प्रधानमन्त्री कार्यालयले राइड सेयरिङ नियमावलीमा उल्लेखित प्रावधानको कार्यान्वयन हाललाई स्थगन गर्न गण्डकी प्रदेश सरकारलाई मंगलबार दिउँसो पत्र पठाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालयलाई लेखेको पत्रमा भनिएको छ, ‘यातायातसम्बन्धी महासंघ र संघसंगठनले आह्वान गरेको सार्वजनिक यातायात बन्दको कार्यक्रमले जनजीवन असहज भइरहेको सन्दर्भमा सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता गरी जनजीवनलाई सामान्यीकरण गर्ने वातावरण निर्माणका लागि गण्डकी प्रदेश सरकारलगायत प्रदेश सरकारहरुलाई नियमावलीमा उल्लेखित राइड सेयरिङसम्बन्धी प्रावधानको कार्यान्वयन हाललाई स्थगन गर्न मन्त्रीस्तरको निर्णयअनुसार अनुरोध भइ आएकोले उक्त निर्णय कार्यान्वयनको लागि पठाइएको छ ।’
पत्र प्राप्त भएपछि प्रदेश सरकार छलफलमा जुटेको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नियमावलीका प्रावधानबारे छलफल गर्न सकिने तर नियमावली खारेज नहुने जनाउँदै आएका छन् ।




