मंसिर १६ गते ४१ ठाउँमा उपनिर्वाचन

सरकारले स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मंसिर १६ गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।

यसअघि आइतबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी मंसिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न सुझाव दिएका थिए ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले मंसिर १६ गतेका लागि उपनिर्वाचनको मिति तय गरेसँगै निर्वाचन आयोग उपनिर्वाचनमा जुटेको हो ।

आयोगले दिएको सुझावका आधारमा सरकारले मंसिर १६ गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो । नगर प्रमुखदेखि वडाध्यक्षसम्म गरी देशभर ४१ स्थानीय तहमा जनप्रतिनिधि रिक्त छन् ।

हालै दुर्घटनामा परी रुकुम पूर्वको पृथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढा र सोही गाउँपालिकाको वडा नम्बर २ का अध्यक्ष जसबहादुर श्रीपालीको सवारी दुर्घटनामा निधन भएको थियो । प्रमुख आयुक्त थपलियाले निर्वाचनको अन्तिम मतदाता नामावली प्रकाशन गर्ने दिनसम्म जुन–जुन ठाउँमा खाली रहन्छ त्यो ठाउँमा उपनिर्वाचन गर्ने आयोगको तयारी रहेको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले गृहमन्त्री रमेश लेखकलाई उपनिर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था गर्न निर्देशन समेत दिए ।

यस्तै बैठकमा सहभागी अर्थमन्त्री विष्णु पौडेललाई आवश्यक बजेट व्यवस्था गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले निर्वाचन आयोगलाई भोलिदेखि नै निर्वाचनको तयारीमा जुट्न आग्रह गर्दै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा उपनिर्वाचन हुने बताए ।

हाल नगरप्रमुख १, उपप्रमुख १, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४, वडा अध्यक्ष ३१ र जिल्ला समन्वय समितिका प्रमुख २ गरी ४१ जनप्रतिनिधि रिक्त छन्।