अहिले मजदूरदेखि उच्च तहसम्म एउटा साझा प्रवृत्ति छः निराशा र आक्रोश । संसारकै उन्नत मानिएको राजनीति व्यवस्था, विश्वको ज्ञान, विज्ञानसँग प्रत्यक्ष पहुँच र गाउँ गाउँमै सरकार पुगे पनि सर्वसाधारणको दैनिकी सरल र सहज हुन सकेको छैन ।
यस्तै, यस्तै सामाजिक, आर्थिक र राजनीतिक समस्याको माक्र्सवादी दृष्टिकोणबाट समाधानको प्रस्ताव गरिएको पुस्तक ‘विकल्प’माथि शनिबार पोखरामा बहस भएको छ । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सचिव राम कार्की ‘पार्थ’को लेखहरुको सङ्ग्रह यसमा समतामूलक समाज निर्माण, समाजवादको बाटो अङ्गीकार गर्न चाहिने पक्षहरुमाथि बहस हुनुपर्नेमा जोड दिएको छ ।
लेखक कार्कीले अब कस्तो जीवन बाच्ने, कस्तो समाज बनाउने भन्नेबारे घनिभूत छलफल हुनपर्ने विचार राख्नुभयो । उहाँले समकालीन समयलाई ऐतिहासिक सन्दर्भमा यथार्थ विश्लेषण गर्न सिकाउने सबैभन्दा उन्नत विज्ञान नै माक्र्सवाद भएको चर्चा गर्दै उहाँले माक्र्सवाद जड शास्त्र नभएको तर्क गर्नुभयो । “हामी बदलिनैपर्छ, फेरिनैपर्छ । काँचुली नफेर्ने हो भने सर्पहरु दौडिन सक्दैनन्, पार्टी र समाज पनि त्यस्तै हो । नबद्लिने हो भने अस्तित्व सङ्कटमा पर्छ,” उहाँले भन्नुभयो ।
विश्लेषक एवम् नेता आहुतिले “कम्युनिस्ट स्कुल” खोल्न प्रस्ताव गर्नुभयो । कार्यक्रममा उहाँले पार्टीलाई कम्युनिस्ट दर्शन अनुरुप सञ्चालन गर्न र समाजवादका लागि निरन्तर खबरदारी गरिरहने लेखक कार्कीको पुस्तकमा कम्युनिष्ट आन्दोलनका आरोह, अवरोह र अबको मार्गबारे गहन बहस गर्न प्रस्ताव गरिएको उल्लेख गर्नुभयो ।
अर्का वाम विश्लेषक झलक सुवेदीले विचार र व्यवहारको भेटघाट र समन्वय नै नहुने कार्यप्रणाली नबदले पुराना दलहरुको अस्तित्व सङ्कटमा पर्ने उल्लेख गर्नुभयो । उहाँले ‘विकल्प’ मा अहिले देखिएको चरम निराशाको चित्रण गरी बहसबाटै नयाँ बाटो खोज्न सुझाइएको उल्लेख गर्नुभयो ।
बुक हिलले प्रकाशन गरेको पुस्तकमाथिको बहस दीपशिखा साहित्य सङ्गम पोखराले आयोजना गरेको हो । कार्यक्रममा सङ्गमका अध्यक्ष रामजीप्रसाद आचार्य र बुकहिलका सञ्चालक भूपेन्द्र खड्काले पनि बोल्नुभएको थियो ।




