पर्वतीय महोत्सवमा आरोहीले सुनाए सुखदुख

पोखराको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा अहिले दुई थरी आगन्तुक छन् । नियमित संग्रहालय हेर्न आउनेहरुसँगै संग्रहालय परिसरमा जारी नवौं पर्वतीय महोत्सव हेर्नेहरु पनि उल्लेख्य छन् । मंसिर २३ गतेबाट जारी महोत्सव बिहीबारसम्म चल्नेछ ।

बुधबार महोत्सवमा चर्चित आरोहीहरुले हिमाल आरोहणका सुखदुख सुनाए । ‘समिटर्स डायलग’ नाम दिइएको प्यानल डिस्कसनमा चर्चित आरोहीहरु दावा याङजुङ शेर्पा र निमारिन्जी शेर्पाले हिमाल आरोहण गर्दा भोगेका चुनौती, आरोहणपछिको सुखानुभूति र यो क्षेत्रका चुनौतीबारे विचार राखे ।

विश्वका आठ हजार मिटर अग्ला १४ हिमाल आरोहण गर्ने पहिलो महिला दावा याङजुङले पर्वतारोहण क्षेत्रमा पनि महिलालाई अनेक चुनौती रहेको औंल्याइन् । ‘महिलालाई फरक चुनौती छन् । आर्थिक कठिनाइ पनि छन्,’ उनले भनिन्, ‘पथप्रर्दशक भएर काम गर्दा सगरमाथा चढेको छ कि छैन भनी बारम्बार सोधियो । त्यसैले गर्दा आरोहणतिर लागेँ ।’

याङजुङ नेपाल पर्वतारोहण संघकी द्वितीय उपाध्यक्षसमेत हुन् । अर्का आरोही निमारिन्जी शेर्पाले हिमाल आरोहणले आफूलाई जीवनमा जुनसुकै काम गर्न सक्छु भन्ने हिम्मत भरेको सुनाए । उनले आरोहणका क्रममा केही शारीरिक समस्या भोग्नुपरेको सुनाउँदै मानसिक रुपमा पहिल्यै तयार भएकाले आरोहण सहज बनेको प्रतिक्रिया दिए ।

दुई पर्वतारोहीसँग थ्रि सिस्टर्स एड्भेन्चर एन्ड ट्रेकिङकी संस्थापक लक्की कार्कीले संवाद गरेकी थिइन् । महोत्सवमा बिहीबार अन्नपूर्ण क्षेत्रमा जलवायु परिवर्तनका असरबारे छलफल हुँदै छ । सो छलफलमा एक्याप प्रमुख डा रविन कडरिया, नेपाल पर्वतारोहण संघ गण्डकीका निवर्तमान अध्यक्ष शेषकान्त शर्मा, टान गण्डकी निवर्तमान अध्यक्ष धर्मराज पन्थी, अनुसन्धाता रेविका गुरुङबिच छलफल हुनेछ ।

पर्वतीय महोत्सवमा २० स्थलसमेत छन् । यहाँ छेलो, अर्चरी, जिपलाइन, बोल्डरिङ जस्ता गतिविधिसमेत भइरहेको छन् । बुधबारसम्म २५ हजारले महोत्सव अवलोकन गरिसकेका छन् ।