संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपालको पर्यटन विकासका लागि संस्कृति र प्रकृतिको संयोजन गर्नुहुँदै नयाँ कदम चाल्नुपर्ने बताएका छन् ।
मन्त्री किरातीले फेवातालमा क्रुज डिनर चलाउनुपर्नेमा जोड दिए । उनी भन्छन् । “यो आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र बन्छ । विदेशमा त पहिल्यै यस्तो भएकै छ ।” साँझ ७ देखि ९ बजेसम्म यस्तो पार्टी गर्न सकिने उनको भनाइ छ ।
शनिबार पोखरामा पत्रकारमाझ उनले भने, “नेपाल अथाह ज्ञान भएको भूमि हो, यसमा विज्ञान मिसाउन जरुरी छ । ज्ञान विमानस्थल हो भने विज्ञान जहाज हो । दुवै नमिली प्रगति सम्भव छैन ।”
विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले शनिबार आयोजना गरेको कार्यक्रममा मन्त्री किरातीले स्वामी कमलनयनाचार्यलाई हेमदेवी धर्म, संस्कृति तथा समाजसेवा पुरस्कार प्रदान गरे । पुरस्कार राशि नगद एक लाख एक हजार र सम्मानपत्र छ ।
कवि तीर्थ श्रेष्ठले स्वामी कमलनयनाचार्यले धार्मिक जागरण र विकास, निर्माणमा गरेको योगदानको सम्मान गर्दै पुरस्कृत गरिएको बताए । स्वामी कमलनयनाचार्यले तीर्थाटनका लागि भारत नै जानुपर्छ भन्ने मान्यता बदल्न धार्मिक जागरणसँगै धार्मिक, आध्यात्मिक क्षेत्रहरूको विकास गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा मन्त्री किरातीले विन्ध्यवासिनीमा नमुना खालका काम देखिएको सुनाए । मन्त्री किरातीले भने, “यहाँ नमुना काम भएको देखिन्छ । अन्यत्र शिवस्व खाने होजबाजी चलेको छ । यहाँ नमुना काम भएको देखियो ।”
उनले साना तीन नयाँ जहाज किन्ने योजना सुनाउनुभयो । नेपालका २० विमानस्थल अहिले प्रयोगविहीन छन् । अहिले वायु सेवा निगमसँग रहेका तीन र नयाँ किनिएका तीन गरी छ साना विमान भए देशका सबैजसो विमानस्थल सञ्चलनमा ल्याउन सकिने उनको भनाइ छ ।
“ती विमानस्थल चलाएर निगमले नाफा त कमाउन सक्दैन । जनतालाई सेवा दिने दायित्व निर्वाह हुन्छ,” उनले भने । थप न्यारो बडी जहाज किनेर विदेश उडान गरी निगमलाई नाफामा लैजानुपर्नेमा उनको जोड छ ।
डेढरडेढ अर्ब जनसङ्ख्या रहेका दुई छिमेकी देशबाट नेपालले फाइदा लिनसक्नुपर्नेमा उनको जोड छ ।
पोखराको पुराना विमानस्थल अहिले पनि उपयोगमै रहेको जनाउँदै नले कसैलाई यसको स्वामित्व दिइयो वा दिन लागियो भन्ने चर्चामा सत्य नभएको प्रकाश पार्नुभयो ।




