ने योजना सुनाए ।

समझदारीअनुसार क्यान्सर अस्पतालले पोखरा आउने जनशक्तिलाई यातायात, खाजा लगायत खर्चको बजेट व्यवस्था गर्दै आफ्नो सेवा प्रभावित नहुने गरी सेवा सञ्चालन गर्नुपर्ने छ । विस्तारित सेवामा बहिरङ्ग, अन्तरङ्ग एवम् उपचारसमेत समेटी कम्तीमा महिनाको एक पटक सेवा प्रदान गर्नुपर्ने छ ।

क्षेत्रीय अस्पतालले क्यान्सर रोगको विस्तारित सेवा सञ्चालन गर्न आवश्यक वातावरण बनाउने, विस्तारित सेवाबारे सूचना, कार्यतालिका र विवरण जानकारी गराउने सम्झौता छ । यस्तै, उपचारका लागि उपलब्ध पूर्वाधार औजार, उपकरण र जनशक्ति परिचालन गरी क्यान्सर अस्पतालका जनशक्तिलाई पूर्ण सहयोग गर्ने सम्झौता भएको छ । यो समझदारी २०८२ असार मसान्तसम्म लागू हुनेछ ।

कार्यक्रममा स्वास्थ्य मन्त्री प्रदीप पौडेलले अबको सय दिनमा क्षेत्रीय अस्पतालमा १५ बेड आइसियु र पोस्ट अपरेसन कक्षसमेत थप्ने वाचा गरे । उनले स्रोत खोजेर स्वास्थ्य बिमाको सीमा पाँच लाख पु¥याउनैपर्नेमा तर्क गरे ।
“एकद्वार प्रणालीबाट काम गरौँ । बिमाको सिलिङ पाँच लाख कायम गरौँ । ज्येष्ठ नागरिकलाई एक महिनाको सामाजिक सुरक्षा भत्ता कोषमा दिने प्रावधान ल्याऔँ । सबै सरकार र संस्थागत रुपमा जागिर गर्नेहरुले तलवको दुई प्रतिशत बिमा कोषमा जम्मा गर्ने नीति लिन सकिन्छ,” मन्त्री पौडेलले भने ।

२०४८ सालपछि सरकारी अस्पतालहरुमा दरबन्दी थप नभएको स्वीकार्दै उहाँले नागरिकको स्वास्थ्यका लागि सरकारले जनशक्ति, उपकरण र व्यवस्थापनमा ध्यान दिनैपर्ने विचार राखे । ठूला सरकारी अस्पतालले यथासम्भव सबै सेवा दिनुपर्ने उनको भनाइ छ ।

“अरुले हामीलाई रिफर गरुन्, तर यहाँबाट अन्यत्र निजीमा रिफर गर्ने अवस्था बन्नुहुन्न,” मन्त्री पौडेलले भने । गएको वर्ष क्षेत्रीय अस्पतालले बर्हिरङ्गमा चार लाखभन्दा बढी बिरामीलाई सेवा दिएको छ भने १० हजार बिरामीको शल्यक्रिया भएको छ ।

भरतपुरको क्यान्सर अस्पताल देशकै मुख्य क्यान्सर अस्पताल हो । यहाँ भर्ना भई उपचाररत सबै बिरामीलाई सित्तैमा खानाको सुविधा छ भने सबै जनरल बेड निशुल्क छन् । अति विपन्न बिरामीलाई शल्यक्रियामा सहुलियत दिने गरिएको छ भने विपन्न नागरिक औषधी उपचार र स्वास्थ्य बिमा पूर्ण रुपमा लागू गरिएको छ ।