कथाः छुटेर जानेहरु भेट नै नभएको भए हुने !

ऊ रोएको देख्दा म पनि भावुक भएँ । ऊसँगै म पनि रोएँ, हामीसँगै रुन थाल्याँै । घन्टौ रोएपछि उठेर हिड्दा रात परिसकेको रहेछ ।

आभास र म बाल्यकालको साथी थियौँ । आभासको बुबा बाल्यकालमै बितेपछि मेरोभन्दा उसको बाल्यकाल अलि बढी संघर्षमा बितेको थियो । पढाइमा अब्बल भएर पनि घरायासी परिस्थितिले अठ्याउँदा उसले पढाइलाई निरन्तरता दिन सकेन । दश कक्षाको परीक्षा सकेपछि साथीहरु पढ्न सहर पस्दा आभास घरको व्यवहार मिलाउन मुग्लान पसेको थियो ।

सानै उमेरमा उसलाई परिस्थितिले पाको बनाइसकेको थियो । केही वर्ष मुग्लानमा पसिना बगाएपछि ऊ बिरामी प¥यो । हेरचाह र रेखदेख गर्ने कोही भएनन् । उसलाई सात समुद्रपारि आएकोमा ग्लानि भयो । जतासुकै अँध्यारो देख्यो, यो मरुभूमिमा कोही नभए जस्तो अनुभव ग¥यो र एउटा कठोर निर्णय लियो नेपाल फर्किने ।

ऊ नेपाल फर्केको पनि आज पाँच वर्ष पुगिसकेछ । विदेशबाट फर्के पछिको पहिलो भेट हो यो ऊसँगको । आजको दि नहामीसँगै बिताउँदै छौँ । कफीको चुस्कीसँगै हामी गफिएका छाँै । उसले आफ्नो विगत सुनाउँदै छ म कफीको गुलियोमा उसको तीतो विगत सुन्दै छु ।

नेपाल फर्केपछि के गर्ने झन् अन्योलको वातावरण बन्यो यार अग्रिम ।
उसले आपm्नो कहानी सुनाउन सुरु ग¥यो । घरको ऋण तिरिसकेको हुनाले अलि सहज भने भएको थियो । त्यस कारणले पनि होला नेपाल फर्केको केही महिनामा मैले फेरि पढ्ने चाहनालाई अगाडि बढाउने अठोट गरेँ ।

बिहानी सत्रमा पढाइ र दिउँसोमा सामान्य खर्च टार्न जागिर ! फेरि नेपालमा दैनिकी सुरु भयो । बुढी भएकी आमालाई औषधि र सहरमा बसेर पढ्न जेनतेन पुगेको नै थियो तर अचानक हृदयघातको कारण आमासमेत गुमाउनुप¥यो । खै भगवान पनि छन् भनौ या छैनन् भनौँ । जसलाई दुःखको पहाड छ, उसैलाई फेरि दुःख दिने यो भगवानको नियति पनि अनौठो छ ।

मसँग आफ्नो भाग्यलाई स्वीकार्नुबाहेक अरु केही विकल्प बाँकी रहेन यार अग्रिम । उसले आँसु खसाल्न सुरु गरिसकेको थियो ।

“आफ्नो आफन्त कोही नहुनु र आफुमाथि परेका ब्रजपातले म कयाँै रात एकान्तमा रोएँ । आफ्नो रोदन सुनिदिने कोही मान्छे भेटिनँ । मान्छे यतिसम्म स्वार्थी हुँदा रहेछन नजिकबाट नियाल्ने अवसर पाएँ ।”

ऊ मलिन मुद्रामा दुखेसो गर्दै गयो, म सुन्दै गएँ । “म पूरै एक्लो भएँ । घर परिवारको सदस्यमा ममात्र बाँकी रहेँ । छर छिमेक बलेको आगो ताप्ने रहेछन् । म त सेलाइसकेको खरानी जस्तो भएको थिएँ तर समय आएपछि सबै ठिक हुन्छ भन्ने कुरामा म विश्वस्त थिएँ । जिन्दगी त हजारौ माइलको यात्रा हो जिन्दगीको एउटा पाटोमा दुईचार माइल अगाडि वा पछाडि हँुदैमा आत्तिनु र मात्तिनु हुँदैन भन्ने कुरा मलाई राम्रोसँग थाहा थियो ।

सबै कुरा मनमै राखी सुरु भयो उही पुरानौ दैनिकी ! बिहान कलेज अनि दिउँसो जागिर । पढाइमा म औषतभन्दा केही राम्रो थिएँ । न घर छ न परिवार छ न सहयोगी, आफन्त छन्, मनमा पीरको चाङ छ तर मलाई बाहिरबाट चिन्नेहरुले सामान्य जस्तै ठान्थे । मनमा दुख र मुखमा सुखै सुख थियो ।”

