कथा : घाती

भो नाम नलिऊँ । मात्र उसलाई ‘उ’ भनौँ ।

उ मेरो दामली । अति मिल्ने नभए पनि ठिकै ठिकै मिल्ने साथी । तर साथी भनेर के गर्नु उसलाई पर्दा म काम लाउनु पर्ने, मेरो लागि महाघाती । यस्तो लाग्छ, कसैलाई घात कसले बढी गर्न सक्छ ? भनेर प्रतियोगिता राखियो भनेपनि निसन्देह उसले जित्छ । निर्विवाद रुपमा उसले प्रथम पुरस्कार पाउँछ ।

यस्तो खाले मान्छे हो, ‘ऊ’ ।

हुन त हरेक मान्छे पूर्ण हुँदैन । सम्पूर्ण पनि हुँदैन । केही न केही अवगुण स्वभाविक रुपमा
हुन्छन् । गल्ती कमजोरी पनि हुन्छन् । ममा पनि त्यस्ता थुप्रै अवगुणहरु होलान् । मैले जिवनमा थुप्रै गल्तिहरु गरेको हुम्ला । तर गुण र अवगुणको तारतम्य मिलाएर जिवन चलाउनु पर्छ चेतनाको संरचना बनाउनु पर्छ । जानी जानी गरेका गल्तिले कसैको व्यक्तिगत जीवनमा र आत्मसम्मान्मा ठेस पुग्नु हुँदैन । तबमात्र सम्बन्धहरुले न्याय पाउँछन् । मित्र र आफन्तहरु वरिपरी हुन्छन् । आफ्नो कारणले उनीहरुले चित्त– हिंसा महसुस गर्न पर्दैन । तर उ मेरो लागि कहिले त्यस्तो हुन सकेन । बिना गल्ति मेरो जरा वरिपरी किन खन्ति कोदालीले खोर्सिरहेछ ? किन एका बिहानै देखि मेरो पछाडी हात धोएर
लागिरहेछ ? किन सामाजिक सञ्जालमा मलाई नै निशाना बनाएर तीर जस्ता शब्दजाल बुनित स्टाटसले घोचिरहेछ ? मैले बुझ्न सकेको छैन । यति सम्म कि मसँग जे जति बुद्धि छ, त्यो सबै तीनै प्रश्नको उत्तरको खोजिमा लाउँदा पनि बुझ्न सकेको छैन । तनावमुक्त हुन सकेको छैन ।

यस्तो लाग्छ, पानी घाटी भन्दा माथि आइसक्न लाग्यो । अब सहनु उचित छैन । आत्मसम्मानको लागि पनि र भइपरि आउने तनाव उन्मुख विपत्तिको लागि पनि । यस मानेमा म अब सहेर बस्न सक्दिन । सो सरहको प्रतिकार गर्नुपर्छ । नत्र म हुनुको अर्थ र अहम भावको केही औचित्य रहने छैन । उसले मलाई साथी भन्दैन भने, साथीको दर्जा दिँदैन भने र पटक– पटक घात मात्र गरिराख्छ भने, म किन उससँग पसाना र पसारो परु । किन सधै भरी उसँग झुकेर जिवन बिताऊ । आफुलाई विगार गर्ने साथी कदापि साथी हुन सक्दैन । बरु आजकल कतिपय दुस्मनहरुले मेरो भलो चिताउन थालेका छन् । म भित्रको मान्छेलाई चिन्न थालेका छन् । मेरो सामान्य व्यक्तित्वबाट अभ्यस्त छन् । तर ऊ ………….कस्तो साथी ! न त शुभ विचार । न त म प्रति भलो भाव । उसँग जति सहभाव राखेपनि मित्रता पाउनु भनेको पानी पकाएर फाँडो बनाउनु जस्तै भैरहेको छ । उसले भने मलाई पटक– पटक साथीको नाटक गरेर घात उपघात गरिरहेछ । उ सधै मेरो नियति र विपत्ती उपर हाँसीरहेछ । अर्थात् हाँस्ने अवसर खाजीरहेछ, यो मेरो पछिल्लो समयको अनुभव र अनुभूति
हो ।

