बहुचर्चित डेंगु : आयु बढीमा २१ दिन !

विगत वर्षहरूमा भन्दा यसवर्ष डेंगु रोगले यस सिजनमा निकै हल्लाखल्ला मच्चाउन सफल भएको छ । नेपालमा सन् २००६ मा पहिलोपटक देखा परेको यो रोग हालसम्म आइपुग्दा निकै महामारीको रुपमा देखा परेको छ । त्योभन्दा पनि यो रोगले पोखरा, चितवन, काठमाडौं, मकवानपुर, बुटवलजस्ता सहरमा बस्नेहरूको ज्यानसमेत लिइसकेको छ । अधिकांशरुपमा ठूलाबडामा देखा पर्ने यो रोग लगाउने लामखुट्टेका अचम्म खालका विशेषताहरू छन् ।

यो रोगसम्बन्धी धेरै कुराहरू भएता पनि सर्वसाधारणले यस रोगबाट बच्ने तरिका र यसको उपचारका विधिहरूबारे जान्नु आवश्यक छ । त्यसकारण यस आलेखमा डेंगु रोगको लक्षण, उपचार तथा रोकथामका उपायका बारेमा मात्र सजिलो भाषामा चर्चा गरिनेछ ।

डेंगु रोग लगाउने लामखुट्टेको परिचय
डेंगु एक प्रकारको लामखुट्टेको टोकाइबाट सर्ने कीटजन्य सरूवा रोग हो । एडिस एजिप्टाई नामक संक्रमित लामखुट्टेको टोकाइबाट मात्र यो रोग लाग्दछ । यो लामखुट्टे अरु लामखुट्टेभन्दा निकै फरक विशेषता भएको हुन्छ । हेर्दा आकारमा अरु लामखुट्टेभन्दा सानो हुन्छ र आकर्षक प्रकारको देखिन्छ । यसको शरीरमा सेता र काला धब्बा हुने भएकोले झट्ट हेर्दा बाघजस्तो देखिने भएकोले यसलाई टाइगर लामखुट्टे पनि भनिन्छ ।

यो लामखुट्टेले सफा पानीमा मात्र फूल पार्ने, रातको समयमा हिंडडुल नगर्ने, दिउँसोको समयमा मात्र सक्रिय भई टोक्ने, भिआइपी व्यक्तिलाई बढी मात्रामा टोक्ने भएको कारण यस लामखुट्टेलाई भिआइपी वा अफिसियल लामखुट्टेसमेत भनिन्छ ।

यो लामखुट्टेले सफा जमेको पानीमा फुल पार्ने र ती फुलबाट २–३ दिनमा लार्भा बन्ने, अनि प्युपा ४–५ दिनमा बन्ने गर्छ । करिब १० दिनमा वयस्क लामखुट्टे बन्छ र मानिसलाई टोक्न थाल्छ । एउटा लामखुट्टेको जीवनको आयु जम्मा १४ देखि २१ दिनमात्र हुन्छ ।

आफ्नो जीवनभरमा एउटा लामखुट्टेले ३०० वटाजति फुल पार्दछ र संक्रमित लामखुट्टेका सबै फुलसमेत संक्रमित नै हुन्छन् । यसको अण्डा पानीबिनासमेत महिनौँसम्म बाँच्न सक्छन् । यो लामखुट्टे करिब १०० मिटरको क्षेत्रमा मात्र घुमिरहन्छ ।

कुनै संक्रमित व्यक्तिलाई टोकेर आफ्नो शरीरमा डेंगुको भाइरस लिएपछि अर्को मानिसलाई टोक्दा सजिलै रोग सार्न सक्छ । यसरी रोग सर्नुमा केवल लामखुट्टेको मात्र भूमिका रहन्छ । व्यक्तिबाट व्यक्तिमा रोग सर्ने माध्यम नै लामखुट्टेको टोकाइ हो ।

डेंगु रोगको अवस्था
नेपालको तराई भेगमा प्रत्येक वर्ष गर्मी तथा वर्षायाममा देखा पर्ने गरेको यो रोगको चर्चा सन् २००६ देखि भएको हो । अन्टार्टिकाबाहेक संसारका सबै महादेशमा यो रोग पाइन्छ । हाल विश्वका १०० भन्दा बढी देशमा यो रोग पत्ता लागेको छ ।

संसारका ४० प्रतिशत जनसंख्या यो रोगबाट जोखिममा छन् । यो रोग प्रायः तातो हावापानी भएका सहर र सहरोन्मुख बस्तीहरूमा बढी मात्रामा पाइन्छ । तर, आजकाल पृथ्वीको तापक्रम बढेर जलवायुमा परिवर्तन भएका कारण विभिन्न स्थानहरूमा यो रोगको प्रभाव देखिन थालेको छ ।

