पोखरा तेरीमा कचौरे
तँ संग अब, आधा जिन्दगिकोे क्षतिपूर्ति लिने बेला भएको छ
गणितमा त, तैंले मलाइ झुक्याउनै सक्दैनस
आधा जिन्दगीको साँवा ब्याज कति भयो थाहै होला
तेरीमा कचौरे
तेरै बिट वरिपरिबाट
बाबाको स्वाभिमान आमाको माया सँगै विंया मिसिएको
ढिकिमा कुटेको जेठाबुढो, पहेले, गुर्दी, मन्छराको चामल
सँगै एक पाथी मासको दाल दिदि र भाउजुले जाँतोमा पिसेको
एक वर्ष तेरो सरापले हो, कि त्यती राम्रो भएन
पुरानो मस्यौरा अनि भट्टमासको पोको
परालको त्यान्द्रोले बोराको मुख बाँधेर
आधि घण्टा पैदल र एक घण्टा पुरानो नगरबस चढेर पोखरा झर्दा
बस पार्कमा बोरासँगै मलाइपनि थेचारीस
हो त्यसको पनि क्षतिपुर्ति लिने बेला भएको छ
पि.एन.सि. , जे.एम.सि. र राष्ट्रिय उच्च मा.वि. भन्दै
सेतीको डिलडिलै खुब घुमाइस
तेरीमा कचौरे
तेरो आवरण जति सुन्दर देखिन्छ
त्यो भन्दा दोब्वर कुरुप तेरो भित्री रुप छ
बिट भन्दा परकालाइ काँठ सम्झीस सधैँ
कहिले खसाली दिइस केआइसिङ पुलबाट, कहिले डुबाइ दिइस फेवातालमा
त कहिले बगाइ दिइस डेभिजफलमा सपनाहरु
हो त्यसको पनि क्षतिपुर्ति लिने बेला भएको छ
कति भन्लास दिनुपर्ने
जति कचौरामा अटेका छन, जिबित जनसँख्याका कङ्कालहरु ।




