प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका र चीनको भ्रमण सकेर स्वदेश फिर्ता हुनुभएको छ । प्रधानमन्त्री प्रचण्ड चीनको छन्तुबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण हुनुभएको हो ।
उहाँलाई सिचुवान प्रान्तका उप गभर्नर याङ जिङपिङ, नेपालका लागि चिनियाँ राजदूत, बेइजिङ र सिचुवानका विदेश मामिला कार्यालयका उच्चपदस्थ अधिकारीहरूले छन्तु विमानस्थलबाट बिदाइ गर्नुभएको थियो ।
प्रधानमन्त्री प्रचण्ड अमेरिका पछि आठ दिनको चीनको औपचारिक भ्रमण सकेर आज (शनिबार) स्वदेश फर्कनु भएको हो । संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ ३० गते अमेरिका प्रस्थान गर्नुभएको थियो ।
संयुक्त राष्ट्रसङ्घको न्युयोर्कस्थित मुख्यालयमा चलेको महासभाको आम बहस, जलवायु सम्मेलनलगायत विविध सत्रमा नेपाल सरकारका तर्फबाट उहाँले सम्बोधन गर्नुभयो । न्युयोर्कमा रहँदा उहाँले अमेरिकाका राष्ट्रपति जो बाइडेनसँग विशेष भेटवार्ता गर्नुभएको थियो। साथै अन्य मुलुकका समकक्षीसँग पनि द्विपक्षीय भेटवार्ता गर्नुभयो ।
प्रधानमन्त्री प्रचण्ड अमेरिकाबाट सिधैँ छिमेकी मुलुक चीनको औपचारिक भ्रमणका लागि असोज ५ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । चीनमा रहँदा उहाँले चीनका राष्ट्रपति सी चिनफिङसँग उच्चस्तरीय द्विपक्षीय भेटवार्ता गर्नुभयो । सो क्रममा उहाँले चीनमा भएको एसियाली खेलकुदलगायत विविध समारोहमा सहभागिता जनाउनुभएको थियो ।
त्यस्तै, प्रधानमन्त्री प्रचण्डले चीनका प्रधानमन्त्री ली छ्याङसँग राजधानी बेइजिङमा नेपाली प्रतिनिधिमण्डलसहित उच्चस्तरीय वार्ता गर्नुभयो । सो क्रममा दुई देशबीच १३ वटा समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।




