बारीको छेउमा एउटा कुखुरो चरिरहेको थियो । आकाशमा उड्दै गरेको चिल त्यहीँ नजिक आएर बस्यो ।
चिललाई देखेपछि कुखुराले भन्यो– ‘तपाईँ आकाशमा धेरै माथिसम्म उड्न सक्नुहुन्छ, कस्तो मजा है !’
‘तपाईँ पनि उड्दा हुन्छ नि ! संसार देख्न पाइन्छ ।’ चिलले भन्यो ।
‘म त्यति माथि जान सक्दिनँ ।’ दुःखी हुँदै कुखुराले भन्यो ।
चिल मनमनै खुसी भयो अनि बिस्तारै भन्यो– ‘सक्नुहुन्छ, तर एउटा काम गर्नुपर्छ ।’
‘के काम ?’ कुखुरा आशावादी भयो ।
‘तपाईँको शरीरमा पुराना प्वाँख छन् । ती प्वाँख भएसम्म उड्न सकिँदैन । पुराना प्वाँख फाल्नोस् । नयाँ प्वाँख उम्रेपछि मजस्तै उड्न सक्नुहुन्छ । म सधै त्यसै गर्छु ।’ आफ्नो शरीरतिर देखाउँदै चिलले भन्यो– ‘यी मेरा सबै नयाँ प्वाँख हुन् ।’
‘साँच्ची !’ खुसी हुँदै कुखुराले भन्यो– ‘मेरा पुराना प्वाँख उखेलूँ त ?’
‘अवश्य ।’ चिलले सल्लाह दियो ।
कुखुराले आफ्नो शरीरका प्वाँख उखेल्न थाल्यो । उसले नसकेका ठाउँका प्वाँख उखेल्न चिलले सहयोग गर्यो ।
शरीरका सबै प्वाँख उखेलेपछि कुखुरो उड्न त के चल्नै नसक्ने भयो । उसले भन्यो– ‘म त झन् अपाङ्ग पो भएँ । अब कसरी उड्नु ?’
‘चिन्ता नगर्नोस्, म सहयोग गर्छु ।’ यसो भन्दै चिलले आफ्ना तीखा नङ्ग्राले कुखुरालाई च्याप्प समात्यो र त्यहाँबाट उड्यो ।
+++




