सहरी खानपान ग्रामीण क्षेत्रमा भित्रिएसँगै मधुमेहबाट गाउँ पनि असुरक्षित बन्दै गएका छन् । परीक्षणको दायरामा नआउने हुँदा जटिल अवस्थामा पुगेपछि ग्रामीण क्षेत्रका बिरामी उपचारका लागि आउन थालेको चिकित्सक बताउँछन् । पहिले–पहिले ग्रामीण क्षेत्रमा स्थानीय उत्पादनको प्रयोग हुने गरेकामा पछिल्ला दिनमा तयारी खानाको प्रयोग बढेसँगै मधुमेहको समस्या देखिन थालेको हो ।
ग्रामीण क्षेत्रका बासिन्दाको परिश्रम घटेको र खानपान सहरको जस्तै हुन थालेकाले रोग देखिन थालेको हो । दैनिक खाजा र खानामा सहरिया चाउचाउ, बिस्कुट, पास्ता, तयारी पेय पदार्थजस्ताको प्रयोग बढी हुने गरेको छ । यससँगै मासु र मदिराको प्रयोग पनि बढेको छ ।
भरतपुर अस्पतालका फिजिसियन डा कालिदास अधिकारी ग्रामीण क्षेत्रमा सहरको रहनसहन भित्रिएसँगै मधुमेहको समस्या पनि बढ्न थालेको बताउँछन् । खानपानमा परिवर्तन, माछा, मासु, मदिराजस्ता वस्तुको उपभोग बढेकाले गाउँमा बस्नेहरूमा समस्या देखिएको उनको भनाइ छ । उनले भने, “गाउँमा पनि क्रयशक्ति बढ्यो, सहरको जस्तै खानपिन भयो, यसले समस्या बढाएको छ ।”
जीवनशैलीमा परिवर्तन आएको जनाउँदै उनले सहरमा नियमित परीक्षण हुने भए पनि ग्रामीण क्षेत्रका बिरामीले परीक्षण नगर्दा अन्तिम अवस्थामा अस्पताल आउने गरेको बताए । यसको मुख्य कारण मोटोपन र विलासी जीवनशैली नै हो । यसलाई नियन्त्रणमा राख्नुपर्छ । अहिले धेरै मानिस लामो समय कुर्चीमा बसेर काम गर्ने, शारीरिक कसरत नगर्ने गरेको छन् । यसले गर्दा शरीरको ग्लुकोज पचाउने प्रणाली र इन्सुलिनले राम्रोसँग काम गर्न सक्दैनन्, यसले मधुमेह बनाउँछ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् १९८० मा विश्वमा जम्मा १० करोड मानिसमा मधुमेह भएको र करिब ४० वर्षपछि यो सङ्ख्या ४५ करोडभन्दा बढी पुगेको छ । विश्वका सात अर्ब जनसङ्ख्यामा करिब ९० करोड मधुमेह भएका वा हुनसक्ने जनाइएको छ ।
नेपालमा पनि करिब–करिब जनसंख्याको ८.४ प्रतिशत मानिसलाई मधुमेह भएको अनुमान गरिएको छ ।




