ताजा समाचार

भाद्र १४ गते २०७६

खुला पत्र : देश किन बन्न सकेन प्रधानमन्त्रीज्यू !

प्रधानमन्त्रीज्यू ! हार्दिक नमन् । सर्वप्रथम स्वास्थ्य लाभको शुभकामना । हुन त हाम्रो शुभकामनाको कुनै अर्थ छैन होला तपाईंलाई । पार्टीभित्रकै वरिष्ठ नेताको शुभकामना त लिन चाहनु भएन भने हामी जस्ता सर्वसाधारणको के अर्थ रह्यो र । तैपनि मानवीय नाताले दिएको छु । लिने न लिने तपाईंको मर्जी ।

प्रधानमन्त्रीज्यू ! तपाईं देशलाई माया गर्ने मानिस । रातदिन देशकै चिन्ता गर्नुहुन्छ । बिरामी हुँदा पनि देशको चिन्ता छाड्नुभएको छैन । रोग लागेको छ । उपचारका लागि पटक पटक विदेश धाउनुपरेको छ । तैपनि देशको चिन्ता छाड्नुभएको छैन । प्रविधिमार्फत् नै भए पनि उतैबाट मन्त्रिपरिषद्को नेतृत्व गरिरहनुभएको छ ।

यद्यपि तपाईंको यो कदम विवाद रहित भने छैन, हुन सकेको छैन । गोपनीयताको कुरो पनि आयो, व्यवस्थापिका, न्यायपालिका, नगरपालिका प्रमुखहरूले पनि त्यस्तै गर्न थाले भने के गर्ने भन्ने कुरो पनि आयो ।

मन्त्रिपरिषद्को नेतृत्व विदेशबाटै गर्ने भए कार्यबाहक दिने नाटक केका लागि ? भन्ने कुरो पनि आयो तर पंतिकार त्यतातिर जान चाहन्न । यसको उद्देश्य नै त्यो होइन । यसै पनि कसले के भने भन्ने भन्दा आफूले के भनिएको छ, के भन्नु र गर्नुपर्छ भन्ने कुराले बढी अर्थ राख्छ ।

निःसन्देह तपाईं देशको बढी चिन्ता गर्ने मानिस हो, गर्नुभएको छ । समृद्धिको कुरा पनि गर्नुभएको छ, समग्र विकासको कुरा पनि गर्नुभएको छ । भीमसेन थापादेखि हालसम्म जति पनि देशका कार्यकारी प्रमुख भएका छन् सबैले त्यसै भनेका छन् । देश बनाउने कुरा सबैले गरेका थिए, छन् तर देश भने अहिलेसम्म पनि बन्न सकेको छैन । यस कुरामा तपाईं आफै पनि भलिभाँती परिचित हुनुहुन्छ ।

हालै तपाईं जस्तै मिर्गौला रोगले पीडित एक महिलाको रुँदै तपाईंको नाममा चिठी लेखेकी थिइन्, जुन मुलुकको एक प्रतिष्ठित दैनिकमा प्रकाशित भएको थियो । चिठीमा उनले रुँदै भनेकी थिइन्, ‘प्रधानमन्त्रीज्यू ! मेरो आयु पनि तपाईंलाई जाओस् ।’ थाहा छैन चिठी तपाईंले पढ्न भ्याउनुभयो कि भएन तर आम नेपालीले भने पढेका थिए ।

चिठीमा उल्लेख भएअनुसार उनले उपचारका लागि देश विदेश चहार्दाचहार्दैै सम्पत्ति सकेकी छन् तर रोग भने अहिले पनि जस्ताको तस्तै छ । अहिले पनि उनी हप्ताको २ पटक डाइलासिस गराइरहेकी छिन्, जसका लागि विदेशै जानुपर्ने हुन्छ ।

स्वदेशमा पनि यस्तो सेवा सुरु भएको त छ तर भरपर्दो छैन । कहिले मिसिन बिग्रिरहन्छ, कहिले पालो पाइन्न । पालो कुर्दैमा महिनौँ वित्छ तर उनलाई भने हप्ताकै २ पटक डाइलोसिस नगराई हु्न्न । यस्तो अवस्थामा उनका निम्ति मर्नुको विकल्प रहेन, थिएन । त्यसैले आफ्नो आयु पनि तपाईलाई नै समर्पित गरेकी हुन् । लाग्छ देश बनेको छैन भन्ने कुराको दृष्टान्त योभन्दा बढी चाहिन्न ।

