सम्बोधिका

पोखरेली युवा सांस्कृतिक परिवारले प्रकाशन ( २०८०)गरेको `सम्बोधिका´ साहित्यको क्षेत्रमा बहुमुखी प्रतिभावान् साहित्यकार डा. ईश्वरमणि अधिकारीद्वारा लेखिएको विविध विषयको रसबरीयुक्त मुक्तक सङ्ग्रह हो । वर्तमान समयमा प्रचलित संरचनालाई अङ्गालिएका काव्यिक सौन्दर्यले भरिपूर्ण यस सङ्ग्रहमा खारिएका ,माझिएका र दर्शनको लेप लगाएका मुक्तकहरू रहेका छन् । जून पढ्दा पाठकले अधिकारीको जीवन र जगतप्रतिको दृष्टिकोण बोध गर्नुका साथै सामाजिक अवस्थालाई ऎना हेरे जस्तो प्रष्ट देख्न सक्छन् । उनी पहिलो मुक्तकमा भन्छन् –
पद र पहुँच रहुन्जेल मान सम्मान हुन्छ
चर्चा,प्रतिष्ठा ,पुरस्कार र मङ्गलगान हुन्छ
जिन्दगीबाट यी सब घटाउनुस् महोदय
अब जति बच्छ,त्यही नै पहिचान हुन्छ ।( पृ.११)

साहित्यको साथसाथै राजनैतिक चेत भएका अधिकारी राज्य व्यवस्था भद्रगोल भएको देखेर मानवीय अस्तित्वको खोजीमा चिन्तित देखिन्छन् । राज्यको नीति नियम र कानुन एकातिर र न्यायको तराजु अर्कोतिर झुकेको देखेर मुक्तकमा शाब्दिक प्रहार गर्छन् ।
कंस नै कृष्णको अभिनय गर्छ
स्वार्थको पासोमा इमान मर्छ
हुन त हुन्छ ,अनुसन्धान पनि
दोषी छुट्छ,निर्दोष पक्राउ पर्छ। ( पृ .१९)

मुक्तककार यथार्थताको धरातलमा उभिएर आफूले भोगिरहेको जीवन ,समाज र परिवेशलाई नियाल्छ्न् । युवापुस्ताको विदेश भासिनुपर्ने वाध्यता ,वृद्धहरूले कुरेको गाउँको अवस्था र आफूले जीवन चलाउन सहरको रहर गरेको हालको समयलाई छर्लङ्ग देखाउँदै मानवीय संवेदनालाई यसरी व्यक्त गर्छन् ।
जिन्दगी सुस्त चल्दैछ,म जहिले नि हतारमा छु
मन गाउँमा छ,सन्तान परदेश,म बजारमा छु
दुख्दिनँ त भन्छु र पनि दुखिरहन्छु बेलाबेला
न गाउँ फर्किन सक्छु,न परदेश,म मझधारमा छु । ( पृ .२१)

अधिकारीका मुक्तकलाई नियाल्दा धेरै ठाउँमा मानवीय मन दुखेको,समाज दुखेको,देश दुखेको देखिन्छ । दुख्दादुख्दै उनी प्रेममा पनि फुलेका ,झुलेका अनि दुखेका देखिन्छन् । प्रितका रात,बात,मात र घात उनका मुक्तकमा भेटिन्छन् ।
उषा लग्यौ,दिन लग्यौ,रात मात्रै बाँकी छ
फूल लग्यौ,बास्ना लग्यौ,पात मात्रै बाँकी छ
नभेट्नू यात्रामा ,नआउनु भो सपनामा
रित्तो छु,फगत तिम्रो घात मात्रै बाँकी छ । ( पृ.३५)

विषयवस्तुको विविधता भएको यस मुक्तक सङ्ग्रहमा लेखक ईश्वरप्रति धेरै आस्तिक थोरै शङ्कालु र कतै कतै आफ्नै नामलाई पनि मुक्तकमा उतारेका छन् । मुक्तक आफैंमा गागरमा सागर अटाउने चोटिलो विधाका रुपमा चिनिन्छ। यस कृतिभित्र पनि त्यस्तै अनेकौं मुक्तकहरू रहेका छन् । काल्पनिकभन्दा यथार्थलाई अङ्गालेर आफू बाँचेको देश ,काल र परिवेश नियाल्नु , समाजमा देखिएका विकृतिलाई पेचिलो तरिकाले उतार्नु , मुक्तककारको विशेषता देखिन्छ। यस्ता कृतिहरूको जन्म भइरहोस् शुभकामना !