मेरो सम्झनामा दशैं:- कमल प्रसाद न्यौपाने


   नाग पञ्चमी देखि चाडहरू सुरु हुन्थे र हुन्छन् । तिजलाई बिदा गरे पछि एक किसिमको  नरमाइलो  अनुभूति हुन्थ्यो । किनकि  अब फेरि यसलाई भेट्न   सिङ्गो  १ वर्ष कुर्नु पर्दथ्यो।   यसको बाबजुद ॠषिपञ्चमिले  फेरि  तिजको थोरै अनुभूति दिलाउँदै यसको मैझारो  भो भन्न करै लाग्दथ्यो। भोलिपल्ट देखि  दिन-गन्ती सुरु हुन्थ्यो दसैँको ।येनकेन पट्यार लाग्दा दिनहरू बित्दै जान्थे अनि औँसी आएपछि  दशैं आए जस्तै फेरि मनमा उमङ्गको प्रारम्भ हुन्थ्यो  । 

मतलब भोलिपल्ट घटस्थापना हुने र दसैँ सुरु हुने भएकोले ।  झन्डै बाल्यकालको उत्तरार्ध नजिकबाट स्कुले पढाई  सुरु भएकोले मसँग स्कुल बिदा र गृहकार्यले  खासै सम्बन्ध राख्दैनथ्यो।  बरु  ध्यान केन्द्रित हुन्थ्यो  घाँस र दाउरामा ।   स्यानो पिँडीको पुछारमा रहेको माटे खाल्डो (घर पोत्ने रातो माटो राख्ने ठाउँ ) सँगै गाडिएको खाँबो र भित्ता  को बिचमा सुकेका दाउरा भरेर छाना सम्मै पुर्‍याउन पाए  आमालाई  दसैँ भान्सा तयार गर्न सहज  हुन्थ्यो । उता  गोठ भरी रहेका गाई र भैँसीको  ख्याल गर्नु पर्ने भएकोले  अलि राम्रो  पलाउने  खेतबारीको कान्लाको घाँस साँचेर राख्ने हाम्रो परम्परा नै थियो । किनकि बस्तुको निम्ति  टन्न घाँसको प्रबन्ध भयो भने अष्टमीको  आधारातमै अगुल्टोको सहारामा  कोत पुगी  उज्यालो हुनु पूर्व नै नाचिने मारुनी नाच हेर्ने र उज्यालो  भए पश्चात् नौमती बाजा सहित मौलोमा (जहाँ देवीलाई आज पनि बली दिइने स्थान ) गइन्थ्यो।  पहिलो बलि स्वरूप काटिएको  राँगोलाई मगर पुजारीहरूले नाच सँगै व्यङ्ग्यात्मक र केही अश्लीलता सम्मिश्रण नाटक नै मञ्चन   गरेर दर्शक दीर्घामा हाँसोको बढिनै ल्याउँथे । ९/१० बजे तिर  शिरान घरे भाउजूले भुटेका मकै र मही ज्युनार गरे पश्चात्  लाँकुरी, उपल्लो पँधेरो, खर्क ,कटौंजे  ,भञ्ज्याङ् ,कोल्ढाले  कालिका मन्दिर हुँदै  स्फूर्ति साथ ज्यान घर आई पुग्दथ्यो ।

भोलिपल्ट टिकाको दिन   भालेको डाँको सँगै उठी  आम्खोरामा दही र अक्षता  बोकी फेरि कोत गई देवीलाई  टीका  जमरा अर्पण  गरी सयौँ आमा -बुवा ,दिदीबहिनी ,दाजुभाइ र आफन्तजनबाट टीका  आदानप्रदान प्रदान स्वस्ति वाचन( -जयन्ती मङ्गला काली …… आयु द्रोण ……. ) गर्दै   समापन पश्चात्   घर मास्तिरको कालीकाको मन्दिरमा आई सोही अनुसार टीका आदानप्रदान  प्रदान गरी  घरमा आएर आमाले चोखिन (घ्यू) हालेर पकाएको भात बडो आनन्द साथ  खाइन्थ्यो ।  यतिले  दशैं र टीका  कहाँ  पूरा हुन्थ्यो र  अब गाउँभरि डुलेर  कसले धेरै जनाको हातको टीका र जमरा लगाउने , कसको घरमा केके प्रसाद र  कति दक्षिणा  दिन्छन्  भन्ने होडबाजी का साथ दशैंको मैझारो  मन नलागे  पनि गर्न करै लाग्दथ्यो ………… सायद तपाईं  मेरा अनन्य बालशखा हरुलाई  मलाईभन्दा बढी  याद हुन सक्दछ  …. आगे तपाईँहरू🙏🙏🙏🙏🙏