तपाईं पो देशको कार्यकारी प्रमुख हुनुहुन्छ । महिनाकै २ पटक दलबलसहित विदेशमा गएर उपाचार गराउन सक्नुहुन्छ, गराइरहनु भएको छ । सिटामोलसम्म किनेर खान नसक्ने जनताले के गर्ने भन्नुस् त । रोग भन्ने कुरो तपाईंहरू जस्ता पद र पावरम हुनेलाई मात्र लाग्छ भन्ने हुँदैन । सबैलाई लाग्छ, लाग्न सक्छ ।

मानिसले बनाएको कानुनले ठूलो र सानो भन्छ, विभेद गर्छ तर प्राकृतिक कानुनमा त्यो छुट छैन । ठूला बडाले विदेशमा गएर उपचार गराउने खर्चले मुलुकमै यथासम्भव थप सुविधा सम्पन्न अस्पताल खोल्न पाइएको भए पनि केही हुन्थ्यो तर यतातिर कसैको पनि ध्यान गएको छैन । न अरूहरूको गयो न तपाईंकै जान सक्यो ।

प्रधानमन्त्रीज्यू ! अहिलेसम्म देश किन बन्न सकेन थाहा छ ? किनकि तपाईंहरूलाई पदभन्दा ठूलो केही छैन । पदकै लागि मरिहत्ते गर्नुहुन्छ अरूलाई पनि त्यस्तै सिकाउनु हुन्छ ।

गीता भन्छ, ठूला व्यक्तिले जस्तो व्यवहार गर्छन् अरूहरूले त्यसैको सिको गर्छन्, गरिरहेका हुन्छन् । गुरु भएपछि चेलाको के दुःख । तपाईंहरू राजनीतिका सर्वोच्च शिखरमा हुनुहुन्छ । तपाईंहरूले जे गर्नुहुन्छ अरूले पनि त्यस्तै गर्ने नै भए ।

नीति भन्छ, ५० वर्ष नाघेपछि कामको जिम्मेवारी युवा पुस्तालाई दिनुपर्छ र आफू वानप्रस्थमा गई अविभावकीय भूमिकामा रहनुपर्छ । युवा पुस्तालाई अर्ती दिनुपर्छ । उपदेश दिनुपर्छ, मार्गदर्शन गर्नुपर्छ । होइन त्यसपछि पनि कार्यकारी भूमिकामै रहन चाहने हो भने त्यो पनि सकिन्छ तर त्यसभन्दा अघि सन्यास लिनुपर्छ ।

यसको अर्थ ५० कटेपछि लिने काम बन्द गरी जति सकिन्छ दिने काम गर्नुपर्छ भन्ने हो तर मुलुकको अवस्था हेर्नुस् त कस्तो छ ? नेताहरूलाई सकेसम्म पदमै रहनुपर्छ । त्यो नभए पनि पदको वरिपरि भने बस्नै पर्ने हुन्छ । सायद उनीहरू आर्यघाटमा जाने अघिल्लो दिनसम्म पनि पदमै बस्न पाए हुन्थ्यो भन्ने लागेको हुनुपर्छ ।

उनीहरू बाँचुन्जेल पदमै बस्नुपर्छ, सकेसम्म छोरी, बुहारी, छोरा, भतिजा, सम्धी, साला, साली, मामा, भान्जा, भान्जी सबैलाई तान्नुपर्छ भन्ने ठान्छन् र सकेसम्म आफूले पनि कमाउनुपर्छ उनीहरूलाई पनि कमाउन दिनुपर्छ भन्ने चाहन्छन् । यसको अर्थ यस्तो अवस्था एकाध व्यक्ति वा पार्टीमा मात्र छ भन्ने होइन । सबै पाटीमा छ । कांग्रेसमा त्यस्तै छ, कम्युनिस्टमा त्यस्तै छ । अन्य पार्टीहरूमा त्यस्तै छ । देश न बन्नुको कारण खोज्न पनि योभन्दा बढी चाहिन्छ जस्तो लाग्दैन ।

प्रधानमन्त्रीज्यू ! तपाईं २ तिहाइ जनमतको सरकार प्रमुख हुनुहुन्छ । तपाईंले चाहेमा जे पनि गर्न सक्नुहुन्छ । यसको सुरुवात पनि तपाईंबाटै हुनु राम्रो हुनेछ । सुरुवात भएपछि अरूलाई पनि त्यस्तै गर्न कर लाग्छ । जति गर्नुभयो भयो । कति गर्नुहुन्छ । दुःख पनि गर्नुभयो, कष्ट पनि झेल्नुभयो । अबको पालो युवापुस्ताको हो । देश हाँक्ने जिम्मेवारी उनीहरूकै काँधमा दिनुपर्छ र तपाईंहरूले अविभावकीय भूमिकामा रहेर मार्गदर्शन गर्नुपर्छ । एक हितैषीको नाताले लागेको कुरा भनेको हुँ आगे तपाईंकै मर्जी ।


Loading...