टुल्कीको विवाह तीस वर्षको उमेरसम्म भएको थिएन । अब भने टुल्की जो माग्न आए पनि राजी हुने निधो गरेकी थिइन् । नभन्दै उनलाई केही टाढाबाट माग्न आए । बावुआमाको पनि चित्त बुझ्यो । डोला भाँचिने जस्तो टुल्कीको ज्यान थियो । दुलाहको घरमा भित्रिएको भोलिपल्ट उनले राम्चे गाउँ जाने बाटो सोधिन् ।उनीले भनिन्- म आजै मेरो प्रेमी कृण्ण आलेको घरमा जान्छु । सुस्केरी हुन अब एक महिना मात्र बाँकी छ । यसो भए यो विवाहको नाटक किन गरेको भनि सोध्दा मेरो डोलामा चड्ने धोको पूरा गर्न र किस्नुलाई पहिलो विवाह नफाप्ने ग्रहदशाले गर्दा भन्ने जवाफ दिइन् । यो सुनेर सबै चकीत परे ।
टुल्कीको विवाहको दुई दिन पछि उनैको गाउँमा रहेको एउटा विद्यालयले सप्ताहव्यापी रुपमा स्वर्णमहोत्सव मनाएको थियो । स्वर्णमहोत्सवको अवसरमा धेरै चन्दा संकलन गरि विद्यालयको भौतिक र शैक्षिक उन्नति गर्ने योजना थियो । पचास हजार भन्दा वढी चन्दा बोल्ने दानबीरलाई सरस्वतीको मन्दिर घुमाई बाजागाजा भजनकीर्तन लगायत अन्य विद्यालयबाट आयातित कलश लिएका पन्चकन्या विद्यार्थी अगाडि लगाई मन्चमा आसिन गराइन्थ्यो । चन्दादाताको सातपुस्ते गुनगान गाउन सीपालु उद्घोषक पनि छानिएको थियो । रुमाकान्त र उनका दुईवटा श्रीमतीहरुलाई डोलामा पलैपालो मन्चमा अोसारियो । टुल्की चडेकै डोला दैनिक पाँच शय तिर्ने गरि भाडामा लिइएको थियो । रुमाकान्त त्यस दिनका सभानायक बने । त्यस दिनका बिशिष्ट र कनिष्ठ सबै वक्ताहरुले रुमाकान्तको जय जयकार गर्नुको साथै विद्यार्थी संख्या नवढाए विद्यालयको भबिष्य नरहेको पनि दोह-याए तेह-याए । अन्तमा रुमकान्तको सारगर्विक भाषण भयो । उनले गर्वसाथ भने – मैले पचास हजार मात्र होइन धेरै लाख चन्दा दिने निधो गरिसके । तालीको लर्को लामै समयसम्म रोकिएन । उनको वक्तव्य अगाडि बढदै गयो – मसंग नगद नभएकाले जमिन र जन दान गर्दछु । विद्यालयको आठ आना घडेरी जग्गासंग मेरो लेकको झन्डै दोब्बर पन्ध्र आना दुई पैसा गहते खोरिया सट्टापट्टा गर्न राजी छु । विद्यार्थी कमी भएर शिक्षक दरबन्दी कटौती मात्र होइन विद्यालय नै मर्च हुन सक्ने कुरा सुन्दा साह्रै दुख लाग्यो । म लेखबाट याँहा झरे भने मेरा सात जना छोराछोरी यसै विद्यालयमा पढनेछन् । कूल विद्यार्थी संख्यामा पचास प्रतिशत वृद्धि हुनेछ । एउटै शिक्षक दरबन्दी थमाउन सकियो भने पनि वार्षिक चार लाख फाइदा हुन्छ । विद्यालय नै नरहे जग्गाको के अर्थ रह्यो । त्यसैले मैले यो कठोर निर्णय गरेको घोषणा गर्दछु । कुरा बुझेर हो वा नबुझी हो तालीको गडगडाहट गुन्जी रह्यो । मन्चमा आसिन आयोजकहरु भने अक्क न वक्क परि एक अर्कोको मुखमा हेरेको हेरै गरे ।




