पलेसालाई पोखरा महानगर र गण्डकी सरकारको नगदसहित सम्मान

पेरिस प्यारालिम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेसा गोवर्धनलाई पोखरा महानगरपालिका र गण्डकी सरकारले नगदसहित सम्मान गरेका छन् ।

पेरिस ओलम्पिकमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउन सफल खेलाडी गोवर्धनलाई नगर प्रमुख धनराज आचार्यले आइतबार नगद २ लाख २२ हजार २२२ सहित सम्मान पत्रले सम्मान गरे ।

पोखरा रङ्गशालामा प्रदेश तेक्वान्दो संघ गण्डकीले आयोजना गरेको कार्यक्रममा गण्डकी सरकारले उनलाई एक लाख ५० हजारसहित सम्मान गरेको छ । गण्डकीमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पलेशालाई सम्मान गरेका हुन् । उनले पलेशालाई मासिक भत्तासमेत उपलब्ध गराउने घोषणा गरे ।

उनलाई जिल्ला तेक्वान्दो संघ कास्कीले ५० हजार १५५ रुपैयाँ र प्रदेश तेक्वान्दो संघले सम्मानपत्र प्रदान गरेका छन् ।

पोखरा महानगरका प्रमुख धनराज आचार्यले नेपाली खेलकुदको क्षेत्रमा नेपालकी छोरी पलेसाले प्राप्त गरेको सफलताले खेल जगत मै उत्साहको नयाँ सञ्चार गरेको जनाए । नगर प्रमुख आचार्यले भने, यो सफलता नेपाल र नेपालीका लागि गर्वको विषय हो। म विश्वास व्यक्त गर्न चाहन्छु, कि ओलम्पिक यात्रामा नेपाली खेलाडीहरूको सफलता अव यसै गरी दर्ज हुँदै जानेछ ।’ भविष्यमा हुने कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालका खेलाडीहरूको प्रेरणाको स्रोतको रूपमा गोवर्धनको सफलता महत्त्वपूर्ण हुने उनले उल्लेख गरे ।

समारोहमा पलेसाका प्रशिक्षक कविराज नेगी लामा र म्यानेजर रामचन्द्र श्रेष्ठलाई समेत सम्मान गरिएको छ। महानगरले यसअघि पोखरामा सम्पन्न नवौँ संस्करणको राष्ट्रिय खेलकुदमा सहभागी भई पदक जित्ने १९२ जना नगरवासी खेलाडीहरू, ३६ जना टिम म्यानेजर र ४० जना प्रशिक्षकहरूलाई समेत नगद सहित सम्मान गनिसकेको छ ।

नेपालको पर्यटन राजधानी पोखरा खेलकुदको पनि राजधानी सहर भएको उनले जनाए । पोखरा सबै मौसममा हरेक खेल गतिविधिहरू सञ्चालन गर्न सकिने सहरका रूपमा उपयुक्त रहेको बताउँदै उनले यहाँ सञ्चालन हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा महानगरपालिकाले सहकार्य गर्दै आएको सुनाए ।

नेपाललाई पारा ओलम्पिकमा ऐतिहासिक पदक दिलाएकी गोवर्द्धनले तेक्वान्दोको ५७ केजीभन्दा कम तौलको प्रतिस्पर्धामा सर्वियाली खेलाडीलाई पराजित गरी कांस्य पदक जितेकी थिइन् । पलेसा ओलम्पिक प्रतिस्पर्धामा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् । २०२१ को एसिया यूथ पारा गेम्समा स्वर्ण जितेकी पलेसा २०१० देखि तेक्वान्दो खेल्न थालेकी थिइन्।

खेलाडी पलेशाले हिम्मत हार्न नहुने र कडा परिश्रम र समय व्यवस्थापनले सफलता दिलाउने जनाइन् । उनले भनिन्, ‘म सुपर हिरो होइन, म सफलमात्रै भएको पनि होइन । असफलता र सफलताको जननी हो नि । कहिल्यै गीभ अप गर्नुहुँदैन ।’