परीक्षणमै सीमित भयो सहस्रधारा ‘क्यानोनिङ’

बागलुङ, २४ जेठ
दुई पटकको सफल परीक्षणले सहस्रधारा झरनामा साहसिक खेल छाँगावरोहण (क्यानोनिङ) व्यावसायिक बन्नेमा यहाँका धेरैलाई आशा जगाएको थियो । विसं २०७४ फागुनमा गरिएको परीक्षण सफल भएपछि विसं २०७६ असारमा त खेलकै रूपमा ‘क्यानोनिङ’ आयोजना गरियो । २० जनाले शुल्क तिरेरै छाँगावरोहण गरे ।

गलकोट नगरपालिका–३ स्थित झरनामा भएको छाँगावरोहण जिल्लाकै पहिलो भएकाले निकै प्रचारसमेत गरियो । छाँगावरोहण गरेको हेर्न दर्शक पनि ओइरिए । स्थानीले बाजागाजा र नाचगानसहित खेल सुरु हुने दिनलाई उत्सवकै रूपमा लिएका थिए । तर, आज परीक्षण भएको पाँच वर्ष बित्न लाग्दासमेत छाँगावरोहण व्यावसायिक बन्न सकेको छैन ।

झरनामा डोरीको सहायताले फेदबाट उक्लिएर डाँडामा पुग्ने र पुनः तल ओर्लने कार्य नै क्यानोनिङ हो । सन् २००७ बाट नेपालमा सुरु भएको उक्त खेलका लागि असोज–मङ्सिर र चैत–जेठ महिना उपयुक्त मानिन्छ ।

साहसिक खेलका माध्यमबाट गलकोटमा पर्यटक भित्र्याउने नगर कार्यालय र स्थानीयको योजना अहिले अलपत्र अवस्थामा रहेको छ । विसं २०७६ असारयता कसैले पनि सहस्रधारामा छाँगावरोहण गरेका छैनन् । छाँगावरोहणलाई व्यावसायिक बनाउने र निरन्तरता दिनेतिर खासै पहल पनि हुन सकेको छैन ।

छाँगावरोहणकै नाममा नगरले बजेट खर्च गरेपनि प्रतिफल भने शून्यनै देखिएको छ । सहस्रधारा झरनाले पहिले पाएको चर्चा पनि अहिले सेलाउँदै गएको हो । निर्माण उपभोक्ता समितिका पूर्वअध्यक्ष गगन कुँवरले छाँगावरोहणका लागि चाहिने सामग्री÷उपकरणसमेतको जोहो गरिएपनि प्रयोगमा आउन नसकेको बताए ।

“नगरको चार लाखबढी बजेटमा हार्नेस, हेल्मेट, डोरीलगायतका सामग्री किनिएको छ”, उनले भने, “नगर र स्थानीयको हातेमालो हुन सक्यो भने क्यानोनिङलाई व्यावसायिक रूपमा अगाडि बढाउन सकिन्छ, हामी यही वर्षदेखि सुरु गर्ने योजनामा छौँ ।” उनले सरकारी निकायदेखि सर्वसाधारणकोसमेत लगानी र श्रम परेकाले सहस्रधाराको पर्यटन विकाससँगै छाँगावरोहणको व्यावसायिक योजनालाई यत्तिकै छाड्न नहुने धारणा राखे ।

वडा नं. ३ का अध्यक्ष फमबहादुर खत्रीले आफू भर्खर निर्वाचित भएर आएकाले पहिले सहस्रधारामा ‘क्यानोनिङ’को सम्भाव्यताबारे बृहत् अध्ययन गर्ने बताए । “साहसिक खेल पर्यटनसँग जोडिएको र जोखिमपूर्ण पनि भएकाले पूर्वाधार तयारीविना हचुवाको भरमा क्यानोनिङ सञ्चालन गर्ने भनेर मात्र हुँदैन”, उनले भने, “यसको प्राविधिक पक्षदेखि व्यावसायिक सम्भाव्यताको राम्रो अध्ययन गर्नुपर्छ, यसले पर्यटन विकासमा कस्तो प्रभाव पार्छ भन्ने हेक्का पनि राख्नुपर्छ ।”

वडाध्यक्ष खत्रीले पर्यटनका नाममा जभाभावी बजेट खर्चने सोचमा आफू नभएकोसमेत उल्लेख गरे । यसअघि वडाकै पहलमा पोखरादेखि आएका ‘क्यानोनिङ’का विज्ञ र प्राविधिकले सहस्रधारालाई छाँगावरोहणका लागि उपयुक्त गन्तव्यका रूपमा पहिचान गरेका थिए ।

उनीहरूले सहस्रधारामा व्यावसायिक ‘क्यानोनिङ’को सम्भावना रहेको औँल्याउँदै खेल पूर्वाधारसँगै पर्यटकलाई सेवा, सुविधाको सुनिश्चितता गर्न सुझाएका थिए । सहस्रधारालाई पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्न विस्तृत आयोजना प्रतिवेदन (डीपीआर)मार्फत काम भइरहेको नगरले जनाएको छ ।

यसअघि नगरकै लगानीमा पदमार्ग, पोखरी संरक्षण र विश्राम कक्ष निर्माण गरिएको छ । ढाडाको पाखा सामुदायिक वन क्षेत्रमा पर्ने सहस्रधारा क्षेत्रमा ‘सहरी वन प्रवद्र्धन तथा उद्यान पार्क’ योजनाअन्तर्गत उद्यान निर्माण, वृक्षारोपणलगायतका काम भएका छन् ।

मध्यपहाडी पुष्पलाल लोकमार्गछेउको हटिया बजारदेखि तीन किलोमिटर मोटर यात्रामा सहस्रधारा पुग्न सकिन्छ । पैदलमा भने ३० मिनेट लाग्दछ । अक्करे भीर र घना जङ्गलबीचको खोचमा ८६ मिटर अग्लो सहस्रधारा झरना अवस्थित छ । पहिले गुमनाम रहेको झरना छाँगावरोहणसँगै चर्चामा आएको छ ।

यस खेलसँगै अर्को साहसिक खेल ‘प्याराग्लाइडिङ’ पनि गलकोट क्षेत्रमा परीक्षणमै सीमित बन्न पुगेको छ । बलेवा, पञ्चकोट, हरिचौर, नरेठाँटी, मल्मलगायतका स्थानमा परीक्षण उडान सफल भई प्याराग्लाइडिङको गन्तव्य पहिचान भएपनि त्यसले व्यावसायिकता पाउन भने सकेको छैन । रासस