केही मुक्तक

दलालहरू
दलालहरूको रङ हुँदैन सबै रङमा घुलमिल हुन्छन्।
दलालहरूको शक्ति हुँदैन सबै शक्तिको पुच्छर छुन्छन्।
दलालहरूको देश,भेष हुँदैन,स्वार्थ नै हुन्छ,सधैं माथि ।
आमा, छोरी र पत्नीको समेत दलालहरूले बाटो थुन्छन्।

फेरि
सङ्गै जागिर खाएको साथीले अर्बौं कमायो, यार!
पुरै घिउ झिक्यो,औंला बङ्ग्याएर,आज रमायो, यार।
आफूलाई त अौंला बङ्ग्याउन मनले फिटिक्कै दिएन।
जागिरपछिको जीवनमा फेरि गरिबी छायो, यार !

सेरोफेरो
जोत्दाजोत्दा भाँचेका हुन् फलामको फाली।
विदेशिए लोग्ने मेरा हलो,जुवा बाली।
त्यही जमिन आफ्नो छैन उनी उतै झरे।
सेरोफेरो मेरो भन्छन् गाउँघरका जाली।

सौन्दर्य
हिमाच्छादित शिखरहरू देख्दा मन जाग्छ।
गगनमा चील कावा खाँदा मन त्यतै लाग्छ।
दुःखी मन शान्त हुँदैन चलिरहन्छ अाँधी ।
देशले लुटिएँ, चुटिएँ भनेर खालि रगत माग्छ।

गफ
घरमै अत्याचार छ,म देशको अत्याचार रोक्छु भन्छ।
आफ्नै माटो रुखिएको छ,म देशकै माटो ढोग्छु भन्छ।
यिनै उडन्ते बाइफालेहरूले हो देश पछि पारेको।
सत्य बोल्न डराउनेले अब हतियार बोक्छु भन्छ ।