म सुनिरहेको थिएँ । ऊ भन्दै गयो । “मेरा यस्तै बानी र बाहिरी आवरण हेरेर होला मसँग एक जना केटी साथी नजिकिएकी थिई । पातली, अग्ली, गहँु गोरी, मिलेका दाँत कस्ती राम्री ! जिन्दगीमा राम्रा चिजहरु जिन्दगी मिलाउन होइन, भुलाउन आउँछन् मलाई राम्रोसँग थाहा थियो । तर खै किन म ऊसँग नजिकिन थालेको थिएँ ।”

“हामी फोन, म्यासेजमा बोल्न थालेका थियौँ । कलेज जाँदासँगै फर्किँदा सँगै । कति मिठा कुरा ! उसको बालापनको राग अझै सकिएको थिएन । ऊ केटाकेटी जस्ती ! तर कति मीठो माया गर्न जानेकी के । मैले जिन्दगीका कुरा गर्दा ऊ सुन्थी । अनि ऊ आफ्ना कुरा सुनाउन तम्सिन्छे । साच्चै भगवानले मेरो दुःखमा महलम गाउन पठाएकी मान्छे । म कल्पना गर्थँे भगवानले मेरो परीक्षा लिए होलान् अनि म पास भएँ होला अनि उपहार स्वरुप उसलाई मसँग मेरो भेट गराए होलान् ।

आजकल दिन छोटा, रात छोटा, बाटाहरु पनि छोटा ! लामो के नै छ र ? हामी हिड्दा हिड्दै कहिले पामे कहिले मेथ्लाङ त कहिले सराङ्गकोट पुग्थ्यौँ । विस्तारै किस्ता किस्तामा मैले जिन्दगीका किस्साहरु सुनाउन थालँे । उसलाई सुरुमै अप्ठ्यारो नहोस् भनेर साना मसिना कुरा सुनाएँ । उ mअझै नजिक भई, अझै माया गर्न थालेकी थिई ।

वाह जिन्दगी ! मैले सबै कुरा बिर्सेर उसलाई जिन्दगीमा सजाइसकेको थिएँ । मात्र ऊ छ मेरो जिन्दगीमा अरु कोही छैन जस्तो लाग्न थालिसकेको थियो । तर मेरा पूरै कथाहरु सुनेपछि उसले के सोची खै ? ऊ केही टाढा हुन खोजे जस्तो गरी । मैले निकै सम्झाउन खोजँे तर सकिनँ । केही समयपछि कलेजको भेटमा उसले भनी–अरु सबै कुरामा म हजुरलाई सहयोग गर्न तयार छु तर बिवाह गर्न सक्दिनँ ।

यति भनेपछि ऊ पछाडि फर्केर गई । भगवानसँग मागेका केही कुरा पूरा नभएपछि मैले उसलाई भगवानसँग मागेको थिइनँ तर यो पनि पूरा भएन । डाँडाको मेलपोखरीको चौतारामा गएर टोलाएँ अनि मज्जाले रोए । सबै कुरा गुमाउँदै गएको मान्छेले फेरि एउटा कुरा बढी गुमाएँ । भावीले लेखेको लेखा नभोगी कहाँँ सुख रैछ र ! घन्टौ सोचेपछि एउटा निचोड निकालँे मैले सहन सक्नु पर्छ । सहन सक्नेहरुले नै संसार जितेका छन् ।

त्यही दिन बेलुका जब घरमा गएर उसको टिकटक एकाउन्ट खोलँे उसले रमाउँदै टिकटक बनाएकी रहिछ । ती टिकटक मैले पनि हेरेँ र रमाएँ । उसलाइ म गुमाउनुको कुनै पीडा नभएको र खुसि भएको प्रष्ट देख्न सकिन्थ्यो । अनि मैले सोचेँ उसको खुसीको लागि जे गर्न पनि तयार छु भनेको हैन ? मैले आफ्नै मनलाई प्रश्न सोधँे । अनि ऊ खुसी छँदा किन डाहा गर्छस् त ? ऊ जहाँ भए पनि उसको खुसीमा तँ पनि खुसी भइन ! मैले आफ्नै मनलाई सम्झाएँ ।

त्यो रात छटपटीमै बित्यो । निदाउनै सकिनँ । भने जस्तो कहाँ पो हुन्छ र ? केही दिन पीडाको भारीले पूरै थिच्यो । केही समयपछि निकै कोशिस गरेर एकोहोरो पागल प्रेमबाट केही छुटकारा लिएँ । उसले केही समयमा बिहे गरी म भने फेरि केही गर्छु भनेर पढ्न कस्सिएँ । मैले धेरैलाई देखाउन पर्छ । म केही गर्नै पर्छ भनेर कम्मर कसँे । अहिले एउटा प्राइभेट बैङ्कमा म्यानेजर भएको छु हेराँै यार जिन्दगीले अझै कति मीडा दिने रहेछ ।

ऊ फेरि रोयो ऊ रोएको देख्दा म पनि भावुक भएँ । ऊसँगै म पनि रोएँ, हामीसगै रुन थाल्याँै । घन्टौ रोएपछि उठेर हिड्दा रात परिसकेको रहेछ ।