एउटा उपकथा सम्झन्छु – एउटा केटोको घर दुर्गममा रहेछ । बिजुली बत्ती, सडक बाटो जस्ता विकासको पहुँच नभएको ठाउँमा । त्यो केटो एकदिन मामाघर गएछ । मामाको घर न त गाउँ, न त शहर भन्न मिल्ने काँठे बस्तीमा रहेछ । मामाघरको तलबाट पारी पट्टी गाडीहरु गुडेको देखिँदो रहेछ । कहिल्यै गाडी नदेखेको त्यो केटो गाडी गुडेको देख्दा अचम्म परेछ । ऊ खाना खाने वित्तिकै तल चौतारीमा बसेर गाडी गुडेको हेर्दाे रहेछ । केटाको आचरण अलि नराम्रो रहेछ । भन्नाले अरुको कुभलो चाहने अर्थात् अरुको विग्रेको, खती भएको रमिता हेरेर रमाउने खालको रहेछ । त्यसरी गाडी गुडेको हेर्दा उसको मनमा लागेछ । पश्चिमबाट आउने गाडी र पुर्वबाट आउने गाडी आपसमा ठोकिए भने कति मजा आउथ्यो ! उ दिनहुँ गाडिहरु ठोकिएलान् र हेर्न पाइएला भनेर उत्सुकताका साथ निर्निमेष हेरिरहँदो रहेछ । घरि घरि त बसेको ठाउँबाट उफ्रिएर भन्दो रहेछ, ‘‘लौ ठोकियो, लौ ठोकियो, हत्तेरिका कस्तो नठोकिएको हो ?’’ उसले त्यही सोच्नु मात्र भयो । अशुभ विचारको अपेक्षा गर्नु मात्र भयो । गाडी कहिल्यै ठोकिएनन् । बरु त्यसरी ठोक्किए हुन्थ्यो, अनि मजा आउँथ्यो भनेर सोच्ने, अरुको कुभलो चिताउने उ दुब्लाउँदै गएछ । झन् झन् दुब्लाउँदै गएछ ।

त्यसरी नै उ दुब्लाउँदै जाओस् । तर उ मेरो कुनै दिन दशासँग भेट नहोस् । मेरो अंगभंगमा उ हाँस्ने दिन नआओस् ।
तर दिन एकनास हुँदैन । जति हेक्का राखेपनि । जति सचेत हुँदा पनि खुट्टा फिसोलिन
सक्छ । उ मुर्छा परेर हास्ने दिन आउन सक्छ । मलाई लाग्छ, दैव र दानवरुपी मान्छेसँग बच्न कदापि सकिँदैन । कतै न कतैबाट, कुनै न कुनै चरबाट त्यस्ता दुसाद परिस्थितिहरु प्रवेश हुन सक्छन् । अनि लोग्ने मान्छेले पनि आँशु खसाउनु पर्ने दिन आउन सक्छ । त्यसैले मेरो विपत्ति उ हाँस्नको लागि पर्याप्त हुन सक्छ । अर्थात् कुनै दुर्दशाले उसलाई दुई गास भात बढी रुचाउन सक्छ । हासोस्, रुचोस्, केही छैन ।

हुन त अहिले आएर बखान गर्नुपर्ने केही छैन । उ नचिनेको बराजु हैन । उसँग भएका घात, धोका, बेइमानी जस्ता कलुषित आचरण उसका पहिचान हुन् । जन्मजात नै लिएर आएका खोटी जस्ता । गाउँमा सबैलाई थाहा छ । हामीसाथीहरु आजपनि गफगाफमा सम्झन्छौँ – म ११÷१२ वर्षको हुँदा सुशिल, प्रकाश, सन्दिप, बुद्धि (अरुको सम्झना भएन) चौरीको पर्खालमा उभिएका थियौँ । उ कताबाट आएछ । पर्खालमाथि उभिएको सन्दिपलाई पछाडीबाट ह्वात्त धकेलेर सिस्नोको झाँडीमा पारिदियो । विचरा पीडा र डाहाले छट्पटाएको आजै जस्तो लाग्छ ।

एउटा साथीले भन्थ्यो, ‘त्यसले मलाई साङ्ले रहमा धकेलिदिएको हो । पौडिन नजान्ने मान्छे, थुम्कामा बसिरहेको थिए । कताबाट आएर धकेलिदियो । पत्तै भएन । कस्सो गुञ्जे दाईले बचाइदिए ।’ यस्ता घटनाका फेहरिस्ता हाम्रो सम्झनामा धेरै छन् । उसले गरेका घाती कर्तुत । आज पनि हामी दामली साथी जब व्यवहारिक कुरा गर्छाै, एकाध साथीले भन्छन्– ‘त्यो पछि छ भन्ने थाहा पाए भने त म अघि हिड्दै हिड्दिन । कुन चट, कुन खाल्टोमा धकेलिदिन सक्छ । सबभन्दा बढी माया ज्यान कै त हुँदो रहेछ ।’

