कविता : दाउरा बटुलिरहेको छु

नमस्कार
महोदय/महोदया,
म आज
इतिहासको धेरै भित्रसम्म पुगेर
आशङ्कामय पीडा बोकेर
बगिरहेको एउटा
नुनिलो आँसुको धार
एउटा नुनिलै कथा लिएर
हजुरहरू समक्ष उभिएको छु।
” कयौँ वर्षदेखि
सडक किनारका
एकहुल विवश चिसा चुल्हाहरू
अभावका काँडा कुल्चेर
प्रत्येक नयाँ योजनाका फाइलहरूभित्र
आफ्नो अस्तित्व खोज्दै
प्रतिक्षामा छ्न्
सारा रात
सारा दिन
(हुन त तिनीहरूका लागि
दिन र रातमा के पो फरक छ र)
तिनीहरूको
ओछ्यानका थाङ्नाभरि सुतेको छ
व्यथाले पोलेका शब्द-स्वरहरूले
अोसिएको खपिनसक्नुको एउटा गन्ध
तिनीहरू
सधैँ
सुकेको खोक्रो बाँसझैँ
आफ्नो शरीर घिसार्दै
अव्यक्त वेदनामा रोएका छन्
विभिन्न स्वरमा एउटै क्रन्दन
हजुरहरूलाई थाहा छ?
दुलैदुला परेको
तिनीहरूको
फाटेको झोलामा
अरू केही नभए पनि
कुनाकोप्चामा चिप्लेकिरासरि टाँसिएका छन् दु:चिन्ताहरू
निराशाहरू।”
फेरि सुन्नुहोस् !

तिनै चिसा चुल्हाहरूले
कयौँ वर्षदेखि उकेलेको
नुनिलो आँसुको धार बोल्दैछु
जो भोलि फेरि ती चुल्हाहरू सल्काउने तरखरमा
दाउरा बटुलिरहेको छु।