कविता : मनकुमार तामाङ

केपी कमरेड
लालसलाम
म मनकुमार तामाङ
जंगेले
उतिबेलै मास्न खोजेको जात
चिन्नु भो नि !
कि भुल्नु भो
एक चोटि सम्झिनुस त………………………. !
माफ गर्नुस्
म तपाईलाई
प्रधानमन्त्री होइन
केपी कमरेड भनेरै सम्बोधन गर्न चाहन्छु
मलाई अझै पनि
केपी कमरेड नै प्यारो लाग्छ
प्रधानमन्त्री शब्दमा त
खै के के जातीको गन्ध आउछ
प्रतिगमन
तानाशाही
यति
ओम्नी
सत्तरी करोड
मार्सी धान
भस्मासुर
हिटलर
बेसारपानी
बेलौतीको पात
आदि आदि ।

डेकेन्द्र राजवंशीले आत्महत्या गरेपछि
झापामा म एक्लै छु
अस्ति आरके कमरेडले फोन गर्दा तपाईंलाई सोधेको थिए
सिपी कमरेडसँग भेट नभएको पनि तेह्र वर्ष भएछ
मोहन चन्द्रले फोन गरिराख्छन्
उनको फोन आउँदा खुसी लाग्छ
खै किन हो
चटक्कै माया मार्नु भो
मैले तपाईंलाई भुल्न सक्दिन
फरक यत्ती हो तपाईलाई अतीत सम्झिन मन लाग्दैन
म अतीत सम्झेर बाचिरहेको छु ।
एक चोटि
झापा आउनुस्
सँगै बसेर
एक घान मोहि र मकै खाने धोको छ ।
म पनि सत्र वर्ष जेल बसेकै हो
मैले पनि क्रान्ति गरेकै हो
तपाईले गरेको योगदान र मेरो योगदानमा
कहिँ कतै कम छैन
फरक यत्ती हो
तपाईं बाहुनको छोरा भएर
बाटोमाथि फुल्नु भयो
म तामाङको छोरा भएर
बाटोमुनि फुले ।
( मनकुमार तामाङ सत्र वर्ष जेल सजाय पाएका झापा बिद्रोहका योद्दा )