साच्चै उ त्यस्तै छ । किन त्यस्तो गर्छ ? किन त्यस्तो घात उपघातका घटना दोहो¥याउँछ ? मलाई पनि अचम्म लाग्छ । ढोटे दिनमा केही उट्पट्याङ् र विठ्याई हुन सक्छ । बानी अलिकता उत्ताउलो हुन सक्छ । समय वित्दै जाँदा त सुध्रिनु पर्छ । फेरि बानी भनेको कुुुकुरको पुच्छर जस्तो पनि त हैन । सुधारौँ भने सुधार्न सकिन्छ । रत्नाकर डाकु पनि वाल्मिकी भएका थिए तर उसमा परिवर्तनको गुञ्जायस आएन । कुनै साङ्केतिक लक्षण सुध्रिनुको हकमा उसले देखाएन ।

वि.सं. २०५२ साल तिरको कुरा हो, हाम्रो गाउँमा टि.भि. भरखर प्रवेश गरेको थियो । त्यतिबेला टि.भि. किनेर हेर्ने विशेष घरानामा गनिन्थे । मलाई सम्झना भएअनुसार तेजबहादुर भिनाजुले पहिलोचोटी गाउँमा टि.भि. भित्राउनु भएको थियो । हामी उहाँको घरमा गएर हेथ्र्यौ । ढिलो गए बस्ने ठाउँ पाइन्न भनेर खाना खाने वित्तिकै पुग्थ्यौँ । पछि अरुहरुले पनि गाउँमा टि.भि. भित्राए । जे होस् टि.भि.मा फिलिम हेर्दा असाध्यै रसिक र रमाइलो लाग्थ्यो ।

एकदिन, साथीहरु विच सल्लाह विच सल्लाह भयो, डेक र टि.भि. भाडामा लिएर फिल्म
हेर्ने । सल्लाह कार्यान्वयन भयो । १४÷१५ जना साथीहरु जुटियो । बजार गएर डेक र टि.भि.
ल्याइयो । सिम्लेस्वारा शंकर काकाको घरमा हेर्ने चाँजो पाँजो मिलाइयो । खिर खाने पनि सल्लाह
भयो । सबै साथीहरुको उत्साह र उपस्थिति देख्दा बेला बेलाको हाँसो मजाक सुन्दा यो कार्यक्रम जिवनमा अविस्मिरणिय घटना बन्छ । जस्तो लागेको थियो ।

एउटा फिल्म सकिएपछि कागजको प्लेटमा खिर आयो । त्यस दिन खिर उसले पकाएको
थियो । वास्तवमा, खिर मिठो बनाएको थियो । खुब मिठो मानेर खाँदै गइयो । एक दुई जना साथीहरुले थपेर पनि खाए । पकाउने भान्छे ‘उसको’ निकै प्रशंसा भयो । दुर्भाग्यको कुरो, खिर थपेर खाने मध्येका साथीहरु रुन थाले । त्यतिमात्र होइन कोही कोही चिच्याउन पनि थाले । कोही कोही बर्बराउन
थाले । कारण के रहेछ भने उसले आफ्नो भाग खिर झिकेर अरुले खाने खिरको भाडोमा गाँजाको धुलो मिसाएको रहेछ । तब कोही कोहीलाई गाँजाको नशाले असह्य बनायो । त्यसपछि के के भयो भनिसाध्य छैन ……….. । मैले बुझाउन खोजेको कुरा के भने, उ त्यो हदसम्मको घाती थियो र अझै छ ।

त्यतिबेलाको कुरा एक जना साथीसँग हिजो मात्र चिया पसलमा चल्यो । उसले टिप्पणी
ग¥यो, ‘हाम्रो भाग्य बलियो रहेछ भन न, कस्सो खिरमा विषादी मिसाएर सोत्राम् पारेनछ त्यो घातीले ।’ यस्तो चरित्रको मान्छे, अझै बानी सुधार्न नचाहने मान्छे । आजकल समाजसेवी अरे । समाज भनेको के हो ? समाजसेवा भनेको के हो ? उसलाई के थाहा । उसलाई यत्ति भने अवश्य थाहा छ, मह काटेपछि हात चाट्न पाइन्छ । यो उपक्रम उसले व्यवहारमा पनि पटक पटक उतारेको छ ।

जे भए पनि साथी हो, आफ्नो गर्दन छिनाल्न आए पनि । माया त लाग्छ नै । अनि यस्तो लाग्छ, आफ्नो आँखाको असिङ्गर आफैले झिक्न मिल्दैन । अरुले हो झिकिदिने । त्यही हिसाबले, अर्थात् साथीको नाताले एउटा सल्लाह दिन मन लाग्छ, ‘साथी ! तिमी अब सच्चिनु पर्छ । नत्र तिमी मात्र होइन, तिमी हिडेको बाटो पनि गन्याएको महशुस गाउँमा धेरैले गर्न थालिसकेका छन् । जिउँदो मान्छेलाई फुलको बास्ना सुहाँउछ, सिनोको गन्धले त दुर्गन्ध फैल्याउँछ । शाखा पिराउँछ ।’