(हरिभक्त कटुवालप्रति समर्पित)
सहनँ सक्तिनँ
दासत्वको व्यथा अब
खप्न सक्तिनँ यो अन्याय
म मुक्त हुन चाहन्छु
तिमीबाट
निभाउन चाहन्छु
छातीको आगो
मिल्काउन चाहन्छु
हृदयको वेदना
मुटुको झोलामा
कतिदिन बोकेर हिँड्नु
यो निराशाको पीडा !

दिनरात
अविराम
दनदनी बलेको छ
मुटु नै जलेको छ आगोले
तिम्रो शब्दकोशमा ‘न्याय’ छैन
‘अन्याय’ मात्र छ
‘दया’ छैन ‘दासत्व’ छ
हे विधि!
हे व्यवस्था!
तिम्रो दासत्वमा आज बन्दी
मेरो यो जीवन मुक्त हुन चाहन्छ
हो, मुक्त हुन चाहन्छ
यो मुख लुकाई पीर रुन नपाउने
समयको पञ्जाबाट।




