साँच्चिकै भन्यौ तिमीले
मलाई पनि आजभोलि त्यस्तै लाग्न थालेको छ
तिम्रा रहरका पोका लथालिङ्ग भएर उछिट्टिए जस्तै
उस्तै उस्तै भएको छ यो मेरो जिन्दगी
त्यसैले मलाई पनि भन्न मन लाग्छ
यो जिन्दगी खै के जिन्दगी
दुखै दुखको भारी बोकेर बसाइँ सर्दा सर्दा थकित भएर पनि साहित्यको गाँस निल्न नछोड्ने
बा म पाठशाला जान्न त्यहाँ इतिहास पढाइन्छ भन्दै
इतिहासकै पानामा आफू चिरञ्जीवी रहने
तिमीलाई
कवि भनौँ या कलाकार
हे महान आत्मा
तिम्रो यो पुन्य जन्मजयन्तीमा
मेरो सत कोटी बन्दना तिमीलाई
बदनाम तिम्रा ती आँखाहरूले कमाएको नाम हेर्न
फेरि खोलिएनन् तिम्रा ती सुन्दर नयन
बदनाम भएर होला तिम्रा आँखाहरूले
दृष्टिविहीन आखाहरूमा उज्यालो छर्न सक्षम भएको
लक्ष्मीले साथ नदिए तापनि स्वरस्वतीले भने तिमीलाई
अङ्गालोमा बेर्न कहिल्यै छोडिनन्
त्यसैले त तिम्रो जयजयकार छ
धन हैन मन कमाउनु रहेछ संसारमा
सिकाएर गयौ हे कटुवाल

तिमी नभएर पनि हामी भित्रै छौँ
रहने छौँ सदा सर्वदा
न ओइलिने
मगमगाइरहने फूल भएर
साहित्य कला जगतको दरबिलो पुल भएर
दुखको बादल जति नै मडारिए पनि
मनलाई फलम बनाउने कविले संघर्षका पाइलाहरू
चाल्न छोडेनन्
सब्जी पसलसम्म ती पाइलाहरू न डगमगाएका हैनन्
आमाको ममता कतै पुसको जाडोमा तिमी छौ भने
गीत कथाको कुरै कुरामा तिमी नै तिमी छौ
आँखा उघार्दा पनि तिमी
चिम्लिदा पनि तिमी
नारायणगोपालको कन्ठमा तिमी
जनजनको ओठमा तिमी
अनुपम उपहार हौ कटुवाल
हृदयभरिको श्रद्धा सुमन तिमीलाई




