२ सांसदलाई एमालेले गर्‍यो कारवाही

नेकपा एमालेले लुम्बिनी प्रदेशसभा सदस्यद्वय अजय शाही र विमला खत्री वलीलाई कारवाही गरेको छ । कारवाहीको विवरणसहितको पत्र मंगलबार प्रदेश सभामुख पूर्णबहादुर घर्तीलाई बुझाइएको हो ।

शाही र खत्री प्रदेश सरकारमा सहभागी छन् । शाही प्रदेशसभा निर्वाचनमा एमालेकै चुनाव चिह्नबाट विजयी भएको र वलीले पार्टीको विधान, संसदीय दलको विधान र नियमविपरीत गतिविधि गरेको भन्दै दुवैलाई सांसद पद नरहने गरी कारवाही गरिएको पत्रमा उल्लेख छ ।

अजय शाही नवलपरासीको क्षेत्र नं १ ९ख० बाट सूर्य चिन्ह लिएर निर्वाचित भएका थिए । उनी हृदेयश त्रिपाठी स्वतन्त्र समूहका हुन् ।

वली एमाले नेता उत्तमकुमार वलीको निधनपछि २०७६ सालमा भएको उपनिर्वाचनमा तत्कालीन नेकपाको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं ३ ९ख० बाट निर्वाचित भएकी थिइन् ।

शाहीले आफू स्वतन्त्र सांसद भएको दाबी गर्दै एमालेको ह्वीप नलाग्ने बताउँदै आएका छन् । वलीले भने आफू उप निर्वाचनबाट तत्कालीन नेकपाका तर्फबाट उम्मेदवार भएकाले एमाले र माओवादी केन्द्रमध्ये कुन दलमा रहने भन्ने निर्णय गर्ने अधिकार आफूसँग सुरक्षित रहेको भन्दै हाल माओवादी केन्द्रमा रहेको बताउँदै आएकी छन् ।