डेंगु रोगको परिचय
डेंगु रोग डेंगु भाइरसका ४ वटा प्रजातिहरूमध्ये कुनै पनि प्रजातिबाट लाग्ने एकप्रकारको घातक रोग हो । आर एन ए भाइरसको समूहमा पर्ने यो भाइरससमेत निकै सूक्ष्म हुन्छ र जटिल खालको परीक्षणबाट मात्र पत्ता लगाउन सकिन्छ । डेंगु रोग लक्षण हुने र लक्षण नहुने गरी दुई किसिमका हुन्छन् । लक्षण देखा नपर्ने डेंगु लागेमा कुनै लक्षण देखा नपरी शरीरले प्रतिरक्षात्मक क्षमता बढाई स्वतः निको बनाउँछ ।

अर्को लक्षण देखा पर्ने डेंगु खतरनाक हुन्छ । लक्षण देखा पर्ने डेंगु रोगमा समेत दुई प्रकारका लक्षण देखा पर्दछन् । एउटा हेमोरेजिक ज्वरो आउने र अर्को बेहोस हुने खालको डेंगु । हेमोरेजिक डेंगु भएमा शरीरका विभिन्न स्थानहरूबाट रक्तश्राव हुने र रक्तश्राव नरोकिने खालको हुन्छ ।

छालामुनि भएको रक्तश्रावका कारण छालामुनि नीला धब्बाहरू देखा पर्छन् र शरीरमा रगतको मात्रामा समेत कमी आउँछ । त्यस्तै अर्को निकै खतरनाक बेहोस हुने खालको डेंगु भएमा व्यक्ति छिटै सिकिस्त हुने, बेहोस हुने र मृत्यु हुन्छ ।

डेंगु भएमा देखा पर्ने चिन्ह र लक्षणहरू
यो रोगका भाइरसले शरीरमा आक्रमण गरेपछि ३ देखि १० दिनभित्रमा लक्षण र चिन्हहरू देखा पर्दछन् । यस रोगमा देखा पर्ने लक्षण तथा चिन्हहरू साधारणदेखि जटिल प्रकारका हुन्छन् ।

मुख्य लक्षण र चिन्हहरू यसप्रकार छन्ः
–एक्कासी १०२ देखि १०४ डिग्री फरेनहाइटसम्म उच्च ज्वरो आउनु ।
–अत्यधिक टाउको दुख्नु र प्रायः अगाडिको भाग बढी दुख्नु ।
–आँखाको गेडीमा अत्यधिक दुखाइ हुनु ।
–पेट दुख्नु ।
–वाकवाकी लाग्नु र बान्ता आउन पनि सक्नु ।
–शरीरका सबै भागहरू र जोर्नी दुख्नु ।
–ज्वरो आएको ३ देखि ५ दिनपछि शरीरमा रातो बिमिराहरू आउनु ।
–जीउ गल्नु र थकान महसुस हुनु ।
–खाना नरूच्नु ।
– दिसा नहुने वा कब्जियत हुनु ।
–नाक, मुख र गिजाबाट रक्तश्राव हुनु ।
–कालो दिसा हुनु ।
–बान्तामा समेत रगत देखा पर्नु ।
–सास फेर्न गाह्रो पर्नु ।
–रक्तचाप बिस्तारै कम हुनु आदि ।

रोग पहिचान गर्ने तरिका
डेंगु रोग पक्का हो/होइन भन्ने कुरा केवल लक्षण र चिन्हहरूको आधारमा हेरेर मात्र भन्न सकिँदैन । यदि माथिका लक्षण र चिन्हहरू देखा परेमा रोगको शंकामात्र गर्न सकिन्छ । तर, रोग पहिचान गर्न रगत जाँच गर्नुपर्ने हुन्छ ।

रगतमा जम्मा सेतो रक्तकण, सेतो रक्तकणका विभिन्न प्रकारहरूको पनि विभिन्नरुपले जाँच गर्नुपर्छ र यो रोगमा मुख्य जाँच्नुपर्ने परीक्षण रगतमा प्लेटलेटको संख्या नै हो । तीबाहेक अन्य परीक्षणका विधिहरूमा कीटको माध्यमले रक्तपरीक्षण गर्न सकिन्छ, यसलाई आरडिटी परीक्षण पनि भनिन्छ । यसमा एन्टिबोडी तथा एन्टिजीनसमेत परीक्षण गरिन्छ । यो रोगको पहिचान गर्न एलिजा र भाइरस कल्चरसमेत गर्न सकिन्छ, जुन परीक्षण सुविधासम्पन्न अस्पतालमा मात्र हुन्छ ।

डेंगु रोगको उपचार
यो रोग भाइरसजन्य संक्रमण भएकोले यस रोगमा मुख्य उपचार नै हुँदैन । यो रोगमा उपचार भनेकै आराम गर्ने, झोलिलो कुरा बढी खाने, ज्वरो बढी आएमा सिटामोल खाने तर बु्रसेट, एस्पिरिन, निम्सजस्ता औषधि नखाने किनकि यस्ता औषधिले रगत जम्ने प्रक्रियामा अवरोध ल्याउँछन् र झन् बढी रक्तश्राव हुन सक्छ ।

