कविताः आमा

यदि कसैले सोध्यो भने,
तिमी कुन देवी– देउता रोज्छौ ?
या सोध्यो भने
देउता रोज्छौ कि आमा ?
म निसंकोच भन्ने छुः
म आमा रोज्छु ।

कति दुख गरेर हुर्काएकी हुन्
मेरी आमाले मलाई
मलाईमात्र नभएर
भाइबहिनीहरुलाई
मेरा छोराहरुलाई ।

कहिल्यै भनिनन् आमाले
पैसा माग्दा साथमा छैन भनेर
भात माग्दा कसौडीमा छैन भनेर
दुःख गरेर पनि दुखाई भनिनन्
कष्ट सहेर पनि कथा बुनिनन्
गाउँका कसैसँग
घरको आङको छारो उडाइनन्

बुवा राजनीति गर्थे
सेवा गर्न जान्थे
मेवा खान जान्दैनथे
अर्थात् न त औला बाङ्गो गर्थे
न त अरुले जसरी हात चाट्थे ।

कहिले घर आउथे,
कहिले घर आउँदैनथे
उल्टो बाटो खर्च
र, जुत्ता सिलाई खर्च
आमासँग माग्थे
आमाले मेलापात गरेको पैसा
विना सर्त दिनुहुन्थ्यो
यदि ऋण एकमुष्ट भएमा
जग्गा बेचेर तिर्थे
तर पनि आजका दिनमा
बुवाप्रति केही गुनासो छैन उहाँको ।

गुनासो त आमाको
भागभोग र भोगाईमा छ
घर व्यवहार टार्न गाह्रो भएपछि
आमाले एउटा जुक्ति निकालिन्–
तरकारी लाउन थालिन
फुलाइन्, फलाइन
र डोकोमा राखेर बजार बजार बेचिन
अहिले आमा ७२ वर्ष कि भइन
तर पनि तरकारी बेच्दै छिन् ।

यद्यपि म साहित्यकार भई टोपल्लिएको
आज पनि
अरु दिन जसरी कविता फुर्छ
लेख्न थाल्छु
आमा बाउँसो हातमा लिएर भन्छिन्,
‘पैसा त माटोमा फल्छ बाबु !
बोटमा फल्दैन, हिड बारीमा खन्न ।’
म आलटाल गर्छु
मैले अल्छी मानेको
आमाले बुुझिहाल्छिन्
भन्छिन्,
‘भो न जा त नि
अलिकति खन्न छ
तलाई के दुःख दिनू’

म बसीबसी सोच्छु
घर, व्यवहारमात्र टारेकी छैनन्
मेरी आमाले
यो घरको माया, ममता पनि सिँगारेकीछन्
आकाशले धर्ति ढाके जसरी
कुखुराका पखेटाले चल्ला ढाके जसरी
घप्लक्क हाम्लाई र घरलाई ढाकेकी छन् ।

कहि कतै जाँदा, ‘आमा ! म गए’ भन्छु,
भन्न पाएको छु
कतैबाट आउँदा, आमाले नै भन्छिन्,
‘किन ढिलो आइस् त नि’
यसरी आमामाथि म र मेरो मन
एक हाते भएको छ ।
त्यसरी नै आमा एकै छिन कतै जाँदा आत्तिन्छु म
यहीनेर लाग्छ, यदि यो आँखाबाट
मेरी आमा सधैको लागि टाढिइन् भने,
म क्यारी सहँुला
म क्यारी चित्त बुझाउँला
या रुँदारुँदा आँसुमा बिलाउँला ।