विभेदविरुद्ध लड्दा लड्दै ‘माननीय’

तनहुँको व्यास नगरपालिका वडा नम्बर १, अम्रेनीमा ४३ वर्षअघि जन्मिएका एक बालक जन्मदा शारीरिक रुपमा तन्दुरुस्त थिए । सात महिनाको हुँदा पोलियो रोग लाग्यो । पोलियोले एउटा हर कमजोर बनाइदियो ।

अहिले देब्रो खुट्टा नै छोटो छ । दलित परिवार यसै त नेपाल समाज व्यवस्थाको पिँचमा छ, त्यसमा पनि अपाङ्गसमेत बनेपछि अनेक हन्डर, ठक्कर खाँदै जीवनअघि बढ्यो । यसरी विभेदविरुद्ध लड्ने अघि बढ्नुभएका युवा पदमबहादुर परियार बिहीबार राष्ट्रियसभा सदस्य बन्नुभएको छ ।

परियारलाई स्थानीय तहतर्फ एक सय १ र प्रदेशसभातर्फ ३५ जनाले मत दिएका छन् । अपांगता कोटामा तीन मत बदर भएको छ । अरु क्लस्टरमा जस्तो उहाँको क्लस्टरमा मत क्रस भएको छैन । उहाँले अपाङ्गता तथा अल्पसङ्ख्यक क्लस्टरमा नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभएका परियार तीन हजार सात सय ७४ मतभार पाएर विजयी बन्नुभएको हो । निकटतम् प्रतिद्वन्द्वी एमालेका हेमन्द्र शेरचनले दुई हजार चार सय ५८ मत पाउनुभएको थियो ।

सानैदेखि विभेदको दुष्चक्र भोग्न बाध्य परियार अहिले अपाङ्गता अधिकारीकर्मी हुनुहुन्छ । रिसेड तनहुँ नामको संस्था स्थापना गरी लामो समयदेखि उहाँ त्यसको अध्यक्ष हुनुहुन्छ । नेपाली कांग्रेसको दलित सङ्घ र रिसेडमार्फत् उहाँले अपाड्गताको अधिकारका लागि लामो समयदेखि काम गर्दै आउनुभएको छ ।

घरगाउँमै चिया खाँदादेखि आफ्नै मावली र ससुरालीबाट समेत विभेद भोग्नुभएको उहाँको अनुभव छ । “ममी माइत जान पनि पाउनु भएन । म ससुराली,’ परियारले भन्नुहुन्छ । परियारले समाजले मान्ने उपल्लो थरकी महिलासँग विवाह गर्नुभएको छ । त्यसो त उहाँका बुवा कृष्णबहादुरले पनि फरक जातिमै विहे गर्नुभएको थियो । आमा विष्णुमाया गौलीले उहाँलाई अथाह स्नेहका साथ हुर्काउनुभयो तर मावली जाने उहाँको रहर लामो समय रहरै रह्यो ।

अझै पनि मावाली र ससुरालीसँग राम्रो सम्बन्ध नभएको उहाँ सुनाउँछन् । “विवाह गरेको ८÷१० वर्ष त ससुराली पनि गइनँ । अहिले अली राम्रो छ । बुबाले आमा विवाह गरेपछि ससुराली नै जानुभएन । अहिले हामी ठूलो भएपछि कहिलेकाहीँ काम पर्दामात्र जान्छौं,” उहाँ भन्नुहुन्छ ।

परियार १३ वर्षको उमेरदेखि नै राजनीतिमा संलग्न हुनभएको हो । उहाँ विद्यार्थी जीवन ०५१ देखि नै नेविसंघ र नेपाली कांग्रेसमा आवद्ध हुनुभएको हो । पटक पटक कांग्रेसको महाधिवेशन प्रतिनिधि बन्नुभएका परियारको आम निर्वाचनपर्फको उम्मेदवारी भने पहिलो हो । पहिलो निर्वाचनबाटै उहाँ राष्ट्रियसभा सदस्य बन्नुभएको छ । पार्टीसँगसँगै सामाजिक क्षेत्रमा पनि उहाँ सक्रिय हुनुहुन्छ ।

१४ वर्षमा युवा रेडक्रस सर्कस आदिकवि भानुभक्त क्याम्पसका अध्यक्ष हुँदै ०७६ मा रिसेडको अध्यक्ष हुनुभएका उहाँ कांग्रेसको दलित संगठनको केन्द्रीय सदस्यसमेत बन्नुभएको थियो । उहाँ अपाङ्गताकै क्षेत्रमा कार्य गर्ने संस्थाहरुको साझा राष्ट्रिय संस्था सिबिआर राष्ट्रिय नेटवर्क नेपालको अध्यक्षसमेत बनिसक्नुभएको छ ।

सांसद परियार दलित तथा अपाङ्गता भएका व्यक्तिहरुको प्रतिनिधित्व गर्दै राष्ट्रिय सभामा आफ्नो आवाज बुलन्द पार्ने प्रतिवद्धता गर्नुहुन्छ । ग्रामीण विकास विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गर्नुभएका उहाँ राष्ट्रिय सभामा पुगेपछि आफूले प्रतिनिधित्व गर्ने समुदायप्रतिको विभेद अन्त्य गर्न नीतिगत रुपमा भूमिका निर्वाह गर्ने बताउनुहुन्छ ।

“म जुन समुदायबाट प्रतिनिधित्व गर्दै छु । प्रमुख रुपमा राष्ट्रिय सभाले बनाउने कानुन, ऐनहरुमा त्यो समुदायसँगै अल्पसंख्यक समुदायको आवाज बुलन्द पार्नु पहिलो मुद्दा हुन्छ,” उहाँ भन्नुहुन्छ, “बोटे, दरै, कुमाल, कुसुन्डाहरुको आवाज त्यहाँ सुनाउनेछु । जनजीविकाका र महत्वपूर्ण चासोका क्षेत्रमा एजेन्डा पनि उठाउनेछु ।”

परियार आफूलाई सङ्घीयताको अभियन्ता ठान्नुहुन्छ । चुनावी अभियानमा जाँदा पालिका र प्रदेशसभा सदस्यहरुले सङ्घले अधिकार नदिएको, काम गर्न कठिन भएको बारम्बार उहाँले सुन्नुभयो । प्रदेश र स्थानीय तहलाई अधिकार र स्रोत सम्पन्न बनाउन ऐन चाँडै बन्नुपर्ने उहाँको निक्र्याेल छ । उहाँ भन्नुहुन्छ, “समावेशी ऐन, कानुन बनाउन योगदान गर्छु । सुन्दर र विविधतायुक्त देश छ । पहिचानका हिसाबले पनि विविधता छ, सदियौँदेखि ती विविधताले नीति निर्माणमा ठाउँ नपाएको अवस्था छ ।”

अल्पसङ्ख्यक र अपाङ्गताको क्षेत्रमा पनि योजनावद्ध काम गर्ने वातावरण बनाउन योगदान गर्ने उहाँको वाचा छ । पालिका, प्रदेशदेखि वडासम्मले आफूलाई चाहिएका बेला मन लागेका योजना चलाउने गरेको अनुभव सुनाउँदै उहाँ भन्नुहुन्छ, “यसरी खुद्रा रुपमा काम गर्दा राष्ट्रिय लक्ष्य प्राप्त हुँदैन । तह र पालिकाले योजनावद्ध रुपले अपाङ्गत क्षेत्रका काम हुन जरुरी छ ।”