यातायात व्यवसायीलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले वार्तामा बोलाएको छ । राइड सेयरिङलाई वैधानिकता दिएको विरोधमा देशैभरको सार्वजनिक यातायात ठप्प पार्ने योजनासहित आन्दोलित यातायात व्यवसायीलाई मन्त्रालयले मंगलबार पत्राचार गरी वार्तामा बोलाएको हो ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीको निर्देशनअनुसार मन्त्रालयले महासंघलाई बढीमा पाँच सदस्यीय वार्ता टोली बनाएर छलफलमा आउन पत्राचार गरेको छ । यातायात मन्त्रालयका सचिव कमलकुमार अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहितका यातायात व्यवसायीलाई वार्तामा बोलाइएको हो ।
मन्त्रालयका उपसचिव प्रेम सुवेदीले बुधबार दिउँसो १ बजे यातायात व्यवसायीलाई वार्ताका लागि मन्त्रालयमा आउन आग्रह गरी पत्राचार गरिएको जानकारी दिए ।




