ताजा समाचार

मंसिर १२ गते २०७६

सुटिङका क्रममा नायकको लडेर मृत्यु

चलत्रित्र सुटिङ रमाइलो मात्र हुँदैन जोखिमपूर्ण समेत हुन्छ । ताइवानमा जन्मिएका नायक एवं मोडल गडफ्रे गाओको बिहीबार सुटिङका क्रममा चीनमा मृत्यु भएको छ । दुर्घटनाका बेला उनी एक टिभी शोको सुटिङ गरिरहेका थिए । सुटिङका बेला उनी अचानक लडेका थिए जसका कारण उनको मृत्यु भएको हो ।

३५ वर्षका गडफ्रे गाओ चीनमा एक रियालिटी टिभी शो ‘चेज मी’ को सुटिङ गगरिरहेका थिए । उनी यो कार्यक्रममा ‘गेस्ट’ प्रतिस्पर्धीको रुपमा समावेश भएका थिए । तर अचानक उनी सोको सेटबाट लडे । लडेपश्चात् उनलाई तत्काल अस्पताल पुर्याइएको थियो । अस्पतालले उनको मृत्यु कार्डियक अरेष्टका कारण भएको बताएको छ । उनको शवलाई बिहिबार ताइवानमा लैजाइने जानकारीमा उल्लेख छ ।

कार्यक्रममा निर्माताले टिभी इभेन्टको कार्यक्रममा उनी लडेकाकारण उनको मृत्यु भएको पुष्टि गरेका छन् । निर्माताले भने, ‘सुटिङ चलिरहेको थियो । उनी अचानक सेटबाट तल खसे । उनी बेहोस भए । उनी लड्नेबित्तिकै अस्पताल पुर्याइयो जहाँ उनलाई मृत घोषणा गरियो । ’ चिनियाँ मिडियाका अनुसार स्थानीय समयानुसार दिउँसो २ बजे उक्त घटना भएको हो ।

स्मरण रहोस्, सन् २०११ मा लक्जरी ब्रान्ड लुई भिटनको एक एड क्याम्पेनका लागि छानिने उनी पहिलो एशियाली पुरुष मोडल थिए । त्यसपछि उनले हलिउडमा पनि आफ्नो पहिचान बनाए । उनले ‘द मोर्टल इन्स्ट्रुमेन्टः सिटी अफ बोन्स’ मा अभिनय गरे । गाओ चीनमा पनि एक चर्चित नाम हो ।