त्यसकारण, औषधिको प्रयोग गर्दा निकै सावधानी अपनाउनुपर्छ । यस्ता बिरामीलाई सकभर अस्पतालमा भर्ना गरेर राख्नु राम्रो हुन्छ, किनकि यी बिरामीको रगतमा प्लेटलेट कमी हुनसक्ने, बेहोस भई मृत्यु हुनसक्ने भएकोले रगत चढाउनुपर्ने हुनसक्छ ।

त्यसकारण, रोगको पहिचान भैसकेपछि अस्पतालमै राख्नु उचित हुन्छ । यस रोगमा अनावश्यक अन्य औषधिहरूको खासै आवश्यक पर्दैन, किनकि यो रोगविरूद्ध शरीरले आन्तरिक प्रतिरोध क्षमता आफैँ विकास गरी रोग निको पार्ने काम गर्छ ।

अतः यस रोगमा एन्टिबायोटिकको समेत कुनै भूमिका छैन । बिरामीको उचित स्याहारसुसार गर्ने, सान्त्वना प्रदान गर्ने, लक्षणअनुरुपको औषधि गर्ने, सन्तुलित आहार खुवाउने, झोलिलो पदार्थ खुवाउने र सिकिस्तता पहिचान गरी विशेष अस्पतालमा विशेष उपचार गर्न लैजाने गरेमा बिरामी निको हुन्छ ।

डेंगु रोगको रोकथामका उपायहरू
डेंगु रोग निकै खतरनाक, भयावह, महामारीयुक्त र प्राणघातक रोग भएकोले यो रोग लाग्नै नदिन विभिन्न खालका उपायहरू अपनाउन सकिन्छ । रोग लागिसकेपछि उपचारमा ढिलाइ भएमा, रोगको सिकिस्तता भएमा, विशेष उपचार नपाएमा रोगी मर्न सक्ने भएकोले यो रोग लाग्नै नदिन यो रोगको रोकथामका उपायहरूमा विशेष ध्यान दिनुपर्छ ।

यो रोगको लागि हालसम्म कुनै खोप छैन र यसको रोकथाम नै लामखुट्टेको नियन्त्रण गर्नु र लामखुट्टेको टोकाइबाट बच्नु हो । यो रोग सार्ने लामखुट्टेले दिउँसोमा टोक्ने र सफा जमेको पानीमा फुल पार्ने भएकोले कीटनाशक औषधिको प्रयोग गरी लामखुट्टे र यसका लार्भाहरू नष्ट गर्नुपर्ने हुन्छ ।

अर्को उपाय भनेको झूलभित्र सुत्ने वा आराम गर्ने, लामो बाहुला भएको कपडा लगाउने, खाल्टाखुल्टी पुर्ने, कुलरमा रहेको पानी नियमित फेरिरहने, फुलको गमलामा भएको पानी फेरिरहने, घरवरपर सफा राख्ने, टायर, सिसा, बोतलहरूमा पानी जमेको भए हटाउने, पानी ट्याङ्कीको ढकन चेक गरी राम्रोसँग ढकन लगाउने, खुला नराख्नेजस्ता आदि उपायहरू अपनाई लामखुट्टेको वृद्धि विकास हुन नदिनु नै रोगको रोकथामका मुख्य उपायहरू हुन् । यसका लागि सामूहिक उत्तरदायित्वसमेत निर्वाह गर्नुपर्छ । छरछिमेकवरपरसमेत यस्ता कुराहरूमा बहस चलाई व्यापक सरसफाइका कार्यक्रमहरू चलाउनुपर्छ ।

अन्त्यमा, डेंगु रोग एक मानिसबाट सोझै अर्को मानिसमा सर्न सक्दैन, तर संक्रमित मानिसलाई लामखुट्टेले टोकेमा लामखुट्टे आफैँ संक्रमित हुन्छ र अरुलाई रोग सार्न सक्छ । यति कुरा बुझ्न र बुझाउन सकियो भने हाल महामारीको रुपमा फैलिइरहेको यस्तो खतरनाक रोग र कीटजन्य अन्य रोगहरूको समेत रोकथाम गर्न सकिन्छ ।

अतः आजैदेखि सक्रिय भई सचेत नागरिकको हैसियतले यो रोगको रोकथाममा जुट्नुपर्ने हुन्छ । यसका लागि सामूहिक अभियान नै सुरू गर्नुपर्ने हुन्छ, अन्यथा यो रोगले बच्चा, युवा, वयस्क, वृद्ध, धनी, गरिब कसैलाई नछाडी मृत्युको मुखमा पुर्याउने सुनिश्चित छ ।
(लेखक : मध्यविन्दु बहुमुखी क्याम्पस कावासोती, नवलपुरका प्राध्यापक हुन् ।)