अमेरिकामा राष्ट्रपति निर्वाचन: डोनाल्ड ट्रम्प कि जो बाइडेन ?

महाशक्ति राष्ट्र अमेरिकामा मंगलबार राष्ट्रपति निर्वाचनको लागि अन्तिम मतदान हुँदैछ । निकै प्रतिस्पर्धात्मक हुने ठानिएको यो निर्वाचनमा रिपब्लिकन पार्टीका तर्फबाट वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याट पार्टीका तर्फबाट पूर्वउपराष्ट्रपति जो बाइडेन उमेद्वार छन् ।

निर्वाचन नतिजालाई आफ्नो पक्षमा पार्न दुवै उमेद्वारहरु अन्तिम समयसम्म चुनावी प्रचारको व्यस्त दौडाहामा देखिन्छन् ।
निर्वाचनअघि नै विभिन्न मत सर्वेक्षणहरुले सम्भावित नतिजाकाबारेमा आ आफ्नै दावीसहितको आंकलन गरिरहेका छन् । अधिकाँशले डेमाक्र्याट उमेद्वार जो बाइडेनको अग्रता देखाइरहेका छन् ।

यद्यपी केही राज्य उनका लागि फलामको च्यूरा हुने तर्क पनि हुँदैछन् । केही सर्वेक्षणहरु ट्रम्पको पक्षमा पनि आफ्नो दावी पस्केका छन् ।

सर्वेक्षणहरुलाई आधार मान्ने हो भने पनि यो पटक कसले बाजी मार्ला भन्ने अड्कल गर्न मुस्किलै छ । चुनाव हो मतदाताले गोप्य रुपमा गरेको मतदानको पुरै नतिजा नआएसम्म जीत र हारको दावी गर्न सक्ने आधार हत्तपत्त कसैसँग हुँदैन । यसको पुष्टि गत निर्वाचनले गरेकै हो ।


सन् २०१६ को निर्वाचनका बेला गरिएका यस्ता सर्वेक्षणका पूर्वअनुमानहरु पुरै विफल भएका थिए । लगभग सबैजसो सर्वेक्षणले हिलारी क्लिन्टन विजयी हुने ठोकुवा गरे पनि अन्ततः ट्रम्पले संसारलाई आश्चर्यमा पार्दै चुनाव जितेका थिए ।
अमेरिकामा संविधान त हरेक चार वर्षमा हुने राष्ट्रपति निर्वाचन नोभेम्बर महिनाको पहिलो मंगलबार हुने प्रावधान छ ।

अर्ली भोटिङ गर्ने दुई तरिका

अर्ली भोटिङ र भोट बाई मेल (हुकालमार्फत्) सुविधाको उपयोग गर्दै करोडौंले मतदान गरिसकेका छन् । करिब दुई सातायताको अर्ली भोटिङ अवधिमा करिब १० करोडले आफ्नो मताधिकार प्रयोग गरिसकेको तथ्याङ्क सार्वजनिक भइसकेको छ ।

अमेरिकामा अर्ली भोटिङ गर्ने दुई तरिका छन् । पहिलो, घरमै मतपत्र मगाएर आफ्नो उमेद्वार चयन गरि उक्त मतपत्रलाई खामबन्दी गरि हुलाकमार्फत् पठाउने वा तोकिएको मतपत्र बाकसमा खसाल्ने । र दोस्रो हो, तोकिएको मतदान केन्द्रमा गई तत्काल मतदान गर्ने ।


विगतमा पनि अर्ली भोटिङ सुविधा नभएको होइन । यसपटक भने कोरोना महामारी लगायत कारणले धेरैले पहिल्यै मतदान गरि भिडभाडबाट अलग हुन चाहेको सन्देश दिएका हुन सक्छन् ।

के हो स्विङ स्टेट ?
अमेरिकाको निर्वाचन नतिजालाई केही स्विङ स्टेटले प्रभावित तुल्याउने गरेका छन् । स्विङ स्टेट भन्नाले जता पनि ढल्कन सक्ने मतदाता धेरै रहेको राज्य । यस्ता स्विङ स्टेटहरूले यहाँको समग्र निर्वाचन नतिजालाई निर्देशित गर्छन् । स्विङ स्टेटका रुपमा यसपाली छ राज्य चर्चामा छन् । ती हुन् एरिजोना, फ्लोरिडा, मिसिगन, नर्थ क्यारोलाइना, पेन्सिलभेनिया र विस्कन्सिन । यी छ राज्यका २० काउन्टीको मतदानलाई निर्णायक मान्न सकिने अड्कलबाजी भइरहेका छन् ।


कुल मतदाता र मतदानको अनुमान
यो पटकको निर्वाचनमा कुल २५ करोड ५० लाख मतदात छन् । यसमध्ये करिब ६० प्रतिशत मत खस्ने अनुमान छ ।
सन् २०१६ को निर्वाचनमा यहाँ करिब २५ करोड मतदाता थिए । तीमध्ये झण्डै १४ करोडले मतदान गरेका थिए । यो कुल मतदाता संख्याको ५५.५ प्रतिशत हो ।


के हो इलेक्ट्रोरल कलेज ?


मतदाताले गरेको भोटका आधारमा हासिल इलेक्ट्रोरल कलेजको संख्याले राष्ट्रपति चयनको टुंगो लगाउँछ । अमेरिकामा यस्तो इलेक्ट्रोरल कलेजको कुल संख्या ५ सय ३८ छ । यसमध्ये २ सय ७० वा त्योभन्दा बढी इलेक्ट्रोरल मत प्राप्त गर्ने उमेद्वार विजयी हुन्छ ।


यस्तो इलेक्ट्रोरल कलेज हरेक राज्यको जनसंख्याको आधारमा निर्धारण हुन्छ । जस्तैः सबैभन्दा धेरै जनसंख्या रहेको क्यालिफोर्निया राज्यमा कुल ५५ इलेक्ट्रोरल कलेज छन् । यस्तै टेक्ससमा ३८, न्यूयोर्कमा २९, फ्लोरिडामा २९, भर्मन्टमा ३, मेन राज्यमा ४ छन् ।


इलेक्ट्रोरल कलेज प्रणालीका कारण पुरै अमेरिकाभर सबैभन्दा धेरै मत ल्याए पनि इलेक्ट्रोरल कलेज मत पर्याप्त नभए निर्वाचन नजित्ने अवस्था आउँछ । सन् २०१६ को निर्वाचनमा हिलारीले ट्रम्पभन्दा लाखौं बढी लोकप्रिय मत पाए पनि पराजित हुनु परेको थियो ।


कोरोना महामारीको कठिन अवस्थाबाट गुज्रिरहेको अमेरिका र पुरै विश्वको ध्यान यतिबेला यही निर्वाचनमा केन्द्रीत छ । अमेरिका कोरोनाबाट सबैभन्दा बढी प्रभावित मुलुक हो । यस्तो अवस्थाका बाबजुद् अमेरिका निर्वाचनमा होमिएको छ ।