नाग पञ्चमी देखि चाडहरू सुरु हुन्थे र हुन्छन् । तिजलाई बिदा गरे पछि एक किसिमको नरमाइलो अनुभूति हुन्थ्यो । किनकि अब फेरि यसलाई भेट्न सिङ्गो १ वर्ष कुर्नु पर्दथ्यो। यसको बाबजुद ॠषिपञ्चमिले फेरि तिजको थोरै अनुभूति दिलाउँदै यसको मैझारो भो भन्न करै लाग्दथ्यो। भोलिपल्ट देखि दिन-गन्ती सुरु हुन्थ्यो दसैँको ।येनकेन पट्यार लाग्दा दिनहरू बित्दै जान्थे अनि औँसी आएपछि दशैं आए जस्तै फेरि मनमा उमङ्गको प्रारम्भ हुन्थ्यो ।
मतलब भोलिपल्ट घटस्थापना हुने र दसैँ सुरु हुने भएकोले । झन्डै बाल्यकालको उत्तरार्ध नजिकबाट स्कुले पढाई सुरु भएकोले मसँग स्कुल बिदा र गृहकार्यले खासै सम्बन्ध राख्दैनथ्यो। बरु ध्यान केन्द्रित हुन्थ्यो घाँस र दाउरामा । स्यानो पिँडीको पुछारमा रहेको माटे खाल्डो (घर पोत्ने रातो माटो राख्ने ठाउँ ) सँगै गाडिएको खाँबो र भित्ता को बिचमा सुकेका दाउरा भरेर छाना सम्मै पुर्याउन पाए आमालाई दसैँ भान्सा तयार गर्न सहज हुन्थ्यो । उता गोठ भरी रहेका गाई र भैँसीको ख्याल गर्नु पर्ने भएकोले अलि राम्रो पलाउने खेतबारीको कान्लाको घाँस साँचेर राख्ने हाम्रो परम्परा नै थियो । किनकि बस्तुको निम्ति टन्न घाँसको प्रबन्ध भयो भने अष्टमीको आधारातमै अगुल्टोको सहारामा कोत पुगी उज्यालो हुनु पूर्व नै नाचिने मारुनी नाच हेर्ने र उज्यालो भए पश्चात् नौमती बाजा सहित मौलोमा (जहाँ देवीलाई आज पनि बली दिइने स्थान ) गइन्थ्यो। पहिलो बलि स्वरूप काटिएको राँगोलाई मगर पुजारीहरूले नाच सँगै व्यङ्ग्यात्मक र केही अश्लीलता सम्मिश्रण नाटक नै मञ्चन गरेर दर्शक दीर्घामा हाँसोको बढिनै ल्याउँथे । ९/१० बजे तिर शिरान घरे भाउजूले भुटेका मकै र मही ज्युनार गरे पश्चात् लाँकुरी, उपल्लो पँधेरो, खर्क ,कटौंजे ,भञ्ज्याङ् ,कोल्ढाले कालिका मन्दिर हुँदै स्फूर्ति साथ ज्यान घर आई पुग्दथ्यो ।
भोलिपल्ट टिकाको दिन भालेको डाँको सँगै उठी आम्खोरामा दही र अक्षता बोकी फेरि कोत गई देवीलाई टीका जमरा अर्पण गरी सयौँ आमा -बुवा ,दिदीबहिनी ,दाजुभाइ र आफन्तजनबाट टीका आदानप्रदान प्रदान स्वस्ति वाचन( -जयन्ती मङ्गला काली …… आयु द्रोण ……. ) गर्दै समापन पश्चात् घर मास्तिरको कालीकाको मन्दिरमा आई सोही अनुसार टीका आदानप्रदान प्रदान गरी घरमा आएर आमाले चोखिन (घ्यू) हालेर पकाएको भात बडो आनन्द साथ खाइन्थ्यो । यतिले दशैं र टीका कहाँ पूरा हुन्थ्यो र अब गाउँभरि डुलेर कसले धेरै जनाको हातको टीका र जमरा लगाउने , कसको घरमा केके प्रसाद र कति दक्षिणा दिन्छन् भन्ने होडबाजी का साथ दशैंको मैझारो मन नलागे पनि गर्न करै लाग्दथ्यो ………… सायद तपाईं मेरा अनन्य बालशखा हरुलाई मलाईभन्दा बढी याद हुन सक्दछ …. आगे तपाईँहरू🙏🙏🙏🙏🙏




